रसुवाली कवि
नेपाली गद्य कविताको इतिहास लामो छ । नेपाली प्रगतिशील कविता र नेपाली गद्य कविताको इतिहाससँगसँगै सुरुवात भयो । प्रगतिशील कवि गोपालप्रसाद रिमालको सक्रियतामा नेपाली गद्य कविताको सुव्यवस्थित युगको सुरुवात भयो । उनको कविता संग्रह ‘आमाको सपना’ गद्य कविताको मानक कृति बन्यो । त्यही आसपास कवि भुपी शेरचनले गद्य कविताको आयाम फराकिलो पारे ।
नेपाली भूमिमा चलेको जनयुद्धकालमा पनि थुप्रै कविताहरु लेखिए । पूर्ण बिरामदेखि कृष्ण सेन इच्छुकसम्मले जनयुद्धको गरिमालाई काव्यात्मकरूपमा व्यक्त गरे । राजनीतिककर्मी तथा साहित्यकार दीनानाथ शर्मा नेपाली प्रगतिशील कविताको क्षेत्रमा तरङ्ग कविता संग्रहसहित उपस्थित छन् । तरङ्ग कविता संग्रहमा नेपाली समाज, प्रकृति, राजनीति, जनजीवन र आम मानिसका अन्तर मनको सुस्केरा छ । कवि दीनानाथको शैलीमा नविनता छ । विषयवस्तुलाई टपक्क टिपेर पाठकको मन छुने गरी लेखिएका कविताहरुमा मौलिकता झल्कन्छ । निजात्मक भोगाइलाई पनि उनले सहज र सरल ढंगले पस्केका छन् ।
कति राम्रो गुलाब फुल्यो नन्दी बगैंचामा
तिम्रो माया गडेको छ मेरो कलेजीमा
कहिले पनि चुड्ने छैन सुन्दर गुलावलाई
हृदयमा राखिछाडे मेरो सम्झनालाई
– गुलाबप्रती ( पेज १०)
उनले यो कविता २०२३ सालमै लेखेका रहेछन् । सिर्जना पत्रिकामा प्रकाशित पनि भएको रहेछ । जनयुद्धकालमा लेखिएका उनका कविताहरु तत्कालीन सत्ताले कब्जा गरेपछि उनी एक्लै बसेर रोएछन् । कविताप्रतिको उनको यो असाध्यै ठूलो निष्ठा होे । राजनीतिमा सधैँ एकनास हुँदैन । सत्तालाई मन नपर्ने विचारहरुप्रति लगाम लगाइन्छ । दीनानाथका कविताहरु पनि जनयुद्धकालमा खरानी बनाइए । उनका धेरै कविता जनयुद्धपछि लेखिए । तरङ्ग कविता संग्रहमा साठीको दसक उकुसमुकुसलाई काव्यिक ढंगले उठाइएको छ ।
मैले जुवा हार्न सक्छु
मैले चुनाव हार्न सक्छु
घोडा चढ्ने आँट गर्दा
कहिलेकाहीँ लड्न सक्छु
सत्य र न्यायको लडाईंमा पनि
कहिलेकाहीं हार्न सक्छु
मैले के गर्न सक्दिन (पेज १३८)
साठीको दशक रोचक रह्यो । नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्ध देशभरि फैलियो । सत्तरीको दशकमा शान्ति सम्झौतामार्फत माओवादीहरु खुल्ला मोर्चामा आए । युगौं लामो राजतन्त्रको अन्त्य भयो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । नेपाली साहित्यमा जनयुद्ध र जनयुद्धपछिको सन्दर्भमा हजारौंले कलम चलाएका छन् । कतिपयले त परिवर्तनको आन्दोलनप्रति अतिवादी कोणबाट पनि लेखेका छन् । कतिपयले वर्ग संघर्षकै उत्कर्सको रुपमा जनयुद्धलाई साहित्यमा व्यक्त गरेका छन् । दीनानाथका कवितामा जनयुद्धप्रति असाध्यै प्रेम र जनताको उत्सर्गप्रति सम्मान छ ।
म सपनामा हराउन सक्दिन
विपनामा देखिन सक्छु
म इतिहासमा हराउन सक्दिन
वर्तमानमा भेटिन सक्छु
म भविष्यलाई साँच्न सक्दिन
वर्तमानमा नाँच्न सक्छु
वर्तमान इतिहास रच्नका लागि (पेज १००)
दीनानाथ शर्माका कविताहरु अनेकौं विषयमा छन् । उनी स्वच्छन्द ढंगले पनि पोखिएका छन् । उनको लेखनमा सचेत क्रान्तिकारिता पनि छ । देखेका, भोगेका, जानेका र आफूलाई छोएका विषयहरुमा उनले निर्धक्क अक्षरहरुमार्फत भावना कुँदेका छन् । नेपाली माटोदेखि काठमाडौंको सभ्यतासम्मलाई लेखेका छन् । आदर्श परिवारदेखि र अलपत्र यात्रीसम्मको पीडालाई छाम्ने प्रयास गरेका छन् । कवितालाई कविता बनाउने उनको आफ्नै तरिका छ ।
भनिन्छ हरेक कुरालाई कवितामा ढाल्न सकिन्छ । त्यसको निम्ति लेख्ने कला र शैली हुनुपर्छ । दीनानाथले आफ्ना कविताहरुमा निजात्मक शैली र सम्प्रेषणीय कलाप्रति ध्यान दिएका छन् ।
आस्था र अस्तित्वको मन्दिरहरुमा
गजुरहरु गल्यार्म गुर्लुम ढलिसक्दा पनि
घृणा र तिरस्कारको संसारमा
गाहाकी खोज्दैछ अझैँ
देश बिक्रिको विज्ञापन गरेर
पशुपतिको साढेँ
गल्ली र चोक चहार्दै
दिनगन्ती गर्दैछ अस्तित्वको
(भग्नावशेष पेज १२१)
कविता यस्तै हुनुपर्छ भन्ने परिभाषा हुँदैन । कविता परिभाषाभित्र बाँधिएपछि कविता सीमाहिन हुँदैन । कविता बाँधिदैन । कविताको फैलावट व्यापक हुन्छ ।
दीनानाथका कवितामा आजको युगको मार्मिकता छ । प्रकृतिप्रेम छ । प्रगतिशिलता छ । मानवताको अजर स्वर छ । मान्छेको मनले देख्ने संसार छ । आँखाले नदेख्ने गहिराई छ । शोषणमा परेका वर्गको पक्षधरता भेटिन्छ तरङ्ग कविता संग्रहमा । ती मान्छेको स्वर पनि भेटिन्छ । कतै कतै अलिअलि अशुद्धता पनि देखिन्छ । भाषालाई सुधार गर्दै लैजान सकिन्छ । मुख्य कुरा कवितामार्फत पाठकले महशुस गरेर ज्ञानतत्व र सन्देश नै हो । जुन ज्ञानतत्व र सन्देश सवाल छ । दीनानाथ सचेत छन् । आजको साहित्यले फगत कलाको भारी बोकेर मात्र पुग्दैन । सामाजिक उत्तरदायित्व र पक्षधरता बोक्नुपर्छ । यति भन्न सकिन्छ दीनानाथ शर्माको काव्यिक व्यक्तित्व बुझ्न तरङ्ग कविता संग्रह पढन जरुरी छ । उनी विचार र कलामा सजक छन् । उनका कविता सरल र सहज छन् ।
कृति – तरङ्ग (कविता संग्रह)
कवि – दीनानाथ शर्मा
प्रकाशक – शमी सम प्रकाशन गृह
पृष्ठसंख्या – १७८
मुल्य – १९९
संस्करण – पहिलो चैत २०७०
मध्यान्नडेल्ली डट कममा रसुवाली कविले प्रकाशन गरेको यो समीक्षा हामीले साभार गरेका छौं
Comment Here