अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको एक सय एक वर्ष पुगेको छ । यसपालिको ८ मार्चको सन्दर्भमा विश्वसर्वहारा वर्गको टुकडी एकीकृत नेकपा -माओवादी) मुक्तिकामी महिलाहरूका सङ्गठन र सङ्घर्षशील आमउत्पीडित एवम् श्रमिक महिला दिदीबहिनीहरूमा हार्दिक तथा जुझारु अभिवादन टक्र्याउँछ ।
सामान्यतः नेपाली इतिहासमा जनताले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि चलाएका सबै आन्दोलनमा र खासगरी दसवर्से महान् जनयुद्धमा महिलाहरूले गरेको बलिदान, त्याग, तपस्या र समर्पण अद्वितीय रहेको छ । दुश्मनका जेलनेल र यातनागृहभित्र पनि महिलाहरूले प्रदर्शन गरेको अदम्य साहस एवम् क्रान्ति र पार्टीप्रतिको अटल प्रतिबद्धताले महिलाहरू चानचुने धातुले बनेका मानिस होइनन् भन्ने सिद्ध गरेको छ । नेपाली जनयुद्धको क्रममा कमला भट्ट, ललि रोका, दिलमाया योञ्जनलगायतका हजारौं वीराङ्गनाहरूको बहादुरीपूर्ण सहादत, ४० प्रतिशतभन्दा बढी महिलाको सहभागिता, ऐतिहासिक गोरखा जेलब्रेकलगायतका कीर्तिमानहरू त्यसका प्रमाण हुन् ।
सामन्तवादी र पुँजीवादी समाजमा महिलाहरूले पैत्रिक सम्पत्तिमा अधिकार प्राप्त गरेका छैनन्, उनीहरू क्रूर सामाजिक परम्पराको जाँदोमा पिसिएका छन् र नयाँ-नयाँ सामाजिक-सांस्कृतिक कुप्रथाको शिकार बन्दै छन् । आज स्वास्थ्यप्रविधिको विकाससँगै छोरी हो भन्ने थाहा पाएपछि गर्भमै गरिने हत्या चैतमासाको डढेलो जस्तो डरलाग्दो बन्दैगएको छ । परम्परागत पितृसत्तात्मक सामाजिक परिवेशअन्तर्गत महिलाहरूले अझै नागरिकतासम्बन्धी विभेधको सिकार हुनु परिरहेको छ । छोराछोरीका असली अभिभावक भए पनि आमाको नामबाट नागरिकता दिने कुरामा भएको भेदभाव र पक्षपात २१ औं शताब्दीमा महिला माथिको उत्पीडनको व्यवहारिक अभिव्यक्ति हो । आजको एक्काइसौं शताब्दीमा पनि महिलाहरू दाइजो, बोक्सी, छाउपडी, कम्लरी, देउकीजस्ता मध्ययुगीन प्रथाबाट प्रताडित हुन छाडेका छैनन् । घरायसी काम अझै पनि महिलाहरूको एक्लो जिम्मेवारी बनिरहँदा विकसित देशका महिलाहरू समेत दोहोरो भूमिकाको मारमा परेका छन् । मजदुर-किसान वर्ग र दलित महिलाहरूको हकमा त झन् लिङ्गीय उत्पीडनमाथि वर्गीय र जातीय उत्पीडन थपिँदा हाम्रो जस्तो तेस्रो विश्वका मुलुकमा मातृशिशु मृत्युदरसमेत अत्याधिक रहेको छ । महिलाहरूको पूर्ण मुक्तिको लागि मानवजातिले लामो दूरी पार गर्नुपर्नेछ ।
शान्तिप्रक्रिया, अन्तरिम संविधान र संविधानसभाको प्रक्रियासम्म आइपुग्दा महिलाहरूले ३३ प्रतिशत प्रतिनिधित्व एवम् सहभागिताको ग्यारेण्टी, पैतृक सम्पत्तिमाथि अधिकार र सम्बन्ध विच्छेदको अधिकार संवैधानिक रूपमै प्राप्त गर्नु ऐतिहासिक उपलब्धि हुन्, जसका लागि एकीकृत नेकपा -माओवादी)ले निर्वाह गरेको भूमिका स्वतः स्पष्ट छ । तर, त्यो संवैधानिक प्रावधानलाई ऐननियम, कानुन र व्यवहारमा अनुवाद गर्न सामन्ती प्रतिक्रियावादी सत्ता ठूलो अड्चन बनेकोछ । त्यसैगरी, एकीकृत नेकपा -माओवादी)को नेतृत्वको सरकार रहेको बेला नीति तथा कार्यक्रम र बजेटमा महिलाहरूलाई निःशुल्क प्रसुती सेवा, सुत्केरी भत्ताको व्यवस्था एवम् पाठेघर खस्ने महिलाहरूको निःशुल्क सल्यक्रियासम्बन्धी व्यवस्थाले मातृशिशु मृत्युदरलाई घटाउन उल्लेखनीय भूमिका निर्वाह गरेको छ । महिलाहरूलाई पुरुषसमान कानूनतः मात्रै होइन व्यवहारिक रुपमा समेत अधिकार ग्यारेण्टी गर्न भने ‘जनताको सङ्घीय गणतान्त्रिक’ संविधानको जरुरी छ, जसको लागि एकीकृत नेकपा -माओवादी)ले सदन, सरकार र सडकबाट सङ्घर्ष चलाइरहेको छ ।
साम्राज्यवादको जुवाबाट छुटकारा पाउन सङ्घर्षरत विश्व उत्पीडित श्रमजीवी महिला र पुरुषहरूको विजयलाई दुनियााको कुनै तागतले रोक्न सक्नेछैन । विश्वइतिहासका सङ्गीन मोडहरूमा श्रमजीवी महिलाहरूले शान्ति र अग्रगामी परिवर्तनको पक्षमा खेलेको भूमिका अविस्मरणीय छन् । प्रतिक्रियावादी सत्ता असाधारण क्रान्तिकारी सङ्कटको बीचबाट गुजि्ररहेको आजको हाम्रो देशको सन्दर्भमा जनताको नयाँ संविधाननिर्माण, शान्ति र राष्ट्रिय स्वाधीनताको पक्षमा क्रान्तिकारी महिलाहरूको भूमिका र जिम्मेवारी पनि असाधारण नै हुने कुरामा दुइमत छैन । नयाँ जनवादी व्यवस्थाको स्थापना, सर्वहारावर्गको सत्ता र वर्गीय मुक्तिविना महिला मुक्ति पनि सम्भव छैन । साम्यवादको स्थापना नभइन्जेल निरन्तर क्रान्ति नै महिलामुक्तिको मूलमन्त्र बन्नुपर्छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस जिन्दावाद !
२०६७ फागुन २२ गते
दीनानाथ शर्मा
प्रवक्ता
Comment Here