माओवादीद्वारा दुश्प्रचारको खण्डन


काठमाडौं, २८ भदौ । एकीकृत नेकपा माओवादीले यही भदौ २८ गतेको नागरिक दैनिकमा ‘सभासद किन्न पैसा मागेको स्वीकार’ शिर्षकमा प्रकाशित समाचार पार्टी र नेतृत्वको चरित्र हत्या गर्ने नियतले तथ्यलाई तोडमोडगरी प्रवाहित गरेको भन्दै त्यसको गरेकोमा खण्डन गरेको छ ।

एकीकृत माओवादीका प्रवक्ता दीननाथ शर्माले सोमवार कृष्णसेन अनलाइनसंग कुरा गर्दै माओवादीका कुनैपनि नेताको चिनियाँ अधिकारी, पार्टी प्रतिनिधी र नागरिक कसैसंग पनि यसप्रकारले टेलीफोन वार्ता नभएको स्पष्ट पार्नु भयो । उहाँले पार्टीको बदनाम र व्यक्तिको चरित्र हत्या गर्ने अभिप्रायसहित प्रधानमन्त्री निर्वाचनको मुखमा भएको यसप्रकारको दुश्प्रचार प्रायोजित र षडयन्त्रपूर्ण हर्कत भएको बताउनु भयो ।

चीनलाई विवादमा तान्न षडयन्त्रपुर्ण ढंगले भएको प्रचारबाजीको माओवादी पार्टीले खण्डन र भत्सर्ना गरिसकेपछि पनि नागरिक दैनिकले पटक पटक भ्रमपूर्ण समाचार प्रवाह गरिरहेको प्रति शर्माले आश्चर्य व्यक्त गर्नु भयो । उहाँले एक त कृत्रिम अडियो टेप वितरण गरिनु र दोस्रो राष्ट्रिय सुरक्षाको भित्री तहसम्म विदेशी खुफिया पुग्नु देशको स्वाधिनता र राष्ट्रिय सुरक्षाका लागि चिन्ताको विषय भएको वताउनु भयो । ‘यो राष्ट्रको सबैभन्दा ठूलो अपराध हो । साथै, महरा माथिको गोपनियता र मानवअधिकार बिरुद्धको अपराध पनि हो ।’ प्रवक्ता शर्माको भनाई थियो ।

सभासद किन्न पैसा मागेको भन्ने प्रचारवाजीले समग्र लोकतन्त्रमाथिकै आक्रमण भएको बताउँदै प्रवक्ता शर्माले नियोजित रुपमा भएको उक्त प्रचारवाजीको निन्दा, भत्र्सना र खण्डन गरेको बताउनु भयो । उहाँले उक्त टेप प्रकरणको छानबिन गर्न र गोपनियता लिक गर्ने माथि कारवाही गर्न सरकारसंग माग समेत गर्नु भयो ।