प्रेस-वक्तव्य


एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Unified Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस-वक्तव्य

ओखलढुंगाको ठूलाछाप गाविस्थित निसंखे भञ्ज्याँङ्गमा हिजो राति अज्ञात हतियारधारी समूहले धारिलो हतियार प्रयोग गरी आक्रमण गर्दा गम्भीर घाइते हुनुभएका एमालेका अञ्चल समिति सदस्य छविलाल कार्कीको उपचारको क्रममा निधन भएको खबरले हामीलाई दुःखित बनाएको छ ।

देशका विभिन्न भागमा भइरहेका राजनीतिक पार्टीका कार्याकर्ताको श्रृङ्खलाबद्ध हत्याको पछिल्लो कडीका रूपमा यो हत्या भएको छ । शान्तिप्रक्रिया यता हाम्रो पार्टीका समेत ७० जनाभन्दा बढी राजनीतिक कार्यकर्ताको हत्या भइसकेको छ । प्रायजसो हत्यामा संलग्न अपराधीहरूलाई कारबाही नगरिनु र उल्टै सरकारी संरक्षण प्राप्त हुनुले पनि मुलुकभर यस्ता अपराधका घटना बढेका छन् । जनताको जीउधनको सुरक्षा गर्न सरकार पूर्णतः असफल देखिएको छ ।

केन्द्रमा नयाँ राष्ट्रिय सहमतिको लागि प्रयास तीब्र भइरहेको बेलामा यसरी देशको एउटा महत्वपूर्ण राजनीतिक दलको कार्यकर्ताको हत्या हुनुका पछाडि धमिलो पानीमा माछा मार्न चाहने सहमतिविरोधी तत्त्वहरूको हात हुनसक्नेतर्फ हामी बेलैमा सचेत हुनुपर्दछ ।

कतिपयले उक्त हत्यकाण्डमा हाम्रो पार्टीलाई मुछ्ने दुस्प्रयास गरेको भन्ने सुनिन आएको छ । त्यस्तो प्रचार राष्ट्रिय सहमति बन्न नदिन अहोरात्र जुटिरहेका प्रतिगामी दलाल तत्वहरूको षड्यन्त्रको हिस्सा हो भन्ने हाम्रो ठहर छ । उक्त हत्यामा हाम्रो पार्टीको संलग्नता हुन नसक्ने र नरहेको स्पष्ट पार्दै पार्टी उक्त प्रचारको घोर निन्दा एवम् भत्र्सना गर्दछ ।

यस्ता हत्यालाई आग्रह-पूर्वाग्रह बोकेर राजनीतिकरण गर्दा वास्तविक अपराधी उम्कने र अपराधीको मनोबल बढ्न जाने हुँदा यस्तो कार्य तुरुन्त बन्द गरी हत्यामा संलग्नहरूलाई कानुनको दायरामा ल्याउन पनि हामी सरकारसित माग गर्दछौं ।

२५ असार, २०६७

दीनानाथ शर्मा

प्रवक्ता