खरीबोटदेखि खरिपाटीसम्म
खरीबोट रोल्पाको एउटा रमणीय गाउँ हो । सांस्कृतिक धरोहरको केन्द्र भक्तपुर नगरपालिका बाहिरको सुन्दर गाउं खरिपाटी हो । राजनीतिक यात्राको एउटा कालखण्डमा यी दुई ठाउँको सम्बन्ध गाँसिन पुगेको छ ।
खरिबोटदेखि खरिपाटीसम्मको भौगोलिक दूरी कति छ मलाई थाहा छैन । तर पनि भक्तपुरदेखि खरिबोट पुग्न धेरै उकाली ओराली, भञ्ज्याङ् चौतारी पार गर्दै र खोल्साखोल्सी नदीनाला तर्दै त्यहां पुग्नुपर्छ । खरिबोटदेखि भक्तपुरसम्मको राजनीतिक यात्रामा पनि धेरै कठीन उतारचढाव र संघर्ष पार गर्दै यहांसम्म पुगिएको छ । यात्रा पुरा भएको छैन । अझै धेरै पर पुग्नु छ । तर पनि यो कठोर यात्रा मेरो राजनीतिक जीवनमा चिरस्मरणीय र ऐतिहासिक महत्वको छ ।
राजनीतिक जीवनको एउटा डोरी खरिबोटदेखि खरिपाटीसम्म जोडिएको छ । पार्टीको राजनीतिक धारको तारले पनि यी दुई ठाउंलाई जोडेको छ । मेरो पार्टी अझै त्यो निस्कर्षमा पुग्न समयलाग्न सक्छ । तर मेरो विवेक भन्छ, खरिवोट विचारको उठान थियो, खरिपाटी प्रयोगको सफलताको संश्लेषण । खरिबोट नयाँ कार्यदिशाको बैचारिक गर्भादान हो भने खरिपाटी नवजात शिशुको जन्म । खरिबोटदेखि खरिपाटीसम्म नवजात शिशुको सालनाल अभिन्न रूपले गांसिएको छ । लेख्न सके यसको नालीवेलीको महाभारत बन्नेछ ।
पश्मिबाट पूर्व फर्केको गाउँ, घर वरपर चारैतिरको भरखरै हिउँले थिचेर हर्लकै मैेलाएको गहूँ, जौ, उवाको हरियो च्यादरले ढपक्कै ढाकेको वारीको सुन्दरता कति आकर्षक र मनमोहक छ । तल खोलाको मधुरो एकनासको सुसाइले औधी आनन्द दिईराखेको छ । साँझ बिहान त्यो रमणिय ठाउँको आनन्दानुभूति लिने अवसर जीवनमा यसैपटक मिलेको छ । सायद आदर्शवादीले यसलाई उस जुनीको कमाई भन्लान् तर मैलेभने मेरै राजनीतिक जीवनमा गरेको शुभ कर्मकोफल ठानेको छु । यो हरियाली, यो सुन्दरता र प्राकृतिक छटाको यति औधी आनन्द मैले यसैपटक लिन सफल भएको अनुभूति हुन्छ । प्राकृतिक सुन्दरताको आनन्द लिनपनि पारखी हुनुपर्दो रहेछ । रसिक, निर्भिक र निष्कलंक आँखाले मात्रै प्रकृतिको असली रूपलाईर् देख्न सक्दो रहेछ ।
अहिले संझिन्छु, ती तर्कहरू कति बनावटी, नक्कली र फिका थिए । तर्क हजार थिए तर सत्य र तथ्य एउटै थिएन । किर्ते दसी प्रमाणको ठेली थुपारेर माक्र्सवादका वकिलहरू बहस पैरवी गरिरहनुभएको थियो । यो माक्र्सवाद थिएन नत लेनिनवादको जगमा उभेको जनवाद नै । यो त एउटा पाखण्डको रिहरर्सलमात्रै थियो ।
जनयुद्धको विकासको यो चरणसम्म आइपुग्दपनि रायमाझीको प्रेतात्माले पछाइरहेको थियो । क.पुष्पलालको संयुक्तमोर्चा नीतिलाई केही मित्रले धारेहात लगाउँदै थिए । बिचारमा खियालागेपछि बाटो अवरुद्ध र दिशा हीन हुन्छकि भन्ने चिन्ताले सताइरहेको थियो ।
बाहिर हप्तादिन देखि परेको अविरल माघे झरीले थुपारेको हिउँ र तुसारोको सिरेठोले मुटु छेड्लाझै भएपनि बैठक कक्ष भने गरमागरम बहसले भकभकी पाकेको थियो । हामीलाई बनावटी बातलगाएर बैठक कक्ष बाट घोक्रेठ्याक लगाइयो । भित्र भित्रै सफाया गर्नु पर्छ भन्ने प्रस्ताव गएको चर्चा पछि मात्रै थाहा लाग्यो । नेतृत्वलाई अनावस्यक प्रभावित गर्न प्रयत्न गर्ने तत्व असफल र कालान्तरमा पलायन भएर गए । रायमाँझी र आलोकको प्रेतात्मा पार्टी भित्र समय सन्दर्भमा जाग्ने र सताउने गरेको छ ।
हाम्रो लडाई सत्य र न्यायका लागि थियो । दुनिँयामा इमान-जवान र नैतिकता भन्दा ठूलो तागत केही छैन । न बिराउनु नडराउनु भन्छन् । झूठा फरेब र नक्कली वकपत्रले क्षणिक विजय पाए पनि आखिर विजय सत्य र न्यायकै हुन्छ । न्यायको पक्षमा एकलै भएपनि खडाहुनु महानता हो । विचारको विनिमय गरेर वा न्याय मारेर बाँच्नुको कुनै अर्थ छैन ।
हामीलाई फतुर लगाएर पार्टीबाट घोक्रेठ्याक लगाउने साथीहरू क्षणिक सफलतामा रमाएका थिए । आÏनो विषय खुलेर राख्न पाएको र अन्तरसंघर्षको नयाँ परंपराको थालनी गर्न सफल भएकोमा हामी त्यो भन्दा धेरै खुशी थियौं । हाम्रो खुशीमा साथीहरू अनौठो मानेका थिए । हामीलाई कडासुरक्षा सहित पठाइयो । हामी औधी रमायौं । हिउँसित चिप्लेटी खेल्दै दुई तीन दिन पछि यो ठाँउमा पुगेका थियौं ।
हिजोका सहयोद्धा कमरेडहरू हामीलाई देख्दा अपरिचित जस्तै तर्केर हिड्थे । हाम्रो कडा निग्रानी गर्नु, सम्पर्क नगर्नु भन्ने निर्देशन तलैसम्म भएको पछि थाहा लाग्यो । साथीहरूबाट, पार्टीका जिम्मेवारी कटाइयो, जति हाम्रो छाला काढियो हामी त्यतीनै सुदृढ र व्यवस्थित भएको महसुस भयो । प्रकृतिको आत्मा र विचारमा पाइन लगाउन हामी त्यसैबेला सफलभ एको अहिले महसुस हुन्छ ।
त्यसदिन विहानै कौसीमा निस्के । विहानी जाडोले सवै स्लिपिङ ब्याग र ज्याकेटभित्र लपेटिएका थिए । विहान शान्त थियो । आकाशमा वादल थियो । मौसममा सुधार आई सकेको थियो ।
कुर्ची तानेर कौसीमा बसे । आँखा पारितिर परिहाल्यो । पहरामाथि जंगल त्यो माथि फाटफुट गाँउबस्ती र गोठहरू । हेर्दै गए, तलमाथि आँखा दौडिए । प्राकृत सुन्दरताले दिल छोयो । हेर्दाहेदै उतै हराएको र झनपछि झन गहिराइमा कुद्दै गएको अनुभूति भयो ।
पाखाभरि सेताम्य हिँउ छापिएको छ । उत्तर फर्केको पाटोमा त झन हिँउको खातैखात देखिन्छ । गरीव गाँउलेका घर गोठालाहरूलाई यसपटक प्रकृतिले चाँदिको छानालगाई दिएछ । घरधुरीबाट हिउलाई चिर्दै धुवाको मुस्लो आकाशतिर उडेको छ । प्रकृति शान्त छ । जाडोले कठांगि्रएका गाईवस्तुहरू गोठमा चुपचाप छन् । गाँउलेहरू घरभित्र अगेनोमा मुढा जोतेर न्यानो पार्दैछन् । वलेनी तपतप चुहिरहेको छ । विचरा चराचुरंगीहरूको विचल्ली छ । हेर्दाहेर्दै हिँउमाथि रक्तिम सूर्यको किरण पर्यो । सेतो हिउमा रक्तिम किरणको पाइनले प्रकृतिको अनुहारमा रजपछि कि सोढसीको जस्तै लाली चढेर आयो । प्रकृति कति सुन्दर, कति कंचन, कति निश्चित र चञ्चल छ । हेर्दाहेर्दै अनेकरूप फेर्दैछ प्राकृतिले । मलाई त्यसै त्यसै प्रकृतिको काखमा हराउँ हराउँ जस्तो लागेको छ । मेरोे मुटुको गहिराइमा मेरो
प्रकृतिको र परिवेशको अमिट सहिछाप छ । मलाई लाग्छ, मृत्युपर्यन्त साथलाने मेरो अमूल्य पूँजि यहि नै हो ।
यही कंचन मनोरम तथ्य मानसपटल र नजरभरी नाचिरहेकै वेला मेरो राजनीतिक भविष्यको यात्राको प्रतिविम्व पनि मेरो मनमा तुफान बनेर उठ्न थाल्यो । प्रत्येक बादलमा चाँदीको घेरा हुन्छ भन्छन् । सुनौलो विहानीमा त्यत्तिकै कंचन र सफा भावनाले सुदूर क्षितिजमा राजनीतिक रणनीति र कार्यनीतिको खोजी गरिरहेको छ । एउटा सुदूर भविष्यको मार्ग देखाउन प्रयत्न गरिरहेको छ ।
सुन्दर प्रकृतिको काखमा निलिप्त तपस्वीहरू मुक्तिको जुक्ति खोज्न कठोर तपस्यामा लागेका थियौं । हामी बुद्ध जस्तै शान्त थियौं । दुश्मनप्रति दुर्वासा बन्ने हामीलाई अनुमति थिएन । लामो अध्ययन, छलफल र वाद-विवाद, सम्वादको मन्थनबाट हामी सारतत्व निकाल्न सफल भइयोकि भन्ने महसुस हुन थाल्यो । जीवन मरणको दोसाँधबाट हामीले क्रान्तिका उपलब्धीलाई दाँया र बाँया अतिबाट जोगाउने अचुक संजीवनीको पहिचान गर्दै थियौं ।
समाजमा सयौं घटनाहरू घटिरहेका छन् । विकसित भैरहेका छन् र वगिरहेका छन् । ती घटनाक्रमहरू विचारको विकासका कच्चा खजाना हुन् । तिनलाई संगठित गरी मन्थन पछि निस्कने सारतत्वको पहिचान नै विचारको विकास हो । समाज विज्ञानमा वर्गसंघर्ष र वैचारिक संघर्षको वीचबाट मात्रै नयाँ विचारको विकास संभव छ ।
मानिसको दिमागमा प्रतिभाको खोलो अविराम बगिरहेको छ । त्यसलाई योजनामा ढालेर प्रयोग गर्यो भने मात्रै प्रतिभाको प्रस्फुटन हुन्छ । खोलामा पानी अबिराम बग्छ । बगेको खोला बाट शक्तिको अपेक्षा संभव छैन । पानीलाई एकत्रित गरेर डुणमा भिरालो बाट खसायो भने शक्तिमा बदलिन्छ, घट्ट चलाउँछ, बिजुली निस्कन्छ । भौतिक खजानाको उपयोग गर्न भौतिकवादी कुशल बन्नुपर्छ । विचारको बिकासको कच्चा खजाना बस्तुगत परिस्थितिको बिश्लेषण र संश्लेषण नै हो ।
उता राजाको माघ १९ को कदमले उसलाई एक्लोपार्दै लगेको थियो । संसदवादी पर्टीहरूमाथिको दमनले उनीहरूको राजाप्रतिको मोह भंग हुदैगएको थियो । राजा र राजनीतिक पार्टी वीचको चरम अन्तरबिरोधले उनीहरू कमजोर बन्दै गएका थिए । राजनीतिक दलहरू सितमिलेर राजतन्त्रको यही कमजोर कडीमा आक्रमण गर्नु वस्तुनिष्ट निस्कर्ष थियो । बल प्रयोगको निरपेक्ष माध्यमबाट नयाँ राजनीतिक निकासको संभावना पनि थिएन । तर त्योकुरा क्रान्तिकारी साथीहरूलाई बुझाउन त्यति सजिलो थिएन ।
अघाखाँची, म्याग्दीहुदै जुम्लासम्मका फौजी कारवाहीमा निणर्ायक सफलता मिलेन । दुश्मनको फोर्टिफिकेसन तोडेर विजय हासिलगर्न कठिन भएको निष्कर्स सहित दुश्मन सेनालाई ब्यारेक बाहिर निकालेर आक्रमणगर्ने रणनीति बनाउनु परेको कुरा प्रष्टै थियो ।
लावाङ् बैठक पछि खार आक्रमणको राम्रै तयारी भयो । यस पटकको नराम्रो पराजयको सही समीक्षा हुन सकेन । अन्तर संघर्षको प्रत्यक्ष असरपरेको थिएन भनेपनि बस्तुगत परिस्थितिले त्यसलाई स्वीकार गर्न सकेन । त्यस पछिनै सिंगो पर्टी नयाँ ढंगले सोच्न बाध्य भयो ।
लावाङ्देखि चुनवाङ् सम्मको एउटा कालखण्ड तीब्र राजनीतिक संक्रमण र कार्यनितिक सिÏटको महत्वपूर्ण ऐतिहासिक कालखण्ड थियो । नयाँ कर्यनीतिक सिÏटकालागि लामो संघर्ष गर्नुपरेकोकुरा प्रष्टै छ ।
केही समय पछि मैले खरिवोट छोड्ने अनुमति पाएँ । परिस्थिति बदलियो । क.भट्टराईले पनि खरिबोटको प्राकृृृतछटाको आनन्दानुभुति लामो समय लिन पाउनु भएन । फेरि हामी क्रमश छलफलमा केन्दि्रत भयौं । हाम्रोवीच तीब्र वैचारिक छलफल र संघर्ष भयो । राजतन्त्रको अन्त र नयाँ राजनीतिक निकासका लागि राजनीतिक रणनीति र कार्यनीतिमा गुणत्मक विकास अनिवार्य थियो ।
देशको राजनीतिक घटनाक्रम नयाँ ढंगले विकास भएको थियो । परिवर्तित परिस्थितिमा परंपरागत फौजी आक्रमण असफल हुँदै थियो । राजनीतिक आक्रमणका लागि वस्तुगत परिस्तितिले नयाँ पहलको माग गरेको थियो । त्यसैले नेतृत्वसितको लामो छलफलपछि चुनवाङ बैठक वोलाउने सहमति भएको थियो ।
ऐतिहासिक चुनवाङ् बैठक वैचारिक तथा संगठनत्मक एकताको महान् कोशेढुंगा थियो । त्यसले विगतका कमीकमजोरीको समीक्षा गर्यो । नयाँ आधारमा नयाँ एकता कायम गर्ने महत्वपूर्ण आधार नयाँ कार्यदिशा थियो । त्यसले परिवर्तित घटनाक्रम र परिस्थिति अनुकुलको क्रान्तिको नयाँ बाटो हिड्ने आदेश दियो । बाह्रबुँदे सहमति, उन्नाइस दिने ऐतिहासीक जनआन्दोलन, राजतन्त्रको अन्त, संघीय लोकतान्त्रिक गणतन्त्रत नेपालको घोषणा, नयाँ संविधान, संविधानसभाको निर्वाचन, पार्टीको विजय र माओवादीको नेतृत्वमा नयाँ सरकारको गठनसम्ममो यात्रा अत्यन्तै उतार चढाव र तीब्र अन्तर विरोधको वीचबाट तय भएको थियो ।
वैचारिक साइत खरिवोटबाट भयो औपचारिक यात्रा चुनवाङ्बाट भयो । सिंहदरवारमा आएर लामो संघर्ष गरेपछि राजतन्त्रको अन्त यही यात्राको क्रममा भयो । सर्वहारा वर्गको नेतृत्व नेपालमा पहिलोपटक सरकारमा पुगेपछि खरिवोट बैठक भएको छ ।
खरिवोटदेखि चुनवाङ् हुदै यहाँ सम्मको राजनीतिक यात्राको विहंगम समिक्षाको माग खरिपाटी बैठकले गर्यो । छलफल लामो भयो तर निष्कर्स भने ठोस र मूर्तहुन सकेन । चुनवाङ्को मर्मलाई अहिलेसम्म पनि आत्मसात गर्न नसकेको कुरा छलफलले बतायो । कुहिरोको काग बनेर अलपत्रपर्नु दुःखको कुरा हो ।
अहिले हामी पेरिसडाँडमा छौं । खरिपाटी देखि पेरिसडाँडासम्मको यात्रा छोटो छ । छोटो यात्रामा धेरै उतारचढाव आएका छन् । ठूलाठूला दुर्घटना पनि यही बीचमा भएका छन् । यसको पनि अलगै समीक्षा गर्ने बेला भएको छ । खरिवोटदेखि खरिपाटीसम्मको वैचारिक यात्रालाई निरन्तरता दिने कि दिशा बदल्ने भन्ने बारे बहश छ । माथिनै भनिन्थ्यो यात्रा अझै बाँकी छ । साथीहरूमा भने वैचारिक विचलन आउँछ कि भन्ने खतराको बादल मडारिएको छ ।
खरिवोटदेखि खरिपाटीसम्मको मेरो राजनीतिक यात्रा सफल रहयो । राम्रो साइत, प्रौढ र परिपक्क विचारको धरातलमा टेकेर हामी यात्रा प्रारम्भ गरेको थियौं । बाटो सफा छ । यात्रा बाँकी छ । लामो यात्रमा थाकेका वा विरामी परेका साथीहरूलाई औषधी उपचार गर्नुछ । विचारको बुटी पिलाएर अगाडि बढाउनुछ । मानिसलाई अर्ती, उपदेश र औषधी मिठो हुन्न । तर पनि कालान्तरमा लाभदायक हुन्छ । खरीवोट देखि खरिपाटीसम्मको हाम्रो यात्राले बाँकी अंश पुरा गर्न झन फुर्तिसाथ अगाडि बढेने प्रेरण दिन्छ ।
१४ असार २०६६
Comment Here