राष्ट्रिय सहमति कायम गर्न अपील गरिने


असार २४/एकीकृत नेकपा माओवादीले राष्ट्रपतिबाट थप गरिएको ५ दिनको समयभित्र राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि अन्य दललाई अपिल गर्ने निर्णय गरेको छ ।

माओवादीको संविधानसभा बोर्डको बिहिबार बसेको बैठकले ५ दिनभित्र राष्ट्रिय सहमतिको सरकारका लागि अन्य दललाई अपिल गर्ने निर्णय गरेको हो । तर ठूलो दलको हैसियतले माओवादीको नेतृत्वमा मात्रै राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने अडानलाई भने बैठकले यथावत राखेको छ ।

आफ्ना सभासद्हरुलाई बोर्डको निर्देशन बिना कुनै पनि एनजीओ, आइएनजीओले आयोजना गर्ने कार्यक्रममा नजान पनि बैठकले पुनः निर्देशन गरेको छ । पटक-पटक निर्देशन दिंदा पनि कार्यान्वयन नभएपछि बोर्डले सभासद्हरुका लागि आचरसंहिता बनाउने तयारी नै गरेको छ । सभासद्हरुले पालना गर्ने आचारसंहिता बनाउन वोर्डका सचिब देव गुरुङलाई बैठकले जिम्मा दिएको छ । बोर्डको बैठकले चैत्र मसान्तभित्र नयाँ संविधान जारी गर्ने गरि पार्टीले तयार पारेको कार्यतालिका पनि प्रस्तावका रुपमा आगामी २६ गते बस्ने तीन दलको बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ । माओवादीले भोलि संसदीय दलको बैठक बोलाएको छ ।