एकीकृत माओवादीले भारतीय दुतावासमा बुझाएको विरोध पत्र


एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

Unified Communist Party of Nepal (Maoist)

केन्द्रीय समिति

Central Committee

महामहिम राजदूत,

भारतीय दुतावास, लैनचौर, काठमाडौं ।

विषयः विरोध पत्र ।

महाशय,

हामी दुई छिमेकी मुलुकहरू नेपाल र भारतबीच लामो समयदेखि कुटनैतिक सम्बन्ध रही आएको छ र जनस्तरमा समेत घनिष्ट सम्बन्ध छ । हाम्रो पार्टी, नेपाल र नेपाली जनता हामी दुई देशहरूको बीचमा सुमधुर एवं असल मैत्री सम्बन्ध विकास होस् भन्ने चाहान्छ र त्यसदिशामा प्रयत्नरत छ । दुई सार्वभौम देशको बीचमा पारस्परिक सम्मान र समानताका आधारमा हुने सम्बन्ध एवं व्यवहारले नै दुई छिमेकीको बीचमा हामीले अपेक्षा गरे अनुसारको असल मैत्री सम्बन्धको विकास र सुदृढीकरण हुन सक्दछ । त्यसप्रकारको सम्बन्ध दुवै देशको हितमा हुनेछ । तर त्यसको विपरित नेपाल र नेपाली जनताले भारतद्वारा नेपालको राष्ट्रिय सार्वभौमिकता एवं स्वाधीनताका विरुद्ध उत्पीडन एवं हस्तक्षेपको अनुभूति गर्न परिरहेको दुःखद स्थिति विद्यमान छ । नेपाल अहिले राजतन्त्रको अन्त्य एवं गणतन्त्रको स्थापना जस्ता युगान्तकारी परिवर्तनहरूसहित ऐतिहासिक संक्रमणलीन अवस्थाबाट गुजि्ररहेको अवसरमा नेपाली जनता चाहन्छन्, नेपाल र भारतबीचको सम्बन्धमा रहेको यो दुःखद स्थितिलाई अन्त्य गरी हाम्रो सम्बन्धलाई गुणात्मक रूपमै नयाँ आयाम दिन सकियोस् । हामीले भारतबाट यस दिशामा नयाँ शीराबाट सकारात्मक ढंगले सोचिनेछ भन्ने अपेक्षा गरेका हौं । तर दुःखका साथ भन्नु परिरहेको छ, भारत जस्तो छिमेकी मुलुकबाट अहिले पनि हामीले नयाँ आधारमा नयाँ सम्बन्ध होइन, पुरानै उत्पीडन र हस्तक्षेपको कटु व्यवहारको निरन्तरता पाइरहेका छौं ।

यस परिवेशमा हालै मात्र नेपाल स्थित भारतीय राजदुतावासका काउन्सिलर  सुब्रत दासद्वारा हाम्रो पार्टीको केन्द्रीय समितिका सदस्य एवं संविधानसभाका सदस्य माननीय रामकुमार शर्माप्रति गरिएको अपमानपूर्ण, अभद्र एवं घम्कीपूर्ण अभिव्यक्तिजन्य व्यवहारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । काउन्सिलर सुब्रत दासद्वारा रामकुमार शर्मालाई आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्रीका उम्मेद्वारलाई विजयी बनाउने उद्देश्यका साथ गर्नुभएको प्रचार अभियानप्रति आपत्ति प्रकट गर्दै त्यसलाई बन्द गर्न धम्की दिइएको, सभासद पदबाट हटाउने पत्र पठाइने जस्तो आफ्नो कार्यक्षेत्रसँग विल्कुल असम्बन्धित कुरा गरिएको र अपहरणसम्म गर्न सकिने चेतावनी दिइएको कुरा सार्वजनिक भइसकेको छ । त्यतिमात्र होइन भारतीय राजदतावासद्वारा सञ्चालित केन्दीय विद्यालयमा अध्ययनरत शर्माकी छोरीलाई विद्यालयबाट निस्काशन गरिने “निर्णय”समेत भइसकेको ँजानकारी’’ गराइयो । एउटा कुटनीतिक निकायको जिम्मवार व्यक्तिबाट भएको यो कार्य कुटनीतिक सीमा एवं मर्यादाको घोर उलंघन हो । यसबाट सार्वभौमसत्ता सम्पन्न नेपालको संविधानसभा, व्यवस्थापिका-संसदको अपमान, नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि ठाडो चुनौति र नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गर्ने दुःसाहस भएको स्पष्ट हुन्छ । त्यसैकारणले व्यवस्थापिका-संसदको अन्तर्राष्ट्रिय तथा मानवअधिकार सम्बन्ध समितिले यस विषयलाई गम्भीरतापूर्वक लिई राजदुतावासको सम्बन्धित कर्मचारीलाई देश निकाला गर्न सरकारलाई निर्दैशन दिइसकेको तथ्य पनि सार्वजनिक भइसकेको छ ।

महाशय, हाम्रो पार्टी एकीकृत ने.क.पा. (माओवादी) राजदुतावासका कर्मचारीबाट भएको यस कार्यको तीब्र निन्दा एवं भत्र्सना गर्दछ । र, कुटनीतिक निकायको सीमा एवं मर्यादालाई सम्पूर्ण रूपमा उलंघन गरी गरिएको यसप्रकारको कार्यप्रति सम्बन्धित निकायबाट क्षमा याचना गर्न तथा सम्बधित व्यक्तिलाई फिर्ता पठाउन माग गर्दै यो विरोध पत्र प्रस्तुत गर्दछ । हामी आशा एवं अपेक्षा गर्दछौं की भारत सरकारले यो विरोधपत्रलाई गम्भीरतापूर्वक लिनेछ र यस प्रकारका गल्तीहरू सच्याउँदै दुई देशको बीचमा असल मैत्री सम्बन्ध विकास गर्न नयाँ शीराबाट सकारात्मक ढंगले सोच्नेछ ।

अन्त्यमा, हाम्रो लागि नेपालको राष्ट्रिय सार्वभोमिकता, भौगालिक अखण्डता र स्वाधीनताको रक्षा सर्वाेपरी रहेको छ । तर साथसाथै हाम्रो पार्टी नेपाल र भारतको बीचमा पारस्परिक सम्मान र समानतामा आधारित असल मैत्री सम्बन्ध विकास गर्न पनि प्रतिबद्ध छ ।

 ०६७ भदौ १

पुष्पकमल दाहाल प्रचण्ड

अध्यक्ष