मेरो जन्म बागलुङ नगरपालिका वडा नं. १२, अमलाचौर गहतेरा भन्ने गाउँमा विक्रम सम्बत् २००३ साल साउन ४ गते शुक्रबार (१९जलाई १९४६) का दिन एक गरीब किसान परिवारमा भएको हो । जन्मकुण्डलीमा यही लेखिएको छ । तर स्कुल पढ्दा गुरुले मेरो जन्ममिति तीन बर्ष घटाएर लेखाइदिनु भएकोले शैक्षिक प्रमाणपत्र र नागरिकतामा भने २००६ साल साउन ४ गते हुनगएको छ ।
आमा यशोदा पाध्या र बाबु शशिधर पाध्याको म पहिलो सन्तान हुँ । दुई वर्षको हुँदा ममुनि भाइ जन्मेको थियो रे, तर सानैमा खसेछ । भाइलाई सम्झेर आमा पछिसम्म रुनुहुन्थ्यो । आमाको त्यो वात्सल्य प्रेम र पीडाले छियाछिया पारेको मनमा मलहम लगाउन मैले कहिल्यै सकिन । ममुनि जन्मेका तीन बहिनीहरू क्रमशः टेकनदेवी, राधिका र मनरूपा दुःखसुख आफ्नो पारिवारिक जीवन बिताइरहेका छन् ।
परम्परागत खरको छानो भएको होचो घुमाउने (बाटुले) घरको अँध्यारो कुनामा म जन्मेको हुँ । त्यो घर हजुरबाले बि.सं. १९५५ तिर बनाएको भन्नुहुन्थ्यो । पूर्वपट्टी एक सानो आँखीझ्याल र होचो ढोका छ । आँखीझ्याल नजिकै उत्तर दक्षिण फर्केको ओछ्यान छ । सुत्केरी हुने बुहारीलाई ठुलो ओछ्यान छोडिदिने गाउँघरको चलन चल्ती अनुसार म पनि ठूलो ओछ्यानको उत्तर कुनामा जन्मेको कुरा आमाले भन्नुहुन्थ्यो ।
किसानको घरमा साँझबिहान प्रयोग हुने उत्पादनका साधन, आँसी, बाउसो बञ्चरो, फाली, करुवा, नाम्लो आदि राख्ने ओब्रो र ठाउँठाउँमा खोपाहरूको व्यवस्था त्यस्ता घरको विशेषता नै हो । घरभित्र चुलो, चौको, अँगेनो, मोही पार्ने (दही मथ्ने), ठेकाभाँडा राख्ने निश्चित ठाउँको तारतम्य मिलाइएको हुन्छ । त्यति सानो घरमा नौ दश जनाको संयुक्त परिवार कसरी अटे होला अहिले आश्चर्य लाग्छ । त्यसमा पनि सिकुवामा ढिकी र ढोकाको छेवैमा कोदो पिस्ने जाँतो गाड्ने रोस सबैतिर थियो ।
म जन्मेको घर अहिले छैन । बाहरू छुट्टिएर भिन्नहुँदा त्यो घर कान्छाबाको अंशमा परेको थियो । भाइहरूले भत्काएर आजभोलि त्यहाँ नयाँघर बनेको छ । म घर जाँदा जन्मेको ठाउँमा बसौं बसौं हुन्छ । छोराछोरी र साथीभाइलाई म जन्मेको यही ठाउँ थियो रे भन्दै देखाउँछु । मलाई जन्मदिँदा आमा यो कुनामा प्रशव पीडाले कति छटपटाउनु भएहोला ! मलाई गर्भबाट ओरालेर यस धर्तीमा लालनपालन गर्ने, पढालेखा बनाउने जननी र जन्मभूमिप्रति म सधैं ऋणी छु । मैले जति गरेपनि आमाको दूधको भारा चुकाउन सक्ने छैन ।
हाम्रो वंशावली जजुपतिमा गएर टंगिएको छ । जजुपति भन्दा पहिले को थिए भन्ने कुरा थाहा छैन । म जान्नेसुन्ने भएपछि वंशावलीबारे हजुबालाई सोधेको थिएँ । उहाँले पनि जजुपति भन्दा बढी भन्न सक्नुभएन । तर पनि पितृलाई सम्झने बेला गोपाल बाजे त्रिपाल भट्टको नाम हजुरबाले लिनुहुन्थ्यो । गोपालबाजे र त्रिपाल भट्टको खोजी गर्न सके वंशावली थाहा हुनक्थ्यो । मेरो हजुबाको बाजेको नाम जजुपति र बाबुको नाम बैकुण्ठ थियो भन्ने कुरा पुराना लिखतबाट थाहा हुनसक्छ । म जान्नेसुन्ने भए पछि हजुरबाका नामका दुई चारवटा बन्धकी तमसुकमा जजुपतिका नाती बैकुण्ठका छोरा बर्ष यतिका नरिश्वर पाध्या भनेर म आफैले लेखेको थिएँ । अमलाचौर गविसमा पौडेल बन्धुहरूको उपस्थिति राम्रै छ । तर हाम्रा नजिकका दाजुभाइ को को हुन् भन्ने कुरा ठ्याक्कै यकिन छैन । वार्ड नं ६ मा भुर्तियँ थर छ । गुल्मीको भुर्तुङबाट आएर बसोवास गरेको हुनाले भुर्तियँ भनिएको हो भनिन्छ । हजुरबा र भुर्तियँहरू समेतले हामी नजिकका दाजुभाइ हौं भन्दै र मान्दै आएका छन् तर यो सम्बन्ध कति पुस्ता नजिकको हो भन्ने एकिन छैन । एकपटक गुल्मीको भुर्तङ गएर वंशावलीबारे सोधखोज गर्ने विचारलाई मैले अहिलेसम्म पुरा गर्न सकेको छैन ।
जजुपतिका कति भाई थिए थाहा भएन तर बैकेण्ठका दुईभाई छोरामध्य जेठाको नाम नरिश्वर थियो । म नरिश्वरको नाती हुँ । बैकुण्ठका कान्छा छोरा अर्थात् हजुरबाका कान्छाभाई विवाह गरेपछि बेपत्ता हुनुभयो, अहिलेसम्म पत्तो छैन । कान्छी हजुरआमा आजीवन उहाँकै आशमा सतित्व धानेर बस्नुभयो । त्यसैले पिठ्युँपछि कतिपयले कान्छी हजुरआमालाई आशा भन्ने गर्थे । नरिश्वरका दुई श्रीमतीतिर एकएक छोरा भए । जेठी तिरका छोराको नाम शशिधर पाध्या र कान्छी तिरका छोराको नाम तिलप्रसाद पाध्या हो । कान्छी हजसरआमा चाँडै बितेकोले कान्छाबाको लालनपालन मेरो हजुरआमाले गर्नुभयो ।
म जान्ने भएपछि एकदिन हजुरबाले रिठावोटको डाँडाबाट देखाउदै भन्नुभयो “उ त्यो खेतबारी खरबारी हाम्रो थियो । बा चाँडै बित्नुभयो । भाइ सानै थियो । दिदीको बिहे भएर गैसक्नुभएको थियो । मेरो उमेर पनि कलिलै थियो । साहुको ऋण थाप्लोमा थियो । एक दिन साँझपख लप्टनले लिन पठाएको भन्दै कटुवाल डाक्न आयो, म गएँ । फापरबारी भन्ने पाखोबारी र झाँक्रिस्थानको खेतसमेत करिव १५, २० रोपनी जग्गाको राजीनामाको कागजमा सही लगाउन भने, तर मैले मानिन । त्यसपछि लप्टनका खलकले मलाई एउटा कोठामा लगेर थुने । रातभर भोकभोकै रोएर बिताए । बिहान फेरि मुखिया र लप्टन समेतले हप्कीदप्की गरेर पिटे । सहन सकिन, मलाई जबरजस्ती अँठाएर पछि हात फर्काइ कागज गराए र त्यो जग्गा लुटे ।“ त्यो बुढेसकालमा आँखा टलपल पार्दै हजुरबाले आफ्नो लुटिएको खेतबारी देखाएको मलाई आजै होकि जस्तो लाग्छ । हजुबा गाँउको टाँठोबाठो सुकिलो लुगा लगाएको देख्दा भित्र लुक्नुहुन्थ्यो भन्ने पोल हजुर आमाले धेरै पछि मात्र खोल्नु भएकोथियो । हामी गाँउका सामन्त, फटाहा, मुखिया जिम्मुवालबाट ठगिएका थियौं । त्यसैले होला बा जान्ने सुन्ने भएपछि स्थानीय फटाहाको विरोधी बनेर निस्कनु भयो । त्यही पारिवारिक पृष्डभूमिले मलाई झन जोदाहा बनायो । मेरो आँखा अगाडि हाम्रो लुटिएको जग्गा अहिले पनि नाचिरहेको छ । हामीले त्यसलाई फिर्ता गर्न नसके पनि हामी जस्तै पीडित परिवारको मुक्तिका लागि जीवनोत्सर्ग गर्न तयार हुने प्रेरणा दिने मेरो हजुरबा र परिवारप्रति संधै आभारी छु ।
हजुरबाको पहिलो नाती भएर होला मलाई सबैले माया गर्दथे । मेरो मामा हजुरबा गाँउको पढेलेखेको पुरेत हुनुहुन्थ्यो । आमा निरक्षर भए पनि सुनेकै भरमा तरह तरहका कथा सुनाउनु हुन्थ्यो । भोटेको सवाइ, नीतिश्लोक र तोत्रहरू कण्ठाग्र थिए । बा सामान्य लेखपढ गर्न सक्ने हुनुहुन्थ्यो । देवीभागवत र रामायण भाका फिराएर पढ्नुहुन्थ्यो ।
शिक्षा
म चार पाँच वर्षको हुँदा आमाले एकमाना चामल र पाँच आना दिएर कर्मीलाई काठको पाटी बनाईदिन भन्नुभयो । वसन्त पञ्चमीका दिन मलाई आमाले अक्षराम्भका लागि फुपूको घर लैजादै हुनुहुन्थ्यो । त्यतिबेला फुपूको घरमा जान्न भनेर म निक्कै रोएको थिएँ । आमाले
कतै पिट्दै कतै फकाउदै फुपूको घरसम्म पु-याउनु भयो । फुपूको घरमा एकजना वेदान्ती वैष्णव गुल्मीको जुहाङ्बाट आएर बसेका थिए । उनले वैष्णव धर्म प्रचारका साथै केटाकेटी पनि पढाईदिन्थे । मेरो अक्षरारम्भ गराउने गुरु उनै हुन् ।
वेदान्ती गुरुले मलाई ठूलो वर्णमाला र पाटीमा फुलपाती र अक्षताले पूजा गर्न लगाए । त्यसपछि वर्णमाला खोलेर गरुले पुस्तकमा देखाएर स्वर वर्णपढाउन सुरु गरे । आमा मलाई छोडेर घर फर्किसक्न भएको थियो । गरुले पढाउदै गए । मलाई ऋ ऋ को उच्चारण आउदै आएन । गुरुले ऋ, ऋ भन्छन् – तर मैले लृ लृ भन्दोरहेछु । धेरैपटक दोहो¥याउदा पनि उच्चारण गर्न नसकेपछि गुरुले गालामा चड्कन लगाए । फुपूले हेरिरहनु भएको थियो । म फुपूतिर हेरेर विनाइविनाइ रोएँ । फुपूले भो पढ्न पर्दैन भन्दै मलाई टपक्क काखमा लिनु भयो र गुरुतिर आँखा तर्दै घर लगेर फकाउनु भयो । त्यसदिन फुपूकहाँ नै बसेँ, भोलिपल्ट फुपूले घर लगेर छोडिदिनु भयो । पछि मेरो पढाई गाउँमै भयो ।
मैले गाउँमै दुर्गासप्तसती, चण्डी र अलिकति वेद पढ्दै थिए, पछि बाले मलाई अंगे्रजी स्कुलमा पढाउने विचार गर्नुभएछ । वि. सं. २०१३ सालमा म दश वर्षको थिए । त्यो बेला बागलुङ सदरमुकाममा एक मात्र अंग्रेजी स्कुल थियो । बाले अंग्रेजी शिक्षाका लागि त्यहाँ भर्ना गर्ने तारतम्य मिलाउनु भयो । स्कुल जाने तयारी हुँदै थियो, स्कुल बन्द हुँदैछ भन्ने खबर आयो । त्यस पटकको साइत पनि घक्र्यो । मलाई पढाउन त्यो बेलाको सापेक्षतामा बा आमाले निकै जोड गर्नुभयो । गाँउमा पण्डित राखेर सबैका केटाकेटी पढाउने व्यवस्था बाले मिलाउनुभयो । मैले दुर्गाकवाच, चण्डी सकेर वेद पढ्न थालेको थिए त्यसैबेला सदरमुकामबाट एक जना शिक्षक खोजेर ल्याइयो । उनले ऐन से्रस्ता, गणित र सामान्यज्ञान पढाए । विं सं २०१६ साल फागुनमा गाउँमै प्राइमरी स्कुल खोलियो । म तेह्र वर्षको थिए । त्यो बेलासम्म केही गणित र अंग्रेजीको सामान्य ज्ञान थियो । मलाई कक्षा ४ मा भर्ना गरियो । अंग्रेजी शिक्षाको प्रारम्भ त्यहाँबाटै सुरु भयो ।
२०१७ साल भदौमा छिमेकी गाविस पैयँपाटामा मिडिल स्कुल खोलियो । भाद्र पहिलो हप्ता त्रिभुवन मिडिल स्कुलमा कक्षा पाँचमा भर्ना भएँ । कार्तिकको परीक्षामा म पहिलो भएछु । पुरस्कार पनि पाँए । त्यही साल मंसिरमा मलाई बाले पोखराको राष्ट्रिय बहुउद्देश्यीय माध्यमिक विद्यालय, बगरमा भर्ना गराइदिनुभयो ।
पुस १ गते राजा महेन्द्रले कू गरे । मेरो क्लास टिचर घनश्याम मस्र्यानीलाई पुसको पहिलो हप्ता प्रहरीले गिरफ्तार गर्यो । उनी नेपाली कांग्रेस समर्थक रहेछन् भन्ने कुरा पछि थाहाभयो । ०१७ सालको काण्डले मेरो राजनीतिक चेतनालाई तरङ्गित ग-यो ।
म पोखरा लामो समय बसिन । २०१८ बैशाखतिर पहिलेकै स्कुमा फर्केर पढ्नथाले । म स्कुको सधै पहिलो विद्यार्थी भएँ । त्यसैले मलाई गुरुहरूले औधी माया गर्नुहुन्थ्यो । म पढ्दै गएँ, स्कुल पनि बढ्दै गयो । दश कक्षासम्म त्यसै स्कुलमा पढे पनि परिस्थितिबस मैले आखिर बनारासबाट सन् १९६७ मा हाईस्कुल परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण भएँ । इन्टरमिडियट पनि उतै पढेँ । त्रिभुवन विश्वविद्यालयबाट वी.ए प्राइभेट र वि.एड नियमित इन्सर्भिस गरे । वी.एल गर्दै थिए, जेल परेँ । त्यसैले कानुनमा स्नातक गर्ने चाहना बीचैमा रोकियो ।
शिक्षण पेशामा संघर्ष
मैले २०२२ साल चैत्र महिनामा त्रिभुवन मा.वि. पैंयुपाटामा मासिक ९० रुपैया तलव पाउने गरी शिक्षण पेशा सुरु गरेको थिएँ । त्यसपछि पृथ्वी प्रा.वि. अमलाचौर, विजुवा प्रा.वि पैंयथन्थाप, जनता मा.वि सकुवामा पढाउदै थिएँ । २०२९ मा नयाँ शिक्षा नीति लागु भयो । म लक्ष्मी नारायण नि.मावि अमलाचौरको प्रधानाध्यापक भएर विद्यालय बनाउन सक्रिय भएँ । त्यहाँबाटै दुईवर्षे शिक्षामा इन्सर्भिस डिप्लोमा गरेपछि २०३३ सालबाट त्रिभुवन मा.वि पैंयुपाटाको अंग्रेजी शिक्षक बनेर २०३९ सालसम्म पढाएँ ।
शिक्षण पेशा मेरा लागि गौण र वामपन्थी राजनीति प्रधान थियो । पञ्चायती शासकले संधै लखेट्ने र दुःख दिने गरिरहे । तिनीहरूका विरुद्ध निर्मम संघर्ष पनि गरियो । २०३९ सालको नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापक सदस्य बनेर शिक्षक हकहितको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न पाएकोमा गौरबको अनुभुति हुन्छ । ०३६ पछि पटकपटक जेलजीवन बिताउन परेको थियो भने वामपन्थी राजनीति गरेको आरोपमा त्रिभुवन मा.वि. संचालक समितिको सिफारिसमा जिल्ला शिक्षा समितिले स्थायी जागिरबाट बर्खास्त ग-यो । त्यसैवर्षको माघमा आफ्नै गाँउ अमलाचौरमा पृथ्वी माविको स्थापना गरँे । त्यसको स्थायी स्वीकृति लिन ठूलो लडाई लड्नु परेको थियो भने त्यो काममा सघाएको भनेर पञ्चायती शासकले डिल्लीप्रसाद शर्मालाई जिल्ला शिक्षा अधिकारीबाट निस्काशन गरेका थियो ।
मैले पृथ्वी मा.वि अमलाचौरमा २०४२ साल वैशाख २ गतेसम्म पढाएँ । राज्यले सक्रिय वामपन्थी राजनीति गरेको भनेर देशव्यापी वारण्ट जारी गरिसकेको थियो । उता पार्टीले भूमिगत जाने निर्णय पनि गरिसकेको थियो । २०४२ साल वैशाख ४ गते बिहान ४ बजे घरमा पुसले छापा मा¥यो । त्यसै दिनदेखि २०४६ सम्म पञ्चायती कालमा पाँच वर्ष कठोर भूमिगत जीवन विताएँ । पाँच छोराछोरी, बाथको दीर्घरोगी आमा र वृद्ध बाबुलाई छाडेर म भूमिगत भएको थिएँ ।
म शिक्षक विद्यार्थी र अभिभावकको बीचमा इज्जत र सम्मान कमाउन असफल भइन । म राजनीतिक काममा सक्रिय भए पनि विद्यार्थीको पढाइमा कमी आउन दिइन । त्यसैले यस क्षेत्रका विद्यार्थीको मन जित्न सफल भएकोले मैले पढाएका विद्यार्थीहरू अहिले राजनीतिक दलका माथिल्लै तहको नेता बनेकोमा मलाई गर्व छ । मैले मेरो विचार र राजनीतिलाई शिक्षण पेशा भन्दा माथि राखेँ । त्यसैले शिक्षण पेशा गौण भयो । तर पेशाप्रतिको इमान्दारितामा कहिल्यै कमी आउन भने दिइन । त्यसैले म त्यो बेलाको सफल शिक्षक हुँ भनेर गर्व गर्ने ठाउँ पनि छ ।
राजनीतिक जीवन
मेरो राजनीतिक जीवनको प्रारम्भ २०१५ सालको आम निर्वाचनबाट भएको हो । गाँउका धेरैजना गोरखा परिषदमा थिए । बा ले के.आई. सिहंको पर्चा, पोष्टर लिएर आउनुभएको याद छ । मैले गाँउमा प्रचार गर्दा मुखियाका छोराहरू मिलेर मलाई हप्कीदप्की गरेका थिए । त्यस बेलादेखि नै राजनीतिक तन्तुको महसुस भएको थियो । स्कुल पढ्दा चिनिँया साहित्यले पनि प्रभावित पारेको थियो ।
मेरो सक्रिय राजनीति जीवनको सुरुवात भने बनाराबाट भयो । सन् १९६७ मा कमरेड बलराम उपाध्यायमार्फत् कमरेड पुष्पलाल श्रेष्ठलाई भेटेँ । त्यहाँ नै कम्युनिस्ट पार्टीको सदस्यताको लागि दर्खास्त हालेँ । ६ महिनापछि सदस्यता सहित क. पुष्पलालको नेतृत्वमा जिल्ला पार्टी संगठन खोल्ने अनुमति सहित गृहजिल्ला फर्केँ ।
बागलुङ जिल्लाको दक्षिणभेग सर्कुवा गाविस एकरातेमा पाँचजना विश्वासी कमरेडहरूको बीचमा सिरिञ्जले रगत निकालेर र रगतकै सहिछाप गरेर पार्टीको जिल्ला संगठन समिति खोलियो । त्यसको सदस्यमा नवीन सागर, गणेश सुवेदी, निलकण्ठ सुवेदी थिए भने म त्यसको सेक्रेटरी बनेँ । त्यो पार्टीले बागलुङको दक्षिण भेगमा करीब साढेदुई वर्ष काम ग-यो ।
केही समयपछि चित्रबहादुर केसीले त्यो कुरा थाहा पाएर मलाई खोज्दै आए । भेट भयो । उनले तुलसिलाल अमात्यको केन्द्र अन्तरगत पार्टी बनाएका रहेछन् । उनीसँग धेरैचरणमा छलफल भयो । एउटा जिल्लामा दुईवटा समानान्तर पार्टी नबनाउँ भन्नेमा सहमत भइयो र पार्टी एकताका आधारहरू खोजियो । रुसको विरोध अर्थात संसोधनवादको विरोध गर्ने, नयाँ जनवादी क्रान्ति, महान् सर्वहारा साँस्कृतिक क्रान्तिको समर्थन गर्ने, तुलसीलालको केन्द्र नमान्ने र पुष्पलालको पनि नमान्ने, कार्यक्षेत्र धवलागिरि, राप्ती र लुम्बिनी बनाउने पार्टीभित्रको पञ्चायत परस्त र कांग्रेस परस्त प्रवृत्तिको विरोध गर्ने महत्वपूर्ण आधारमा सहमत भएपछि पार्टी एकता सहितको प्रथम जिल्ला सम्मेलन विसं २०२४ सालमा सम्पन्न गरिएको थियो ।
बागलुङ जिल्लाको प्रथम एकता जिल्ला सम्मेलनपछि पार्टीको योजनामा सामन्तका किर्ते तमसुक च्यात्ने, रक्सी विरोधी अभियान चलाउने, स्थानीय सामन्त फटाहाका जनविरोधी ज्यादतीको भण्डाफोर र कारवाही गर्ने, जनतालाई संगठित गर्ने, राजनीतिक प्रशिक्षण संचालन गर्ने, सामाजिक कुरीति, अन्धविश्वास र भेदभाव विरोधी अभियान चलाउने, माक्र्सवादी अध्ययन सामग्री प्रचार गर्ने, प्रेम विवाह गराउने त्यो बेलाको मुख्य काम थियो ।
एमालेका नेता झलनाथ खनाललाई विज्ञान शिक्षकको रूपमा बागलुङ लगिएको थियो । उनको सक्रिय राजनीतिक जीवन पनि बागलुङबाटै सुरु भएको हो । उनलाई राजनीतिक प्रशिक्षणका लागि जिल्ला पार्टीको योजनामा ठाउँठाउँमा पठाइन्थ्यो । विद्यार्थीहरूले स्वतस्फूर्त एउटा सांस्कृतिक कार्यक्रम गरेको निहुँमा उनी गिरफ्तार भए । केही समय जेल बसे । पछि अञ्चलाधीशले बागलुङ नर्फकने शर्तमा इलाम पठाएपछि उनीसँगको पार्टी सम्पर्क टुटेको थियो ।
मोहन विक्रम सिंह जेलबाट छुटे लगत्तै चित्रबहादुर र म दुवै जना उनलाई भेट्न गइयो । उनी राजधानीको टेबहालमा खड्गबहादुर जिसीको कोठामा बसेका थिए । मेरो एम.वी.सँगको पहिले भेट त्यही नै हो । मैले उनलाई “आगामी दिनमा के गर्ने योजना छ, जेल जीवन कस्तो रह्यो, जेलबाट कसरी छुट्नु भयो ?” आदि प्रश्न सोधेँ । सामान्य जवाफ पछि उनले मेरो परिचय सोधे । के.सीले पुष्पलाल समुबाट आएको भन्दै परिचय गराए । एकछिन पछि मलाई बाहिर पठाउने संकेत गरे । म त्यहाँबाट निस्केँ ।
कम्युनिष्ट पार्टीभित्रको दुई लाइन संघर्षबारे अलि मसिनो गरी थाहा थिएन । त्यसमा पनि एम.बी र पुष्पलालबीचको अन्तरविरोधको बारेमा म अनभिज्ञ नै थिएँ । तुलसीलालले राष्ट्रिय प्रजातन्त्रको रुसी लाइन लिएको थाहा थियो । पुष्पलाल जनवादी क्रान्तिको पक्षधर भएकोले म उनको विचारसित सहमत थिएँ । रायमाझीको बारेमा पनि बनारासबाटै जानकारी पाएको थिएँ । तर एम.वीबारे त्यति थाहा थिएन ।
पुष्पलालको विचारसित सहमत भएकोले केन्द्रीय न्युक्लियस गठन भएपछि जिल्लामा मेरा विरुद्ध पुष्पलाल परस्त दक्षिणपन्थी भनेर प्रचार गरिएको रहेछ । ठाउँठाउँमा पुष्पलालको छाउरो भन्दै हिँडेको पनि थाहा पाएँ । त्यसै कारणले मलाई चौथो महाधिवेशनमा प्रतिनिधि बनाइएनछ । तर पनि मैले आफ्नै प्रयत्नले पार्टी संगठनको निमार्णमा सक्रिय रूपमा लागिरहेँ । केसी नजिकका अधिकांस व्यक्तिरू पञ्चायतमा प्रवेश गर्दै गए । म भने २०३६ सालको शिक्षक आन्दोलनको नेतृत्व गरेर अगाडि बढेँ । २०३९ सालको अयोध्या प्लेनममा म सक्रिय रूपमा भाग लिएँ । २०४१ को पाचौं महाधिवेशनमा अल्पमतको पक्षमा अर्थात् एम.बी.को पक्षमा उभिएँ ।
नेपालको कम्युनिष्ट आन्दोलनको इहिासको विभिन्न कालखण्डमा विचार र संगठनको बीचमा ठूलो अन्तरविरोध देखिदै आएको छ । पाँचौं महाधिवेशनमा लाइन अल्पमतको तर नेतृत्व बहुमतको भएको थियो । पाँचौं महाधिवेशनको लाइन ठीक वा बेठीक त्यो त समयले समीक्षा गरिसकेको छ । तर लाइन र नेतृत्वबीचको विरोधमा म लाग्न छोडेर बहुमत नेतृत्वको पछि लाग्नु मनासिव देखिन । त्यस पछिका दिनमा पनि विचार र नेतृत्वका बीच अन्तर पर्दा गडवड हुने गरेको कटु अनुभव हामीसँग छ ।
विचारको धरातलमा उभिने तर दायाँबायाँ गर्न नसक्ने भएकोले नै म सिंगो चौथो महाधिवेशनमा प्रताडित बनेको तीतो अनुभव यहाँ राख्नुपर्छ । पाँचौ महाधिबेशन पछि पार्टी फुट्यो । म एम.वी. मसालको कित्तामा ठोकिन पुगेँ । ०४२ सालमा म मसालको केन्द्रीय समितिमा रहेर काम गर्न थालँे । ०४७ देखि ०५५ सम्म त्यो पार्टीको प्रवक्ता भएर एम.वी. सँग नजिक बसेर काम पनि गरेँ ।
०४२ पछि मैले एम.वी.लाई राम्रोसँग अध्ययन गर्ने अवसर मिल्यो । एम.बी.ले दलाल गद्दार भन्दै आएका पुष्पलालको बारेमा पनि अध्ययन गरेँ । एम.बी.ले पुष्पलाललाई गद्दार भनेर ठूलै ग्रन्थ लेखे । तर उनले गद्दार रायमाझी भनेर कहिल्यै लेखेनन् । पञ्चायत विरोधी शक्ति कांग्रेसको समेत घोर विरोध गरे । तर उनले पञ्चायती सत्ताको विरोधमा न नत उग्रवामपन्थी विचारधाराको खण्डन जस्तै पञ्चायत विरोधी ग्रन्थ नै लेखे ।
एम.बी.को सशस्त्र संघर्षसम्बन्धी नीति ‘आज नगद भोलि उधारो’ भनेर उधारो नदिने साहुको सुत्र जस्तै रहेछ भन्ने लाग्यो । उनी सिद्धान्तको कुरा गरेर भ्रम दिदै आएको बुझँे पछि त्यहाँ रहने कुरा भएन । उनको संकीर्ण जडसुत्रीय संसोधावाद विरुद्ध करीब एकदशक भन्दा बढी दुईलाइन संघर्ष चलाएँ । तर उनीसित व्यक्तिगत सम्बन्ध कहिल्यै नराम्रो भएन । उनको सक्रियता, निरन्तरता र लगन अनुकरणीय छ ।
सन् १९८७ मा मुम्बैमा भएको रिमको दक्षिण एशियाली क्षेत्रीय सम्मेलनमा पहिलो पटक एम.बी.सित भाग लिन गएको थिएँ । त्यस पछिका धेरै बैठकमा पार्टीको तर्फबाट भाग लिने अवसर मिल्यो र पछिसम्म पनि त्यो निरन्तरता कायमै रह्यो । पछि कम्पोसाको एक अवधिको संयोजक बन्ने अवसरलाई पनि मैले स्मरण गरेको छु ।
०४६ सालमा देशभित्र पञ्चायत विरोधी आन्दोलन संगठित हुन थाल्यो । कांग्रेसका वरिष्ठ नेता गणेशमानले सबै शक्तिलाई समेटेर आन्दोलनको उठान गर्ने अभियानका लागि पहल लिए । २०४३ देखिनै म काठमाडौंको इन्चार्ज थिएँ । गणेशमानले एम.बी.लाई भेट्न आमन्त्रण गरे । एमबी त्यतिबेला लखनउ बस्थे । आफू नआएर उनले मलाई पठाए । पी.एल्.सिंह मलाई लिन चितवन पुगेका थिए । गणेशमानसित काठमाडौंमा भूमिगत तरिकाले करिब डेढघण्टा कुराकानी भएपछि फर्केर गएँ र सबै रिपोर्ट बुझाएँ । त्यो बेलाको हाम्रो संयुक्तमोर्चा र कार्यगत एकता सम्बन्धी संकीर्ण नीति परिवर्तन नगरे हामी पञ्चायत विरोधी आन्दोलनबाट कटिने र पार्टी पनि सकिने तर्क जवरजस्ती राखेपछि एम.वी. केन्द्रीय समितिको वैठक बोलाएर छलफल गर्ने कुरामा सहमत भए । पछि २०४६ साल पुसमा राष्ट्रिय भेला बोलाएर कांग्रेस समेतका राजनीतिक शक्तिहरूसित पञ्चायत विरोधी संघर्षमा कार्यगत एकता गर्न सकिने निर्णय भयो ।
मैले ०४६को जनआन्दोलनको काठमाडौमा बसेर सक्रिय नेतृत्व गरेँ । संयुक्त राष्ट्रिय जनआन्दोलन गठनको अग्रणी पहल र त्यो द्वारा घोषित चैत्र २४ को आन्दोलनको सक्रिय अगुवाई भएको थियो ।
मैले ०५१ को छैठौं महाधिवेशनमा शसस्त्र संघर्ष सम्बन्धी फरक दस्तावेज पेश गरेँ । बहुमतद्वारा अस्वीकृत भए पनि पार्टीभित्र त्यसको पक्षमा राम्रो मत थियो । २०५३ मा राष्ट्रिय सम्मेलनद्वारा क.पुष्पलाललाई दलालगद्दार भन्ने एम.बी.को मतलाई अल्पमतमा पारेर क. पुष्पलाललाई स्थापित गरियो ।
मसालभित्र माओवादी जनयुद्ध, एमालेको विश्लेषण, शसस्त्र संघर्षबारे गम्भीर मतभेद भएपछि ०५५ सालमा मसाल समुहबाट विद्रोह गरी नेकपा (मसाल) विद्रोही समुह गठन गरियो । २०५७ साल पुस ११ गते माओ जयन्तीका दिन नेकपा (माओवादी)सित पार्टी एकताको औपचारिक निर्णयमा हस्ताक्षर भएपछि सोही दिन भारतको लखनउमा भएको पोलिटव्युरो बैठकमा उपस्थित भएँ । पार्टी एकताको औपचारिकता २०५७ को ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलनद्वारा भएको थियो । पार्टी एकतालाई ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलनको दस्तावेज ‘महान् अग्रगामी छलाङ, इतिहासको अपरिहार्य आवश्यकता’मा छुट्टै शिर्षकमा महत्वका साथ उल्लेख गरिएको छ । त्यो बेलादेखि नै म नेकपा(माओवादी)को पोलिटब्यूरो, स्थायी समिति सदस्य पार्टी प्रवक्ता हुदै अहिले पदाधिकारीको जिम्मेवारीमा छु ।
पार्टीको निर्णय अनुसार जनयुद्धकालमा २०५९ फागुनमा दोस्रो शान्तिवार्ताको आन्तरिक वातावरणका लागि काठमाडौं आएर करिब एक महिना काम गरेँ । त्यो बेला पार्टीभित्र स्पष्ट दुईवटा धारहरू– एउटा रायमाझी र अर्को पुष्पलाल धार देखा प¥यो । सधैँ पुष्पलालको धारको पक्षमा उभिएँ । त्यसकारण पर्टीमा प्रताडित पनि हुनुप-यो । रायमाझी धारका उत्तराधिकारी मध्येका रवीन्द्र श्रेष्ठ अहिले युद्धकालमै एमालेमा प्रवेश गरे । उनीहरूको विचारलाई २०६२ सालमा भएको ऐतिहासिक चुनवाङ बैठकले पराजित गरेको थियो ।
२०६२/०६३ को ऐतिहासिक दोस्रो जनआन्दोलनपछि शान्तिवार्ताको लागि पार्टीले जिम्मा दिएर पठायो । ०६३ जेष्ठ १२ गते गोकर्ण बैठकमा शान्तिवार्ता सम्बन्धी आचारसंहिता तयार गरियो, काम अगाडि बढ्दै गयो । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भए पछि २०६३ साल माघ १ गते अन्तरिम संविधान २०६३ घोषणा भयो । अन्तरिम संविधान २०६३ अनुसार बनेको अन्तरिम व्यवस्थापिका–संसद्को सदस्य र पार्टीको तर्फबाट मुख्य सचेतक भएर आफ्नो जिम्मेवारी पुरा गर्ने अवसर पाएको थिएँ । पहिलो संविधानसभाको सदस्यको हैसियतले संविधान निर्माणमा सकृय भूमिका निर्वाह गर्ने काम भयो । पहिलो संविधानसभाको अवधि सकियो । बाबुराम भट्टराईको नेतृत्वको सरकारमा १५ महिना शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेँ । खुला विश्वविद्यालयको सुरुआत, विद्यालय शिक्षामा प्राविधिक धारको थालनी, १७ वर्षदेखि थला परेको शिक्षकसेवा आयोगलाई सक्रिय बनाई शिक्षकको वृत्ति बिकासमा सहयोगसमेतका महत्वपूर्ण काम गरियो । २०७२को नयाँ संविधान पछिको पहिलो राष्ट्रियसभाको सदस्य भएर चार वर्ष कानुन निर्माणमा सक्रिय हुनुका साथै सत्ता पक्षको दलको नेता भएर काम गर्ने मौका मिलेको थियो । समयले जे जिम्मेवारी दियो त्यसलाई सहर्ष स्वीका गरियो । तर मैले मलाई यो नभै हुदैन भनेर कहिले पनि दाबी गरिन । पार्टीभित्र गुट र दबाब समुह बनाएर पदको हानालुछि गर्न मनले मानेन ।
कम्युनिस्ट पार्टी वर्ग संघर्षको उत्तम प्रयोगशाला र भर्भराउँदो भट्टी हो । वर्ग प्रवृत्तिहरू यो भट्टीमा संधै खारिनुपर्छ । कोठा नबढारे फोहोर हुन्छ, विचारमा खिया परे वैचारिक संघर्षको भट्टीमा होमिनुपर्छ भन्नेकुरा माक्र्सवादले सिकाउँछ । पार्टीभित्र विजातीय विचारका बिरुद्ध वैचारिक संघर्ष चलाउने क्रममा सधैं प्रतिपक्ष र अल्पमतमा बस्नु परेको कटु तर समृद्ध अनुभव हासिल गर्ने अवसर मिलेको छ । पदका लागि विचारको विनिमय वा सम्झौता गर्न मेरो मनले कहिल्यै मानेन, त्यसैकारण चौंथो महाधिवेशनमा भाग लिने अवसरबाट बञ्चित हुनपरेको कुरालाई म कहिल्यै भुल्न सक्दिन ।
विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलन यसको स्थापनाकालदेखि नै दक्षिणपन्थी अवसरवाद, संकीर्ण यान्त्रिक र जडसुत्रीय संशोधनवादबाट मुक्त हुन सकेन । अहिले पनि यी दुबै प्रवृत्तिले समयसमयमा कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्दै आएको छ । विश्व कम्युनिस्ट आन्दोलनका अहिलेसम्मका समृद्ध अनुभवले के बताएको छ भने सर्वहारावर्गले क्रान्ति गर्छ, तर नेतृत्वले प्रतिक्रान्ति गर्छ । प्रतिक्रियावादी विरुद्ध उठेर विजय प्राप्त गरेको हतियार पुनः सर्वहारावर्गकै विरुद्ध प्रतिक्रान्तिको रक्षक बन्ने गरेको इतिहासले २१ औं शताब्दीको क्रान्तिलाई प्रतिक्रान्तिबाट जोगाउने वैचारिक संश्लेषणको माग गर्छ ।
अहिले म ७६ वसन्त पुरा गरेर ७७ वसन्तमा दौडदैँछु । कम्युनिस्ट पार्टीमा लागेर काम गर्न थालेको पनि गन्दै जाँदा ६० वर्ष हुन थालेछ । क्रान्ति निरन्तर चल्ने प्रक्रिया हो र चलिरहेको छ । नेपाल जनवादी क्रान्तिका मुलभुत अविभारा पुरागरेर समाजवादी क्रान्तीको चरणमा प्रवेश गरेकोछ । त्यसका लागि विगतमा भन्दा झन सक्रिय बन्नुपर्ने आवश्यकता महशुस हुन्छ ।
पारिवारिक पृष्ठभूमि
राजनीतिक जीवनलाई पारिवारिक सम्बन्धले ठुलो अर्थ र महत्व राख्छ । मैले परिवारबाट जुनसुकै कठोर र संकटपूर्ण घडीमा पनि सधैं सहयोग र समर्थन पाएको छु । ‘बरु मर्नु तर दुश्मनका अगाडि कहिले पनि कायलनामा नगर्नु’ भन्ने आमाको भनाइ मलाई वर्गसंघर्ष र वैचारिक संघर्षमा खरोसँग उत्रन महान्वाणी बन्यो । दुश्मनका अगाडि आत्मसमर्पण गर्नुभन्दा मर्नु श्रेयस्कर छ भन्ने आमाको प्रेरणाले मलाई कठीन घडीमा अगाडि बढ्न जीवन पर्यन्त प्रेरणा मिलेको छ ।
मेरो विवाह २०२६ साल मंसिर २६ गते बागलुङ कुँडुले निवासी दण्डपानी आचार्यकी छोरी चन्द्रकला पाध्या (सरला शर्मा)सित भएको हो । मेरो आन्तरिक इच्छा अन्तरजातीय विवाह गर्ने भए पनि सरलाको मामा र मेरो बाको चिरसम्बन्धले हाम्रो विवाह हुन गएको हो । सरला मेरो काममा कहिले पनि बाधक भइनन् । मेरो राजनीतिक जीवनको अर्धाङ्गीनी सरला हुन् ।
आमा २०३१÷३२ सालदेखि नै बाथको रोगले पीडित हुनुहुन्थ्यो । बा सामाजिक व्यक्ति भएपनि आदत जुवातास खेल्ने थियो । म पञ्चायत विरोधी नेता, शिक्षक तथा सामाजिक अगुवा थिए । तीन छोरी शान्ता, शारदा, कल्पना र दुई छोरा राजन, साजनको आमा बनेर उनीहरूलाई हातखुट्टा लगाइदिने,पढाउने, वृद्ध अशक्त सासुको सुसार गर्ने, चुलोचौको, खेतबारी र गोठको सम्पूर्ण काम आफ्नो थाप्लोमा बोकेर सरलाले परिवार थामिन् । ०४२ साल पछि पुलिसले पटकपटक घर घेरेर सात वर्षको छोरा राजन र दश वा¥ह बर्षका छोरी शारदा र शान्तालाई गिरफ्तार गरेर हिरासतमा पु-याउँदा पनि परिवार कहिल्यै विचलित बनेन । म भूमिगत भैसकेपछि समाजमा पञ्चायत विरोधी भनेर हाम्रो परिवार अपमानित र तिरस्कृत हुनुपरेको पीडा पनि सरलाले खेपिन् ।
त्यो कठीन घडीमा मलाई अगाडि बढ्न सहयोग नगरेको भए सायद मैले साँच्चै पञ्चायती शासकसामु आत्मसमर्पण गरेर परिवार सम्हाल्नु पर्नेथियो । मैले साँच्चै नै क्रान्तिको इमान्दार सहयोद्धा कमरेड पाएकोमा गौरब गर्दछु र सरलाले मेरो जीवनमा गरेको सहयोगप्रति आभार प्रकट गर्नचाहन्छु ।
मेरा छोराछोरीहरूले मेरो बाटोमा कहिले पनि अवरोध सिर्जना गरेनन्, बरु आफ्नो ठाउँबाट मलाई क्रान्तिमा लाग्न उर्जा प्रदान गरिरहे । मैले ०५७ सालमा नेकपा(माओवादी)सँग एकता गरेर युद्धको भुँग्रोमा होमिए । साजन आइएस्सी दोस्रो वर्षको पढाई छाडी मेरो स्टाफ बनेर पछिलागे । राजनपनि केही समय पछि पञ्जाव पुगेर पार्टीको काममा खटे । केही समय पछि पार्टी निर्णय अनुसार बाबुराम भट्टराईसित बसेर पार्टीकाममा सहयोग गरे ।
सरला आजीवन चर्चेको घर, श्रीसम्पती सबै चटक्टै छाडेर मसँग पछि लागिन् । २०५७ मा कल्पना छोरी राजु ज्वाईँले ७५ जनाको अगुवाई गरेर नेकपा माओवादीका दोस्रो राष्ट्रिय सम्मेलनमा भारतको पञ्जाव पु¥याएर सहयोग पु¥याए । मेरो ज्वाईँ भएकै कारण शुभशंकर कँडेललाई सेनाले गायव पार्दाको कहालीलाग्दो अवस्था र शारदा छोरीको पीडा र छोरी शान्ताको डेरामा मध्यरातमा छिरेर चिचिला नाति र ज्वाईँ छोरीलाई चरम यातना दिएको सम्झिदा अहिले कहाली लाग्छ । युद्धकालमा छोरीहरू हामीसँग नभएपनि कष्टकर जीवन बिताउँदै आ–आफ्नै ढंगले सहयोग पु¥याए । त्यसप्रकारको कष्टकर जीवन बिताउनु परेकोमा उनीहरूको कुनै बाधा, विरोध र प्रतिक्रिया थिएन । त्यसैले म मेरो परिवारका सम्पूर्ण सदस्यहरूको साथ, समर्थन र सहयोगले यहाँसम्म पुगेँ र अहिलेसम्म पनि सबैको सहयोग यथावतै छ ।
मेरो जीवनका सुख र दुःखका अविस्मरणीय क्षणहरू छन् । मेरो जीवनको सबभन्दा खुशीको दिन एम.बी. सिंहको पार्टीबाट विद्रोह गर्ने र माओवादीसित पार्टी एकताको घोषणा गर्ने दिन थियो भने दुःखको क्षण ०५९ असारमा सेनाले घर तोडफोड गर्दाको रह्यो । मेरो कोठामा रहेका दुर्लभ सामाग्री समेतको पुस्तकालय बाहिर निकालेर आँगनमा मट्टीतेल छर्केर जलाएको खबर छोरा राजनले दिँदा मेरो सिंगो जीवन जलेको अनुभूति भयो । महत्वपूर्ण र ऐतिहासिक दस्तावेज, कविता, कथासंग्रह, लेखरचनाका पाण्डुलिपि जल्यो, दुर्लभ पुस्तकहरू जले । त्यो दिन सबैभन्दा दुःखको दिन थियो । अहिले पनि त्यो सम्झिँदा मुटु चिरिन्छ । त्यस्तै मेरो राजनीतिक जीवनका सुत्रधार क.ष्पलालसित पहिलो पटक भएको भेटाइदिने दाजु क. बलाराम उपाध्यायको मृत्युको खबरले म अलि भावुक र दुःखी भएको थिएँ ।
जीवन दुःख सुखको संगम भन्छन् तर जीवनलाई उत्प्रेरणा, उत्साह, सक्रियता र सुखको संगम भन्न मलाई मन लाग्छ । प्रतिकुलतालाई सहजै पचाउन सक्ने क्षमताको विकास मानिसमा समय परिस्थिति अनुसार हुँदोरहेछ भन्ने कुरा मेरो राजनीतिक संघर्षसित जोडिएर परिवारले गरेको संघर्षले पुष्टि गरेको छ ।
साहित्यिक काम
साठीको दशकपछि शेष जीवन साहित्यिक साधनामा समर्पित गर्ने विचार आयो । कृष्णशेन इच्छुकको स्मृति दिवसको दिन केही साहित्यकारको उपस्थितिमा चन्द्रागिरिको चोटीमा उभिएर साहित्यिक काममा पनि लाग्ने घोषणा गरेको चिएँ । चन्द्रागि।िको चोटीबाट पृथ्विनारायण शाहले उपत्यकाको अवलोकन गरेर चढाईँ गर्ने सङ्कल्प गरेको स्मरण गरेँ । चित्लाङ् भञ्ज्याङ्मा बसेर देवकोटाले ‘यात्री’ कविता लेखेको कुराले पनि कलम चलाउन पे्ररित ग¥यो । पुराना बचेखुचेका सामाग्री समेत् बटुलबाटुल पारेँ र कलम लतार्दै गर्दा तलका कृतिहरू जन्मिन पुगे छन् ।
१) जीवन यात्रा र जीवन (निबन्ध संग्रह २०६६)
२) तरङ्ग (कविता संग्रह २०७०)
३) अक्षरको खेती (निबन्ध २०७१)
४) यात्रा र अनुभूति (निबन्धसंग्रह २०७२)
५) हिम फुलेको रात (निबन्ध संग्रह २०७२)
६) कुलुङ्गाकी आमा (निबन्ध संग्रह २०७३
७) बाह्रखरीको बोट मुनि (निबन्ध संग्रह २०७४)
८) समयका छालहरू (कविता संग्रह २०७६)
९) झरीको सौन्दर्य (निबन्ध संग्रह २०७६)
१०) एक सम्बोधन समयमाथि (निबन्ध संग्रह २०७८)
यस बाहेक राजनीतिक निबन्धहरू पनि छन् :
१) सशस्त्र संघर्ष वारे सर्वहारा विश्व दृष्टिकोण (२०५६)
२) संसदीय चुनाव बहिस्कार र उपयोगकोप्रश्न (२०५६)
३) युद्धविराम शान्तिवार्ता र अग्रगामी निकासवारे (२०६०)
४) युद्ध र शान्तिवार्तावारे द्वन्द्वात्मक सम्बन्ध (२०६३)
५) क्रान्तिकारी बिद्रोहका आधारहरू (२०६३)
साहित्य अविराम यात्रा र निरन्तरको साधना हो । साधनाविना साध्य सम्भव छैन । साहित्य साधनाभित्र असीम सौन्दर्य र आनन्द लुकेको हुन्छ । जीवनलाई रसिक र हराभरा बनाइराख्नकालागि जीवनको उत्तरार्धमा साहित्य साधनाको बाटो लिनु उचित छ भन्ने लागेको छ ।
विदेश भ्रमण
मैले विश्वका धेरै मुलुक घुम्ने मौका पाएँ । विगतमा मन्त्री र सांसद हुँदा र नहुँदा पनि मेरो विदेश यात्रा निरन्तर रह्यो ।
भारत,चीन, भुटान, श्रीलंका, अष्ट्रेलिया, थाइल्याण्ड, म्यानमार, रुस, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, जर्मनी, स्वीजरल्याण्ड, फ्रान्स, डेनमार्क, पोर्चुगल, स्पेन, बेल्जियम, इटली लगायतका मुलुकको भ्रमण गरेको छु ।
अन्तमा जीवन अविराम यात्रा हो । आमाको गर्भबाट झरेपछि सबैले यो यात्रा पसरा गर्नुपर्छ । तर सार्थक यात्राको लागि गरिने प्रयत्न र गतिशिलता मात्रै ग्राह्य हुन्छ । मानिस जन्मेपछि कति बाँच्छ भन्ने कुराले कुनै अर्थ राख्दैन । असल कामको लागि अर्थात अरुको लागि उसको जीवनको कति समय खर्चेको छ भन्ने कुराले अर्थ राख्छ । मलाई जीवनको प्रारम्भिक कालमै ’मुहूर्तमपि जीवेत नरशुक्लेन कर्मणा’ भन्ने नीति श्लोकले प्रभावित गर्यो भने ’दुश्मनका अगाडि कायलनामा नगर्नु भन्ने आमाको ढृढ महान्वाणीले वर्ग संघर्ष र वैचारिक संघर्षमा निरन्तर डट्ने उत्प्रेरणा मिल्यो ।
जीवन यात्रामा मानिसले धेरै मोड र घुम्ती पार गनुपर्छ । मोड दायाँ पनि हुन्छ र बायाँ पनि । कुनै मोड नहेरी अगाडि हिँड्नेहरू घुम्तीमा पुगेपछि दुर्घनाको शिकार भएका छन् । यात्रमा हाम्रो दुबै खुट्टा चाल्नुपर्छ । दायाँ खुट्टाले पनि टेक्नुपर्छ र बायाँले पनि । देबे्र खुट्टा चाल्दा देबे्रतिर मात्रै गएको देख्ने र बायाँ खुट्टाले टेक्दा बायाँ गएको देख्नेहरूले बाटो बिराएका छन् । जीवनको उत्तरार्धसम्मको यात्रालाई पछि फर्केर हेर्दा मसँग गुनासो गर्नुपर्ने खासै केही छैन । जीवनयात्राका अनन्य सहयात्री सबैप्रति म आभारी छु ।
जीवनवृत्त