म केवल म होइन, एउटा विचार हुँ
म केवल विगत होइन
वर्तमान र भविष्य पनि हुँ
त्यसैले
विगतका सवै जस अपजसको म
समान साझेदार पनि हुँ
वर्तमान र भविष्यको हकदार पनि हुँ ।
म फगत कल्पना होइन
वास्तविकता पनि हुँ
म फगत कविता होइन
युगको प्रतिनिधि पनि हुँ
त्यसैले म
हिजा, आज र भोलिको
जीबन र जगत जोडने
बलियो पुल पनि हुँ ।
म केवल आख्यान मात्रै होइन
प्रयोग र विकास पनि हुँ
म केवल प्रयोगशालामात्रै होइन
सफल परिणाम पनि हुँ ।
म केवल परीक्षक मात्रै होइन
युगको परीक्षार्थी पनि हँु
त्यसैले म
प्रयोगशाला हुँ क्रान्तिको
संवाहक हुँ परिर्वतको ।
म केवल मेरालागि होइन
जीवन र जगतका लागि समेत हुँ
म केवल हुनेखानेकालागि होइन
हँुदा खानेकालागि मात्रै हुँ ।
त्यसैले म
वर्तमानको गायक मात्रै होइन
भविष्यको रचनाकार पनि हुँ
म फगत म मात्रै होइन
इतिहासको संबाहक पनि हुँ
म पटक्कै कवि होइन
फगत कविता मात्रै हुँ ।
(२८ असोज २०६६)
प्रकाशित, गरिमा २०६६ मंसिर
Comment Here