मैले पुनर्जन्म पाएँ


मेरो युग विज्ञान र प्रविधिको युग । युगको साक्षी बनेर यात्रा गर्दैछ । जीवनको बाटो नाप्दै । म जन्मिने ताका मेरो धरती निकै विशाल थियो । विशाल धरतीमा पाइला टेक्न पाउँदा म औधी प्रसन्न थिएँ । उमेरको सिँढी चढ्दै खुला आँगनमा हजुबाको काखमा सुतेर नीलो आकाशमा टिलपिल टिलपिल गर्ने नौलाखे तारा गन्दा आकाश र धरतीको उचाईं नाप्ने रहर जागेर आउँथ्यो र चन्द्रमाको घरमा लुसुक्क छिरौं छिरौं हुन्थ्यो । कल्पनाको संसारमा उतै भुसक्कै निदाइ दिन्थेँ हजुरबाको न्यानो काखमा । मेरी धरती निकै विशाल लाग्थ्यो । गह्र र ताराहरु कता हो कता !

विज्ञान र प्रविधिको विकासले आज मेरो आँखाले पृथ्वीलाई एउटाा सानो विन्दुको रुपमा देख्न थालेको छ । विशाल सौर्यमण्डलबीच मेरो क्षितिज फराकिलो बन्दैछ तर ज्ञान चेतना भने झनपछि झन खुम्चिएको छ पृथ्वी खुम्चिएर सानो विन्दु भएझैं । कहिलेकाहीँ लाग्छ जीवन केवल ज्ञान साधनाको लागि मात्रै हो । छोटो जीवन र अल्पचेतको बीचको द्वन्द्वबाट अघि बढ्दैछु म पनि । मलाई केही दिएर छाड्न रहर पलाउँछ पछिल्लो पुस्ताको लागि । सुदामाको पोल्टामा केही हुँदैन उदात्त चित्तले पस्क्यो भने । एक मुठी सातु पनि उत्तम उपहार बनेको थियो रे कुनै बेला । यो सुदामाको सातु बन्नेछ सानो प्रयो भन्ने विश्वासमा छु ।

१३ वर्ष पहिले प्रविधिको नयाँ उपहार वेवसाइटमार्फत सार्वजनिक गर्न खोजेको थिएँ आफुलाई तपाईहरुको अगाडि पस्किन । तर दुखका साथ भन्नुपर्छ त्यसले निरन्तरता पाउन सकेन । मलाई थाहा छैन त्यो बेफुर्सदिले भयो वा उपेक्षा भावले ।

चेतनाको पछिल्लो पुस्ता छोरा राजनले हराउनै आँटेको पेजलाई खोजी खन्तरी गरेर मेरो अतितका पदचिन्हलाई पुनः एकपटक जगाएर ठूलो गुन लगाएका छन् । म औधी खुशी छु यो पुनित कामबाट । आजबाट यसले पुनर्जन्म पाएको छ ।

मेरो वेव विचार र भावना र घटनाक्रमको चोखो निर्झरणी हुनेछ समयको । राजन धाइको भूमिकामा छन् । धाइकै लाडप्यारमा यसको संरक्षण भएपनि तपाईहरुको नजर विकास र परिमार्जनको महत्वपूर्ण आधार हुनेछ । तपाईंहरुको सुझाव सल्लाह मेरो शेष जीवनको गुरुमन्त्र बन्नेछ । शुभ बिहानीमा हामी भेटौं है ।

 

२७ कात्तिक, २०७९