सातबुँदे पालना नभए खनाललाई पदमा बस्ने नैतिक अधिकार रहँदैन


नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीमा समर्थन गरेको एक महिनामा एनेकपा माओवादी सरकारमा सहभागी भएको   हिजोमात्र माओवादीका चार जना नेता सरकारमा सहभागी भएका हुन्  पार्टीभित्रै सरकारमा कसकसलाई पठाउने भन्ने विवाद सुल्झिन नसकेकाले  माओवादीका तर्फबाट सरकारमा सहभागी हुने ११ जना मन्त्री सहभागी हुने भनिए पनि चार जनाको मात्र शपथ हुन सकेको हो  तर माओवादीका प्रवक्ता दीनानाथ शर्माले भने नेताहरूको व्यस्तताका कारण सरकारमा जाने सबै व्यक्तिहरूको टुंगो लगाउन नसकेको दाबी गरेका छन्  माओवादी स्थायी समिति सदस्य शर्मा २०५५ मा नेकपा मसाल हुँदै माओवादीमा प्रवेश गरेका हुन्  अन्तरिम व्यवस्थापिका संसद्मा आफ्नो दलको सचेतकका रूपमा समेत काम गरिसकेका शर्मा दलका प्रवक्तासमेत हुन्   सरकार विस्तारमुख्य कार्यभारलगायतका विषयमा शर्मासँग कारोबार दैनिकका लागि राजनीतिक ब्युरो प्रमुख बलराम पाण्डे  संवाददाता पवनवर्षा शाहले गरेको कुराकानीको अंशः

प्रधानमन्त्री चयन भएको एक महिनापछि मात्र बल्ल सरकारमा सहभागी हुनुभएको   अझै ११ जना मन्त्रीको टुंगो लगाउन सक्नुभएनकिन ?

हामीले पहिलो चरणमा चार जनालाई मात्र सरकारमा पठाउने निर्णय गरेका छौं । पार्टीका शीर्षस्थ नेताहरूको जिल्लामा विभिन्न कार्यक्रम भएकाले आन्तरिक छलफल गर्न पाएनौं । अझै पनि बैठकमा केन्द्रित भएर सबै कुरा टुंग्याउन सकेका छैनौं । तर पनि चार जना पठाएका छौं । अब एक दुई दिनमा बाँकीलाई पनि पठाउँछौं । आन्तरिक कार्यव्यस्तताका कारण नै सबैलाई पठाउन नसकिएको हो ।

एक महिनासम्म निरन्तर छलफल गर्नुभएको होइन  ?

पछिल्लो चरणमा हामीले पार्टीको बैठक बसेर जिल्ला–जिल्लामा कार्यक्रम तय गरेका थियौं । जिल्लाका कार्यक्रमले गर्दा हामी जिल्लामा बढी व्यस्त भयौं । त्यसैले पनि निरन्तर छलफल गर्न पाइएन ।

कुन नेता निकटका व्यक्तिहरू पठाउने भनेर विवाद भएका कारण नै सबै मन्त्रीहरूको टुंगो नलागेको भन्छन् ?

चर्चा धेरै हुन्छन् । तर हामी निर्णय गर्दा एकमतले गर्छौं । लोकतान्त्रिक पार्टीहरूमा कुनै पनि विषयमा व्यापक छलफल हुनु लोकतन्त्रको सुन्दरता हो । छलफललाई मिडियाले विवाद भने प्रचार गर्छन् । त्यसप्रकारको छलफल विवाद होइन । अहिले लोकतन्त्र कमजोर हुनुको प्रमुख कारण छलफललाई विवाद भनिनु पनि हो । माओवादीमा कुनै विवाद छैन । सरकारमा को जाने कसलाई पठाउने भन्ने विषयमा छलफल मात्र भएको हो ।

सरकारमा जानु महत्वपूर्ण होइन भन्नुहुन्थ्यो तर जाने बेलामा  संसद्वादी पार्टीलाई पनि पछाडि पार्न लाग्नुभएको  ?

त्यो अतिरञ्जित कुरा हो । तर धेरैको नाम आउनुको अर्थ हाम्रो पार्टीभित्र नेतृत्वका लागि एक से एक ऊर्जाशील नेताहरू हुनुहुन्छ भन्ने कुराको संकेत पनि हो । यो राम्रो हो । यसले हाम्रो पार्टीमा सरकार हाक्न सक्ने एक डेढ सय व्यक्ति छन् भन्ने सन्देश दिन्छ । त्यो खुसीको कुरा हो । तर हामीले छान्दा एक मतले छान्छौं । आन्दोलनमा रहेका साथीहरूको अपेक्षा हुनु अन्यथा होइन । तर छान्ने काम स्थायी समितिले गर्छ । हामीले  ११ मन्त्रालय लिने हो । अहिले चारवटा मात्र मन्त्रालय लिएका छौं । अहिले बाहेकका खेलकुद, महिला बालबालिका तथा समाजकल्याण लगायतका मन्त्रालय हाम्रो लागि नै छुट्टयाइएको छ ।

सरकारमा जाने व्यक्ति स्थायी समितिबाटै छान्नुभयो तर पदाधिकारीबाट चयन गर्न किन सक्नुभएन् ?

हामीले संगठन र पार्टीका आन्तरिक काम गर्नका लागि भनेर स्थायी समितिबाट पठाएको हो । हामीले नै नेतृत्व गर्ने अवस्था भएको भए पदाधिकारीबाट नै पठाउथ्यौं । आफ्नो नेतृत्व नभएपछि तलबाट पठाउँदा नयाँलाई अनुभव हुन्छ भन्ने लागेर पठाएको हो ।

कि सरकार लामो समय टिक्दैन भन्ने निष्कर्ष निकालेर हो ?

यो सरकार शान्ति र संविधान सुनिश्चित गर्ने बेलासम्म जान्छ । नयाँ संविधान बनेपछि अर्को सरकार नबनेसम्म यो सरकार रहिरहन्छ । मधेसवादी दलहरू पनि सरकारमा सहभागी हुने अवस्था आउँछ । यो सरकारको भर्खरै  ढल्ने अवस्था छैन ।

सरकारमा जानका लागि एक महिना ढिला गर्नुको मुख्य कारण के हो ?

हामीले ढिला गरेको होइन । हामी त तुरुन्त सरकारमा जान तयार थियौं । जुन धरातलबाट सरकार बन्यो त्यसैलाई भत्काउने प्रयास भयो । धरातलको एमाले पार्टीभित्रैबाट विरोध भयो । एमाले पार्टीभित्रको विवादका कारण सरकार विस्तारका लागि एक महिना ढिला भएको हो ।

एमालेले  सातबँुदे सहमति संशोधन गरेर गृहमन्त्रालय पनि तपाईंहरूलाई नदिने निर्णय गरेको अनि ?

गृहमन्त्रालय एनेकपा माओवादीलाई दिने भनेर सहमति भएको हो । तत्काल सरकार बनाउनका लागि केही समय गृहमन्त्राय मैले राख्छु भनेर प्रधानमन्त्रीले आग्रह गरेपछि हामी सहमत भएका हौं । सरकार निर्माणका लागि प्रधानमन्त्रीलाई सहज होस् भनेर हामीले वातावरण सहजीकरण गरिदिएको हो । गृहमन्त्रालयका कारणले सरकार विस्तारमा ढिलाइ भएको होइन । सातबुँदे सहमतिमा एमाले प्रतिबद्ध हुने कि नहुने भन्ने कारणले समस्या उत्पन्न भएको हो । पछिल्ला दिनमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनालले सातबुँदे सहमतिमा हामी प्रतिबद्ध छौं केही समयपछि गृहमन्त्रालय दिन्छु भनेपछि हामी सरकारमा सामेल भएका हौं ।

माओवादीका कारण सरकार विस्तारमा ढिला भएको होइन । एमालेभित्रको विवादका कारण सरकार विस्तारमा ढिलाइ भएको हो ।

भनेपछि प्रधानमन्त्रीको नै कमजोरी भएको हो ?

प्रधानमन्त्रीको कमजोरी देखाउन प्रयत्न भएको छ । तर अहिलेसम्मका प्रधानमन्त्रीमा उहाँ शक्तिशाली प्रधानमन्त्री पनि हो । किनभने माओवादीले समर्थन गरेको छ ।

आफू कमजोर हुने कि कठोर भन्ने कुरा प्रधानमन्त्रीले निर्णय गर्ने हो । तर स्वयं एमालेको विधानमा पनि निर्वाचित अध्यक्षलाई हटाउने या कारबाही गर्न पाउने अधिकार छैन । त्यसकारण उहाँ आफ्नो पार्टीभित्र पनि जननिर्वाचित अध्यक्ष र संसद्बाट पनि जननिर्वाचित प्रतिनिधिहरूको शक्तिशाली समर्थन गरेको व्यक्ति कमजोर हुन सक्दैन ।

एमालेले सातबुँदे सहमति संशोधन ¥यौं भनेको   तपाईंहरू सातबुँदे सहमति पूर्ण कार्यान्वयन हुन्छ भनेर सरकारमा सहभागी हुनुभएको  जनताले के बुझ्ने ?

दुइटा पक्षका बीचमा भएको लिखत सहमतिलाई एउटा पक्षले सच्याउने किर्ते काम गर्न पाइँदैन । त्यसलाई केरमेट गर्ने कामसमेत गर्न पाइँदैन । संशोधन गर्ने अधिकार एकपक्षलाई छँदै छैन । दुई पक्षबीच भएको सम्झौता पालना गर्न तयार नहुने हो भने झलनाथ खनाल एकछिन पनि प्रधानमन्त्रीमा बसिरहन नैतिक अधिकार हुँदैन । तुरुन्त राजीनामा दिनुपर्छ ।

किनभने दुईपक्षबीच भएको सहमतिको धरातलमा टेकेर उहाँ प्रधानमन्त्री हुनुभएको हो । सहमतिलाई केरमेट गर्नु, थपघट गर्नेजस्ता रकमी किर्तेहरू अहिले चल्दैन ।

झलनाथ खनाललाई समर्थन गर्ने पार्टी निर्णयविरुद्ध तपाईंहरूले नोट अफ डिसेन्ट लेख्नुभयो तर अहिले त्यही सरकारमा जान तँछाडमछाड गर्नुभएको  किन ?

हामीले झलनाथ खनालको विरोध गरेका होइनौं । हामीले एक महिनासम्म विवादमा रहेका विषयहरूको त्यहीदिन टुंगो लगाउनुपर्छ भनेका हौं । विभिन्न समयमा भएका सहमतिको कार्यान्वयनका विषयमा स्पष्ट पारौं भनेका थियौं । तर झलनाथ खनाल प्रधानमन्त्री हुनुहुँदैन भनेर विरोध गरेका होइनौं । सबै कुराको टुंगो नलागी प्रधानमन्त्री चयन नगरौं भनेर मात्र नोट अफ डिसेन्ट लेखेका हौं ।

अध्यक्ष पुष्पकमल दाहालको विकल्प दिएको भए माओवादी नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै किन तपाईंहरू विकल्पका लागि तयार नहुनुभएको ?

हाम्रो त्यतिबेला पनि स्पष्ट असहमति के हो भने स्वयं दाहाललाई नै जिताउन सकिन्थ्यो भन्नेमा हामी अडिग थियौं । उहाँलाई हामी  नछाड्नुस् भनेका थियौं । हाम्रो पार्टी ठूलो पार्टी भएकाले पनि उम्मेदवारीलाई अहिले आजै फिर्ता नगरौं भनेर भनेको हो । यस्तो प्राविधिक कुरामा हाम्रो असहमति हो तर बाहिर झलनाथ खनालको विरोध गरेजस्तो भयो ।

हाम्रो पार्टीको अध्यक्षलाई त्यही दिन उम्मेदवारी फिर्ता नगरौं भनेर भनेको हो । त्यसपछि निर्वाचनमा जाने भनेपछि एकमतले झलनाथ खनाललाई मतदान गरेको हो ।

तपाईंहरूले पछि पनि गृहमन्त्रालय नपाए के गर्नुहुन्छ ?

गृहमन्त्रालय सहमतिअनुसार पाइन्छ । हामीलाई विश्वास छ ।

यो सरकारको मुख्य कार्यभार के हुन्छन् ?

यो सरकारका तीनवटा मुख्य कार्यभार हुन् । सातबँुदेमा स्पष्ट पारिएको छ । शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने, निर्धारित समयमा संविधान जारी गर्ने, देशको अग्रगामी परिवर्तनका लागि देश र जनताको हितमा काम गर्ने ।

तर शान्ति प्रक्रियाको एउटा पाटो नेपाली कांग्रेस अहिले बाहिर बसेको  यस्तो अवस्थामा शान्ति प्रक्रिया निष्कर्षमा पुग्ला ?

यी कुराहरू सहमतिबाट टुंगो लाग्ने हो । पहिले शान्ति प्रक्रिया चाहने कि नचाहने भन्ने प्रश्न आउँछ ? सरकार एउटा पाटो हो । यो आउने जाने हुन्छ । यसमा विवाद पनि हुन्छ । सरकारमा को जाने प्रतिपक्षमा को रहने भन्ने विषयमा विवाद हुनु स्वाभाविक पनि हो । त्यो  लोकतन्त्रको सुन्दरता पनि हो । तर शान्ति प्रक्रियाप्रति सबै प्रतिबद्ध हुनुपर्छ । नेपाली कांग्रेस पनि शान्ति प्रक्रियाप्रति प्रतिबद्ध हुनुपर्छ ।

हामीले झलनाथ खनाललाई राजनीतिक सहमति कायम गर्नुस् भनेर भनेका छौं । कांग्रेसलाई पनि सहमतिमा ल्याएर सहमति कायम गराउनुस् भनेर भनेका छौं । कांग्रेसका साथीहरू संयम् र लोकतन्त्रको लामो लडाइँ लडेका छन् । शान्ति प्रक्रियामा उसले बाधा पु-याउँदैन ।

माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा प्रतिपक्षमा बसेर तपाईंहरूले शान्ति प्रक्रियाका काम पनि अघि बढ्न नदिनुभएको होइन  ?

हामीले उहाँलाई शान्ति प्रक्रियाका विषयमा सहयोग गरेको हो । शिविरमा रहेका जनसेना विशेष समितिको मातहत ल्याउन, अयोग्य लडाकु बाहिर निकाल्न सहयोग गरेकै हो ।  सरकारको चरित्रअनुसार मात्र हामीले विरोध गरेका हौं ।

कांग्रेसले सातबँुदे खारेज भएमा नयाँ सहमतिका लागि तयार हुन सकिन्छ भनेको   सहमतिका लागि सातबुँदे खारेज हुन सक्छ कि सक्दैन ?

लोकतन्त्रमा प्रतिपक्षले विरोध गर्नु स्वाभाविकै हो । त्यसैले त्यस्ता विरोधले आकाशै खस्छ भन्नुहुँदैन । प्रतिपक्षको धर्म विरोध गर्नुनै हो । सत्तापक्षले विश्वासमा लिने हो । हामी प्रयास गर्छौं ।

अब जेठ १४ मा संविधान जारी होला  ?

हुन्छ । ८५ प्रतिशत काम पूरा भइसकेको छ । एनेकपा माओवादी प्रतिपक्षमा बसेको बेला ८० प्रतिशत काम भएको छ । कार्यदलले धेरै विषयको टुंगो लगाएको छ । त्यसमा पनि विधि तय गरेमा टुंगो लगाउन सकिन्छ । मिल्न नसकेका कतिपय राष्ट्रिय मुद्दामा जनमत संग्रह गर्न सकिन्छ भनिएको छ । तर त्यस्तो अवस्था अहिले छैन । नेपालका दलहरू जति नमिलेको देखिन्छ त्यत्तिकैभित्र मिलेका पनि छन् । अब तीनवटा महत्वपूर्ण विषय मिलेमा जेठ १४ भित्र सैद्धान्तिक सहमति भएमा संविधान जारी हुन्छ । .

त्यसोभए पहिले शान्ति प्रक्रिया कि संविधान ?

यो पहिले चल्ला कि कुखुरा भनेजस्तै हो । यो सिक्काका दुइटा पाटा हुन् । त्यसैले सँगसँगै अघि बढाइएको छ । शान्ति र संविधान सँगसँगै हुन्छ । अहिले शान्ति र संविधानका विषय आफ्नै किसिमले अघि बढेको छ ।  राजनीतिक सहमति कायम भएपछि सहमतिको आधारमा सेना समायोजन गर्न सकिन्छ ।

भनेको संविधान जारी भएपछि पनि सेना समायोजन गर्न सकिन्छ ?

त्यो पनि हुन सक्छ । विश्वका कतिपय मुलुकमा संविधान जारी भएको धेरै वर्षपछि सेना समायोजन भएको छ । कैयौं स्थानमा अलग्गै राखिएको पनि छ । त्यो आपसमा सहमतिमा टुंगो लगाउन सकिन्छ ।

विस्तृत शान्ति सम्झौताअनुरूप  महिनामा टुंगो लाग्नुपर्ने कुरा किन लम्ब्याइरहनुभएको हो ?

पहिलो कुरा ६ महिनामा सेना समायोजन भन्ने विषयमा व्यावहारिक थिएन । किनभने अन्य मुलुकको द्वन्द्व व्यवस्थापन गर्न दसौं वर्ष पनि लागेको छ । नेपालमा थोरै समयमा धेरै काम पनि गरेका छौं । नेपालमा छोटो समयमा शान्ति प्रक्रियाको काम भएको छ भन्ने सन्देश पनि गएको छ ।

संविधानसभामा माओवादी सबैभन्दा ठूलो पार्टी भएकाले नै सेना समायोजन समयमै गर्न नसकिएको हो । त्यसलाई अन्य दलहरू स्वीकार गर्न तयार भएनन् । माओवादी सरकार बन्यो । त्यसलाई हटाउन कसरत भए । माओवादीका हरेक कामको विरोध गर्ने काम भयो । त्यसैले पनि समयमा समायोजन हुन सकेन ।

सरकार गठनका बेला वाम गठबन्धन भएपछि अहिले लोकतान्त्रिक मोर्चाको कुरा उठेको   यसले दलहरूबीच धु्रवीकरण हुँदैन ?

प्रतिगामीहरूले लोकतान्त्रिक गठबन्धनको चर्का कुरा गरेका छन् । इतिहासको विभिन्न कालखण्डमा लोकतन्त्रको पिँठ्युबाट छुरा गोप्ने व्यक्तिहरू लोकतान्त्रिक गठबन्धनको चर्को कुरा गरेका छन् ।

नेपालमा ६२ प्रतिशत मत वामपन्थीहरूलाई आएको छ । त्यो कुरा उनीहरूले पनि बुझ्नुपर्छ । जनमतलाई सबैले सम्मान गर्न सक्नुपर्छ । दिमागमा अधिनायकवाद बोकेर लोकतन्त्रका नारा लगाउनुहुँदैन । ६२ प्रतिशत जनमतको सम्मान गर्ने कि नगर्ने ?

अन्तमा ,यो सरकार कहिलेसम्म रहन्छ ?

यो सरकार नयाँ संविधान निर्माण गरेर नयाँ सरकार गठन हुने अवस्थासम्म यो सरकार रहन्छ ।