वसुधा सुस्ताएकी छन् यतिखेर । सुनौलो अवसर मिलेको छ आरामको सास फेर्न । हजारौं वर्षदेखि चिथोरिँदै कोपरिँदै आएकी धराले सुबिस्ताले सास फेर्न पाएकी छन् केही क्षण ।
वसन्तको वहारसँगै चराहरूको कलरवमा छमछमाएको देख्दै छु वनकानन र रसिक वाग बगैँचातिर । उन्मत्त बैँस चढेको छ प्रकृतिको । प्रकृतिका खिरिला औँलाले काँडा पन्छाएर धराको सिउँदोमा प्रीतिको गुलाब सिउरी दिएर माया गाँस्दै छन् कोइलीको कुहुँ कुहुँ र मयूरको भाले नाचसित । पल्लवित पखेरातिर विचरण गर्दै गिरिशैल शिखरबाट ओर्लिएका कञ्चन निर्झरिणीमा नुहाएर कति समयको मैला फाल्दै छन् यतिखेर ।
कोभिड–१९को वैश्विक महामारीले मानवजाति बन्दी बनेको छ । विश्व बन्दाबन्दीको कठिन अवस्थामा छ । आफ्ना सबै औजार फालेर कोरोनाको डरले घरभित्र लुकेको छ । सामाजिक पृथकीकरण पालन गर्नुपर्ने अवस्था सिर्जिएको छ । कोरोनाले मानिसलाई सुतायो । पृथ्वीलाई उठायो र जगायो । धन्य धरती ! धन्य कोरोना !!
कोरोना वरदान बनेर आयो वसुधाको । काल बनेर आयो मानव जातिको । एउटै चीजभित्र मित्र र दुस्मन हुन्छ एकै चोटि । उही माटोमा विष पनि फल्छ र अमृत पनि । उज्यालो सबैलाई प्रिय लाग्छ । तर त्यही उज्यालो दुस्मन बनिदिन्छ निशाचरका लागि । न्याय र अन्यायको सन्तुलन विपरीतको एकत्वबाट भएको छ । विश्व ब्रह्माण्ड त्यसैमा अडेको छ ।
मानवजाति र पृथ्वीको सम्बन्ध लाखौँ वर्षदेखि सौहार्द बन्दैआएको छ । करोडौँ वर्षपहिले मानिस विनाको पृथ्वी थियो भन्नेकुरा विज्ञानले पुष्टि गरेको छ । मानिसविनाको पृथ्वी हुन सक्छ । तर पृथ्वीविनाको मानिसको अस्तित्व अझै सम्भव देखिएको छैन । मानव जातिको चेतनाको विकासले चन्द्रमा मङ्गलसमेतका ग्रहतिर बसाइ सर्न सक्छकि भनेर यात्रा प्रारम्भ गरेको छ । तर पनि के कुरा सत्य हो भने लाखाँैलाख ग्रहहरू मानवरहित नै छन् ।
मानिस बैगुनी र निर्दयी छ । जन्मभूमिको हुर्मतै लियो स्वार्थी मानिसले । पृथ्वीको अनुहार चिथोरेर विरूप बनायो । गर्भ छिचोल्यो आँतै बिग्रने गरी । प्रकृति प्रदत्त उपहार मासिदियो तुच्छ स्वार्थका लागि । हिमाल, पहाड, वनजङ्गल र समुद्र कुनै बाँकी राखेन उदासु मानिसले । नदीनाला, तालतलैया र कलकल झर्नाले सुक्ताउने अवसर पाएनन् एकैछिन ।
पृथ्वी अर्थात् भौतिक तत्वविनाको मानिसको कल्पना गर्न सकिँदैन । मानिस वसुधाको सन्तान हो । आफ्नो सन्तानको पालन पोषण गर्नु धराको धर्म हो । वसुधा आफ्नो कर्तव्यबाट विचलित छैनन् । तर मानिस पछिल्लो कालमा उपद्रवी उदासु निस्क्यो । त्यसलाई ठीक बाटोमा ल्याउनु चेताउनु धरतीको कर्तव्य हो । कोरोना महामारी मानिसले पृथ्वीमाथि गरेको अत्याचारको सबक हो ।
अति गर्नु, अत्याचार नगर्नु भन्छन् । अत्याचार कसैले सहन सक्दैन । यो प्रकृतिको नियम हो । स्वयं पृथ्वीले सहन सक्ने कुरै भएन । मानिसले प्रकृतिमाथि विजय प्राप्त गर्छु भन्ने घमण्ड गर्दछ । त्यो सम्भव छैन । मासिले पृथ्वीलाई लुछ्न सक्छ, चिथोर्न सक्छ, भत्काउन, ओदार्न सक्छ तर प्रकृतिमाथि विजय प्राप्त गर्न सम्भव छैन । प्रकृतिका उपज वनस्पति, जलचर, स्थलचर माथिको मानव जातिको ज्यादती पृथ्वीले सहन सक्दिनन् ।
कोरोनाको कैदमा बसेको आज चालीस दिन भएछ । बाहिर निस्केर एकपटक पेटभरि धरतीको अनुहार हेर्न मन लाग्यो । छतमा चढेर चारैतिर नियालँे । नागार्जुन र चन्द्रागिरिको फुस्रो र मलिन अनुहारलाई आज चिल्लो, रसिक र हँसिलो देखेँ । चारैतिर शान्ति छ । छारो उडेको छैन कतै । यति सुन्दर अनुहार कहिले देखेको थिइनँ मेरो जीवनमा । पृथ्वीको रूप फेरिएछ रङ फेरिएको छ । स्वभाव पनि फेरिएछ कि भन्ने लाग्यो । सूर्यको किरणलाई छेक्ने धुलो, धुवाँ र तुवाँलोको पर्दा पनि हटेछ यति खेर । साँच्चै सुहागरातको साँझ घुम्टो खोलेकी नव बधुजस्तै ।
सधैँ अस्तव्यस्त भिडभाड धुलाम्य बाटो हिँड्न अभ्यस्त आँखाले खाली र सफा सडक, सडकका दुवैतिर धुलोले फुस्रिएका बोटबिरुवा यतिखेर रसिक र कलकलाउँदा बनेछन् । विभिन्न जातका पल्लवित बोटमा वरिपरिका फूलले औधी शोभा दिएका छन् । हावा स्वच्छ छ । सूर्यको न्यानो प्रकाशमा टिलिक्क टल्कँदै छन् नव पल्लवित पुष्प मञ्जरीहरू । कति मनमोहक, कति आनन्दित बनेछन्, दिनहरू यतिखेर ।
वसन्तले विदाइ गर्ने तरखर गर्दै छ । रत्नपार्क र सिंहदरबार वरपरका जराकाण्डका नीलिमा आँगन र बाटोभरि बहार छरेर स्वागत गर्दैछन् अभ्यागतको । फूलको बिछौनामा टेकिदिनेको प्रतीक्षामा छन् नीलिमाहरू । मानिस कोरोनाको कहर काट्दै छ कोठाभित्र थुनिए र । यता धरती मुस्कुराउँदै छिन् पुष्पउत्सव मनाएर । यस्तो दिन पनि भोग्नुपर्ने रहेछ मानिसलाई ।
हिमशिखर मुस्काएका छन् कञ्चन परिधानमा । उत्तरतिर इतिहासको साक्षी बनेर उभेका हिमशिखरहरू पग्लिन कम हुँदैछ प्रदूषण घटेर । तरुलतिका झुलेका छन् हिमालयका कछारतिर । जङ्गली जनावरहरू निर्भयसाथ विचरण गर्दैछन् मानिस कैदी भएको बेला । नदीको दोहन रोकिएको छ । नदी र तालतलैयामा माछा र जलचर निर्भयपूर्वक खेलेका छन् । काठमाडौँ, दिल्ली, पेरिस र मुम्बई सहरको प्रदूषणरहित स्वच्छ सहरको दृश्य प्रदर्शन गर्दै छन् टेलिभिजनहरू । कति सौम्य ! कति सुन्दर !! कति शान्त !!! मानवविहीन सहरहरू । प्रकृतिको हुर्मतै लिएको रहेछ मानिसले ।
मानिस बैगुनी र निर्दयी छ । जन्मभूमिको हुर्मतै लियो स्वार्थी मानिसले । पृथ्वीको अनुहार चिथोरेर विरूप बनायो । गर्भ छिचोल्यो आँतै बिग्रने गरी । प्रकृति प्रदत्त उपहार मासिदियो तुच्छ स्वार्थका लागि । हिमाल, पहाड, वनजङ्गल र समुद्र कुनै बाँकी राखेन उदासु मानिसले । नदीनाला, तालतलैया र कलकल झर्नाले सुक्ताउने अवसर पाएनन् एकैछिन ।
जङ्गल मासिए । वन्यजन्तुको घरबासै उठिबास लाग्यो । ठूलठूला जङ्गलमा आगजनी भयो । जङ्गली जनावर, कीट पतङ्ग, चराचुरुङ्गीका गुँड र वासस्थान नष्ट भए । समुद्र प्रदूषित भए । समुद्री जीवको उछितो काढियो । समुद्री लहर र धार आफ्नो लय र गतिमा हिँड्न पाएनन् । समुद्रभित्र संरचना बन्न थाले । जलचरहरूका प्रजातिहरू लोप हुन थाले । मानिसको दुष्ट स्वभावले प्रकृतिमाथि योभन्दा ठूलो अन्याय के गर्नुप¥यो ? धन्य धरा ! धन्य धरती !! धन्य सहेकी छन् । सन्तान दुष्टै भएपनि सहनुपर्छ । कुपुत्र हुन सक्छ कुमाता कहिले हुँदैनन् ।
पहाड छेडिए । समुद्रको पिध उछिनियो । धातु, धाव, तेल, कोइला र मणि, रत्नादिका लागि पृथ्वीको गर्भ नै खलबलाउने काम भयो । आकाश चोखो रहेन घातक आणविक कारखानाबाट निस्केको विषाक्त धुवाँले । वायुमण्डल ढाकिदियो । न्यानो र चोखो सूर्यको किरण छिर्न पाएन पृथ्वीमा । त्यसैले कोरोनाजस्ता महामारी आउन थालेका छन् दुष्ट मानिसलाई सजाय दिनका लागि । तह लगाउनका लागि । धरतीको सबभन्दा बढी दोहन गरेर प्राकृतिक सम्पदामा एकाधिकार जमाउँदै आएका राष्ट्र र जाति कोरोनाको कष्टबाट दण्डित हुँदै छन् । वातावरण बिगार्ने र मौसम परिवर्तनको सङ्कटबाट विश्वलाई जोगाउने अभियानप्रति उपेक्षा गरेर भाग्नेहरूको दयनीय दशा देखेर टिठ लाग्न थालेको छ । ‘सबै जोगी मर, मेरै तुम्बा भर’ भन्नेहरू तिलमिलाउनु परेको छ ।
प्रकृति सबैकी साझा हुन् । पृथ्वीका सबै जलचर, स्थलचर, उभयचरहरूले बराबर चराचर उपभोग गर्न पाउनुपर्छ । प्राकृतिक स्रोतको एकाधिकार गरेर समृद्ध बन्ने सोच अन्यायपूर्ण छ भन्ने कुरा कोरोना महामारीले प्रस्ट पारेको छ । पृथ्वीको रक्षा गर्नुपर्छ । सेवा सुश्रूषा गर्नुपर्छ आमालाई जस्तै । आमाबाबुको अपमान गरेर कोरोनाको मुखमा धकेल्ने गरेको देख्दा दुःख लागेको छ ।
वसन्तको आगमन हुँदै थियो । सन् २०२० को आगमनसँगै नयाँ नयाँ योजना बन्दै थिए । त्यसै बेला चीनको हेनान प्रान्तको वुहान सहरमा कोरोना भाइरस देखाप¥यो । जनावरबाट जनावरमा सर्ने यो महामारीले एकाएक मानिसमा आक्रमण ग-यो ।
वुहान मासुका परिकारका लागि प्रसिद्ध सहर हो भन्ने मानिन्छ । जङ्गली, घरपालुवा र समुद्री सबै प्रकारका मासुका परिकार पाइने र विश्वभर निकासी गर्ने कुरा खुलासा भयो । कोरोनाको पहिचानसँगै चीनले वुहानको मासु बजार बन्द गरेको समाचार आयो । पृथ्वीका सबै जल ,थल र उभयचर बाँच्नका लागि जीवजन्तु आपसका आधार हुन् । त्यो आधार खल्बलिन थालेपछि सन्तुलन कायम गर्छ प्रकृतिले नयाँ कदम चाल्नु पर्छ । कोरोना महामारी यति खेरको एउटा सामान्य परीक्षण हो । यो सामान्य परीक्षणको सन्दर्भमा पृथ्वीले सुस्ताउते अवसर पाइन् । मानिसले स्वच्छ प्राण वायु पिउन पायो र अन्य जलचर थलचरहरू स्वतन्त्र र निर्भय भएर रमाउन पाएका छन् । धन्य प्रकृति ! धन्य कोराना !!
वन्यजन्तुको अत्यधिक चोरी सिकारी र दुर्लभ तथा बहुमूल्य सालकको चोरी निकासीबाट यो महामारी जन्म भएको अनुमान छ । संसारका सम्पन्न सौखिक धन कुवेरले सोखका लागि सालक, कस्तूरी मृग, रेडपाण्डा, पाटेबाघजस्ता दुर्लभ वन्यजन्तुको सिकारलाई अत्यधिक मूल्य तिरेर सोखको तृप्ति लिने गरेका छन् । नाउरको सिकारका लागि ढोरपाटन पुग्नथालेकाछन् गोराहरू । दुर्लभ जनावरको मासु र छालाका लागि लाखौँ डलर तिर्न तयार कुवेर राष्ट्रका सम्भ्रान्त विलासीले चोरी सिकारीलाई प्रेरित र प्रोत्साहित गर्दैआएका छन् । नेपालमा पाइने एक सिङ्गे गैँडा, पाटेबाघ, बहुमूल्य कस्तूरी, नाउर जस्ता जनावरहरूको चोरी सिकारी गर्न र निकासी गर्न तिनैले प्रेरित गर्दैछन् । आज ती ऐयासीहरूका देशबाट आएको कोरोना महामारीबाट विपन्न गरिब र सर्वसाधारणले दुःख पाएका छन् ।
मानिस मांसाहारी प्राणी होइन । प्रकृतिले मानिसलाई हिंस्रक बन्ने अनुमति दिएको छैन । हिंस्रक जनावर पनि पेट भर्नका लागि मात्रै हिंसा गर्दछन् । प्रकृतिको अति दोहन गरेर अकुत अतिरिक्त आर्जन गर्ने प्रतिस्पर्धाले पृथ्वीको स्वरूपलाई बिगारेको छ । प्रकृति मैत्री बन्न सकेन प्रभुत्ववाद । प्रभुत्ववादभित्रको अस्वस्थ र दुस्मनीपूर्ण प्रतिस्पर्धाले मानव जातिका बीच विग्रह मात्रै पैदा गरेन प्राकृतिक सम्पदा र जीवन पद्धतिलाई बिगारिदियो । जीवन पद्धतिमा देखा परेको यो विकृति र विसङ्गतिको परिणाम हो कोरोना । कोरोना प्रभुत्ववादका विरुद्धको विद्रोह हो । यही विद्रोहको बीचमा प्रकृतिले सुस्ताउने अवसर पाएकी छन् ।
पृथ्वीको पनि आफ्नै विकासवादी सिद्धान्त छ । मानिसको भौतिक विकास द्वन्द्वमा अडेको छ । त्यस्तै पृथ्वीको गर्भभित्र पनि द्वन्द्व छ भन्नेकुरा पनि बिर्सनु हुँदैन । प्रकृतिको आन्तरिक द्वन्द्वमा अवरोध हुँदा प्रतिक्रिया पैदा हुनु स्वाभाविकै हो । समुद्रभित्र शक्तिशालीधार चलायमान छन् । पृथ्वीको भित्री तह पग्लेको छ । त्यसमा पनि चलायमान धार गतिशील हुनु स्वाभाविकै हो । पृथ्वीभित्रका शक्तिशाली गतिशील तरङ्गले बेलाबखत पृथ्वीको सतहमा उथल्पुथल ल्याइदिन्छन् । कुनै युगमा टेथिस सागरभित्रको भूभाग विश्वको सर्वोच्च शिखर सगरमाथाको नामले चर्चित छ । हाम्रा यी उच्च हिमशिखरहरू समुद्रका सन्तान हुन् भन्दा कतिलाई विश्वास नहुन सक्छ । कुनै दिन पृथ्वीको आयु पनि पूरा हुनेछ ।
मानिसको जीवन छोटो छ । सोचाइ पनि छोटै छ । पृथ्वीको लामो आयुको मापन गर्न सोचाइ लामै हुनुपर्छ । अलि परसम्मको कुरा सोच्ने र देख्ने फुर्सद छैन मानिसलाई । ‘तातै खाऊँ, जल्दी मरूँ’ को हतारले भविष्य देख्न छाडेको छ आजको मानिसले ।
हामी त्रिकालदर्शी ज्ञानी पुर्खाका सन्तान हौँ । विवेकशील थिए उनीहरू । जीवन पद्धतिलाई प्रकृतिको विकासवादी सिद्धान्त अनुकूल बनाउँदै लगेका थिए । पूर्वीय जीवन दर्शनको विकास गरिसकेका थिए हजारौँहजार वर्षपहिले । हाम्रो जीवनशैली मानवीय चर्चा, संस्कार संस्कृति ‘तमसोमा ज्योतिर्गमय’ भन्ने दर्शनमा आधारित हो । पछि बुद्धले पनि ‘बुद्ध्म शरणम् गच्छामि’ भने र शान्ति र अहिंसाको सन्देश दिए विश्वमा । अरनिकोले त्यो बेलाको जमानामा नाङ्गो खुट्टाले हिमालय पार गरे । तिब्बतमा सुनौलो गुम्बा बनाएर आफ्नो कला प्रदर्शन मात्रै गरेनन् नेपालको मान र सम्मानलाई उँचा गरे । चीनको राजधानीमा पुगेर ऐतिहासिक श्वेतचैत्य बनाउन सात वर्ष लगाएर । बौद्ध दर्शनको प्रचार गरे । हाम्रो जीवन दर्शन यिनै उच्च आदर्शको धरातलमा खडा छ । त्यसैले सबै प्रकारका महामारीको असर कमै पर्ने गरेको छ शान्तिभूमि नेपालमा । हाम्रा वैज्ञानिक आदर्शलाई युगसापेक्ष परिमार्जित र विकसित गर्ने दायित्व युगले हामीलाई सुम्पेको छ । तर हाम्रा राम्रा उच्च आदर्शबाट विचलित हुँदै छौँ । विर्सदै छौं पुर्खाको गौरवमय गाथा र असल परम्परालाई ।
विश्वमा कोरोना भाइरसजस्तै खतरनाक भाइरसले करोडौं मानिसको ज्यान लिइसकेको छ । स्पेनिसफ्लु, स्वायनफ्लु र इबोला, एड्स, प्लेग जस्ता घातक महामारीबाट हाम्रो आफ्नै आदर्श जीवनशैली रहन सहन हावा पानी र खानपानले बचाएको हो । पश्चिमा जीवन शैलीले प्रभावित ग¥यो पछिल्लो पुस्तालाई । उत्तर आधुनिकताको अनुशरण गर्न लालायितहरू उनीहरूकै दरबारको वरिपरि पुगे । अरूको वैभवमा रमाउने पुस्ता अहिले कोरोनाको कहरले छट्पटाइरहेको छ । देशको माया मारेर उतै रमाउनेहरूले पनि देशको माटो सम्झिन थालेका छन् ।
डार्विनले विकासवादी सिद्धान्तको प्रतिवादन गर्नुभन्दा पहिलेनै बुद्धले भौतिकवादी सोचको विकास गरेका थिए । परिवर्तन र विकास निरन्तर चल्ने प्रक्रिया हो । चल्दै आएको छ र चल्दै जाने छ । यो गतिमा छ र विकासवान् छ । डार्विनले सन् १८५९ मा ‘जातिको उद्भव’ भन्ने कृति प्रकाशित गर्दै विकासवादी सिद्धान्त स्थापित गरे । प्रत्येक जातिको नैसर्गिकवरण (Natural Selection) हुन्छ भन्ने सिद्धान्त स्थापित गरे । प्राणी जगत् र वनस्पतिले आफूलाई प्रकृति अनुकूल बनाउँदै लैजान्छ । त्यो नियमका विपरीत अप्राकृतिक क्रियाकलाप गर्नेलाई समय समयमा प्रकृतिले सजाय दिन्छ ।
मानिससित जीवन छ । जीवनले मृत्यु साथै लिएर हिँडेको छ । त्यस्तै मानव शरीरभित्र जीवनलाई निरन्तरता दिन मित्र जीवाणु गतिशील छन् । त्यसका विपरीत प्रतिरोधी शत्रुपनि लुकेर बसेका छन् । दुवै गतिशील जीवाणुबीच द्वन्द्व चलिरहन्छ । भाइरस र मानिसभित्र अन्तर्निहित प्रतिरोधी जीवाणु बीच युगौंदेखि संघर्ष चल्दै आएको छ ।
हाम्रो बाहिरी परिवेश र परिस्थितिले आन्तरिक अबस्थामा असर गर्छ । जलवायु परिवर्तनले जीवजन्तु र वनस्पति जगतमा असर गर्छ । क्रिस पाटन भन्छन्, ‘प्रत्येक मानिस र उनीहरूको शत्रुसँग फरक फरक विकासवादी रणनीति छ । मानिसहरू धेरै बलियो र धेरै प्रतिरोधी क्षमता भएका मानिस हुन् । तर भाइरस र ब्याक्टेरियाहरूसँग गतिशील र अनुकूल क्षमता हुन्छ । तिनीहरूमा मानिसमा भन्दा क्रूरताका साथ शोषण गर्न सक्ने क्षमता हुन्छ ।’ मानिस र भाइरस बीच सङ्घर्ष निरन्तर चल्दैआएको छ । मानिसले नयाँ नयाँ खोप सिर्जना गर्छ त्यो भन्दा शक्तिशाली बनेर अर्को भाइरस मानिसलाई आक्रमण गर्न आउँछ ।
आज विश्व मानव जाति र कोभिड–१९ बीच भीषण युद्ध चलेको छ । मानिस कोरोनाको डरले घरभित्र लुकेको छ । मानवसिर्जित विषाक्त प्रदूषण कम हुँदै गएको छ । जलवायुमा गुणात्मक सुधारको सङ्केत देखिएको छ । सफा र शान्त समुद्र, नीलो आकाश, हरिया पहाड, सुकिला हिमशृङ्खला, धुवाँ, धुलो, तुँवालो रहित आकाश शान्त वातावरणमा पृथ्वी सुस्ताएकी छन् । वनस्पति र वन्यजन्तु ढुक्कले रमेका छन् । चराचुरुङ्गीलाई कुनै भय छैन मानिसको । धरा शान्त छन् । धराको अनुहार खुसी र हँसिलो छ । कोरोना प्रदत्त उपहार हो यो । मानिस कोरोनाको कैदमा कहर काट्दैछ । पृथ्वी सुस्ताएकी छन् यतिखेर ।
Comment Here