जनमुक्ति सेनाको आपत्ति


काठमाडौं, १० भदौ/ शान्तिसम्झौता विपरितका गतिविधी गरेको भन्दै माओवादी जनमुक्ति सेनाले नेपाली सेनाको कडा आलोचना गरेको छ ।

सेना समायोजन तथा अनमिनको भविष्यबारे नेपाली सेनाले दलका नेताहरुलाई भेट्दै र सुझाव बांड्दै हिंडेकोप्रति जनमुक्ति सेनाले गम्भीर आपत्ति जनाएको हो । जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन पासाङले बिहिबार विज्ञप्ति जारी गर्दै नेपाली सेनाको पछिल्ला दिनका गतिविधिप्रति आपत्ति जनाउनुभएको हो । विज्ञप्तिमा कमाण्डर पासाङले शान्ति प्रकृयाप्रति ईमानदार नभई त्यसको भावना र मर्म विपरीत संवेदनशील मुद्दाहरुमा सेनाको दौडधुप, लविङ जस्ता कुराहरुमा ध्यानाकर्षण भएको भन्दै त्यसप्रति गम्भीर आपत्ति र ठाडो विरोध रहेको जनाउनुभएको छ । विज्ञप्तीमा शान्ति सम्झौता धरापमा परेको बेलामा नेपाली सेनाले शान्ति सम्झौतालाई नै चुनौती दिएको बताइएको छ । सर्वोच्च अदालतको आदेशलाई अपव्याख्या गर्दै कामचलाउ सरकारले सेना भर्नाका लागि आदेश दिएकोमा पनि जनमुक्ति सेनाले आपत्ति जनाएको छ । जनमुक्ति सेनाले जेएमसीसीको बचाउ गर्दै विस्तृत शान्ति संझौता, अन्तरिम संविधान, हतियार र सेना अनुगमन तथा व्यवस्थापन सम्बन्धि संझौताको भावना र मर्म अनुसार नै गठन भएको जनाएको छ । जेएमसीसी काम कार्य पूरा नहुदै यसको बहिष्कार गर्नु, यसको औचित्य छैन भन्नु र अनमिन फिर्ता भैहाल्नु पर्छ भन्नु जस्ता अभिव्यक्ति गैह्र जिम्मेवार भएको पनि विज्ञप्तिमा जनाइएको छ । नेपाली सेनाको निर्णय संस्थागत भए त्यो नेपाल राष्ट्रका लािग गंभिर दुर्घटना र असफल राष्ट्रको संघारमा पुर्‍याउने अन्तिम कोशिस भैरहेको गहिरो आभास भएको जनमुक्ति सेनाले जनाएको छ । विज्ञप्तिमा कसैको आदेशमा अध्याँरो कुना वा पर्दा पछाडिबाट विस्तृत शान्ति संझौता, अन्तरिम संविधान, हतियार र सेना अनुगमन तथा व्यवस्थापन सम्बन्धि संझौता च्याँतिदै त छैन ? भन्दै प्रश्न उठाइएको छ ।