भारतीय दर्शनको एउटा महत्वपूर्ण शाखा पूर्वमिमांसा हो । पूर्वमिमांसाका प्रवर्धक जैमिनि ऋषि हुन् । बौद्ध मतको सशक्त उदयपश्चात बैदिक धर्मका अनुयायीहरूका लागि उनीहरूसँग भएको समस्त ज्ञानको पुनःनिरीक्षण र पुनर्निर्माण आवश्यक ठानियो । साथै त्यको निर्दोषिता र सत्यता प्रमाणित गर्नुपर्ने चुनौति बौद्ध दर्शनले खडा गर्यो । जैमिनिले त्यो चुनौतिलाई पुरागर्ने कम्मर कसे ।
जैमिनि ऋषिले वेदको सांगोपांगो अध्ययन, व्याख्या र विश्लेषण गरे । आफ्नो ग्रन्थमा मिमांसाको नियमहरूलाई व्यवस्थित रुपमा सूत्रवद्ध गरेर त्यको यथार्थतालाई सिद्ध गर्ने प्रयत्न गरे । मिमांसा स्पष्ट रुपमा अनेकेश्वरवादी भएपन पनि उपलक्षणहरू निरीश्वरवादी छन् । आधुनिक हिन्दु विधानमा मिमांसा पद्दतीको प्रयाप्त प्रभाव छ भन्ने कुरा डा. राधाकृष्णनले भारतीय दर्शन-२ मा लेखेका छन् । भारतीय दार्शनिक डा.राधाकृष्णनले जैमिनिकाल इशापूर्व चौंथो शताब्दीलाई मानेका छन् ।
जैमिनि एक महान् कर्मयोगी दार्शनिक थिए । ज्ञान प्राप्तिका लागि उनले कठोर योग साधाना गरेका थिए । ब्रह्मसूत्र, मिमांसासूत्र, न्याय तथा योगसूत्र आदिको प्रतिपादन गरे । कतिपय विद्वानहरूको भनाइमा जैमिनिका केही ग्रन्थहरू हराईसकेका छन् । जैमिनिका ग्रन्थहरूको पहिलो भाष्याकार शबरलाई मानिन्छ । इसापूर्व पहिलो शताब्दीमा जैमिनि आख्यानको भाष्य र टीकाहरू बढी प्रचारमा आएको मानिन्छ । बौद्ध दर्शनको विश्वव्यापी प्रचार र प्रभावसित टक्कर लिन वैदिक धर्म र दर्शनको विकास अनिवार्य भएको ठानेर जैमिनिले पूर्वमिर्मासाको प्रतिपादन गरेकेा कुरा भातीय दर्शनका ज्ञाताहरूको विश्लेषण छ ।
जे भएपनि जैमिनि एक महान् ज्ञान साधक थिए । ज्ञान प्राप्तिका लागि चित्तसुद्धि अनिवार्य थियो । योगसाधना, अनिवार्य ठानेर वैदिक र पुराणकालमा ठूलठूला योगी तपस्वीहरू शान्त र एकान्तको खोजिमा हिमालयको काख, तपोवन, गंगानदीको शान्त किनार छाने । त्यसैले नेपालको हिमाच्छदित पहाडका कन्दराहरू, नदी किनार र घना जंगलहरू पौराणिक कालका तपोमूमि थिए । आज भोली ती स्थानहरू पौराणिक तीर्थस्थल तथा ऐतिहासिक धरोहर बने ।
दामोदरकुण्ड, बदि्रकेदार, मुक्तिनाथ आदिस्थानको ऐतिहासिक र पौराणिक महत्व छ । यी सबैले जानेमानेका ठाउँहरू परे । बैदिक तथा पौराणिककालदेखि ऐतिहासिक महत्व राख्ने कतिपय धार्मिक तथा सांस्कृतिक धरोहरहरू कालक्रमसंगै इतिहासको गर्भभित्र लोपहुंदै गएका छन् । युग वित्दै जान्छ, आर्थिक सामाजिक सम्बन्ध बदलिंदै जान्छ । त्यसैक्रममा बिर्सनै नहुने धरोहरहरू पनि बिर्सिदै र ओझेलमा पर्दै जान्छन् । त्यसरी नै ओझेलमा पर्दै गएको एउटा महत्वपूर्ण धार्मिक तथा ऐतिहासिकस्थल जैमिनिघाट पनि हो ।
जैमिनिघाट बागलुङ सदरमुकामदेखि करिब बीस किलोमिटर दक्षिण पवित्र कालीगण्डकीको पश्चिम किनार काली र ठेउलेखोलाको दोभानमा पर्दछ । केही वर्ष पहिले जैमिनिघाट अमलाचौर गाविसमा पर्दथ्यो । पञ्चायती शासकहरूले आफ्नो राजनीतिक स्वार्थका कारण त्यसलाई कुश्मी गाविसमा पारे ।
जैमिनिऋषिले तपस्या गरेको घाटलाई जैमिनिघाट भनियो । तर आजभोलि त्यस भेकका जनता ज्यामिरघाट पनि भन्छन् । जैमिनिघाटको अपभ्रंश ज्यामिरघाट हो भन्ने पौराणिक र ऐतिहासिक प्रमाण प्रशस्तै छन् । जैमिनि ऋषिले कठोर तपस्या र ज्ञान साधन गरेको ठाउं ऐतिहासिक बिरासदको रुपमा आजसम्म छ । आजभोलि पनि कसैले जैमिनिघाट कसैले ज्यामिरघाट र कतिपय जैमिनि मुनिले तपस्या गरेकाले जैमुनिघाट पनि भन्छन् । जे भने पनि यो ठाउं जैमिनि ऋषिको नामले एक्काइससय वर्षदेखि प्रसिद्ध छ ।
कालीगण्डकी र ठेउलेखोलाकेा संगमदेखि करिब सयमिटर उत्तर कालीगण्डकीको किनारमा दुईवटा शिला छन् । एउटा शंखाकारको विशाल शिला छ । त्यसमा शंखको जस्तै प्वाल पनि छ । त्यसलाई स्थानीयबासिन्दा शंखे ढुंगा भन्छन् । शंख फुक्न सीपालु मानिसहरूले प्वालमा मुख राखेर फुक्ने र सजिलै शंखध्वनीले पहाडै थर्काइदिन्छन् । शंखेढुंगाको करिब ५, ७ मिटर पश्चिममा अर्को मजवुद पहरो छ । पहराको अलि दक्षिण तल देवशिला (स्थानीय जनजिब्रोमा देवढुंगा) छ । तीनै दुई ढुंगाका बीच मिमांसाका प्रवर्तक जैमिनि ऋषिले तपस्या गरेका थिए भन्ने मजवुद प्रमाणहरू छन् । अलि उत्तरतिर पहरा खोलेर बनाइएको कुटि छ । त्यो कुटीलाई जैमिनि कुटी भनिन्छ । कुटिभित्र एउटा कुनामा पूजा गर्ने मण्डप छ । युगौंदेखि कालीगण्डकीको किनारामा पाइने पवित्र शालिग्रामको परम्परागत पूजा हुंदै आएको थियो भनिन्छ । तर अहिले नियमित पूजा हुन छोडेकेा छ ।
मैले निकै वर्ष पहिले त्यसक्षेत्रका संस्कृत व्याकरण र साहित्यका विद्वान पं.छविलाल पाध्यालाई जैमिनिघाटको पौराणिक र ऐतिहासिक पृष्ठभूमिबारे जिज्ञासा राखेकेा थिए । उनले त्यो स्थल जैमिनि ऋषिको योग र ज्ञान साधन गर्ने पवित्र ऐतिहासिक स्थल हो भनेर थुपै्र प्रमाण जम्मा गरेका थिए । पाण्डुलिपिको रुपमा सबै प्रमाण मेरा घरमा सुरक्षित थियो । २०५९ साल असार महिनामा सेनाले मेरो घरभित्र भएका सबै पुस्तक पाण्डुलिपी सामान आंगनमा निकालेर आगो लगायो । त्यसैसंगै त्यो संग्रह पनि नस्ट भयो ।
उनैको भनाई अनुसार अठारपुराणमध्य वराह पुराणहिमवत खण्डको गण्डकी महात्मा बाट लिइएको भन्दैसंस्कृतको “देवशीला शंखशीला जैमिनि घण्ट संनिधौ” भन्ने एउटा श्लोक टिपाएका थिए । बराहपुराण खोजेर अध्ययन गर्ने सपना अहिले सम्म अधुरै छ । तैपनि जैमिनि ऋषिले ज्ञान साधना गरेको ऐतिहासिक स्थल ज्यामिरघाट नै थियो भन्ने प्रमाणित गर्दछ ।
जैमिनिघाट थुम थन्थाप (उसवेलाको) हालका करिव डेढ दर्जन गाविस र पर्वतका पनि त्यति नै गाविसहरूको मृत्यु पर्यन्त परंपरागत दाहसंस्कार गर्ने पवित्र घाट मानिदै आएको छ । यस क्षेत्रका जनताको मृत्यु सस्कारको शैली अन्यत्रको भन्दा अलि फरक छ । मानिसको मृत्यु पछि एकोहोरो शंख फुकेर गाउँलेलाई मृत्युकोे सूचना गरिन्छ । त्यसकै आधारमा मलामीहरू जम्मा भैहाल्छन् । लासलाई सेतो कात्रोले बेरिन्छ, बाँसको खाटमा सुताएर वाँधिन्छ, माथिबाट पाट (एकखाले पहेलो कपडा) ले ढाकिन्छ । सेतोकपडा खासगरी कोराको थान फिजारेर वीच वीचमा बाँसको भाटामा बाँधेर मलामीहरूले समाएर अगाडि अगाडि हिडछन् । शंखफुक्दै र लावा छर्दै लासलाई शंखे ढुंगामा लगेर सतगत गर्नै परम्परा छ ।
मेरा पितापुर्खाको चीर समाधिस्थल पनि त्यही शंखेढुंगा हो । म धेरै पटक मलामी बनेर त्यहा गएको छु । मेरा धेरै आफन्त छिमेकीको अन्तिम दाहसंकारमा सामेल भएके छु । छिमेकमा मर्दापर्दा सधै सक्रिय हुने मेरा छिमेकी दाजु चन्द्रदत्तले शंखे ढुंगाको प्वालमा मुख राखेर फुक्दा दुरुस्तै शंखको आवाज खाउने र तरंगित शंखध्वनिले त्यो क्षत्र नै गुंजायमान हुने गरेको ताजा स्मरण अझै छ । विचरा चन्द्रदत्तको चीर समाधी शंखेढुंगालाई सिरान बनाएर भैसकेको छ । हामी सबैको आखिर जानेठाउँ त्यही हो । त्यसो त त्यो क्षेत्रमा कसैलाई गाली दिनु पर्यो भने तेरो टाउको शंखे ढुंगामा सेलाउन परोस पनि भनिन्छ । जैमिनिघाटमा पुर्याएपछि दाउरा घरैबाट लगेर वा किनेर डढाउने र नसक्नेले नदीको किनारमा दवाउने वा बगाउने चलन पनि छ ।
पहिले माघे संक्रान्तिका दिन जैमिनिघाटमा तीनदिन मेला लाग्दथ्यो । मेला भर्न कास्की स्याङ्जा, गुल्मी समेतवाट आउने चलन थियो । वाला चतुर्दशीका दिन शंखेढुंगा वरपर नदी किनारमा सतवीज छर्न आजजसो देखि नै मानिस जम्मा हुन्थे । ज्यामिरघाटको नदी किनारमा उज्यालो नहुँदासम्म भक्तजनहरूले भजनकृतन गर्ने र उज्यालो भए पछि गंगा स्नान गरेर सतवीज छर्नेगर्थे । तर आजभन्दा १८ वर्ष पहिले माघे संक्रान्तिको दिन मेलामा अज्ञात व्यक्तिद्वारा एकजना इन्सपेक्टरको छुरी हानेर हत्या भएपछि सुरक्षाको कारणले अर्को वर्षदेखि त्यहाँ मेला लाग्न छाड्यो । अझै पनि श्रदालु भक्तजन भने माघे संक्रान्तिमा स्नान गर्न आउँछन तर पहिले जस्तो रमाइलो हुन छाडेको छ ।
जैमिनिघाटमा सूर्यग्रहणका दिन ग्रहण थाप्ने मानिस बस्दछन् । ग्रहण दानलाई बोझिलो मानिन्छ । ग्रहणदान थाप्न हम्मेसी मानिस तयार हुदैन । तर कसैले थापिहाल्यो भने दान गर्नेहरूको ठूलो भीड लाग्ने गर्दथ्यो । त्यो चलन पनि लोपहुदै गएको छ ।
नेपाली समाजको संस्कृति, पौराणिक र ऐतिहासिक महत्वका स्थलहरू कसरी कालक्रममा ओझेलमा पर्दै र लोप हुदै गएका छन् भन्ने कुरा मेरो जीवनकालका विगत र वर्तमान दिनले अनुभूति हुन्छ । तर नयाँ पुस्ताले विगतलाई कसरी बुझ्ने । त्यसैले भोलिको पुस्ताका लागि यी स्थलको संरक्षण, अध्ययन र अनुसन्धानको जगेर्ना गर्नुपर्छ । त्यो कसले गर्ने ? काली गण्डकी नेपालको नदीहरूमध्य पवित्र नदी मानिन्छ । यसको किनारमा शालिग्राम र नदीको बालुवासित सुनको कण मिसिएको छ । नदी किनार बस्ने माझिले फुर्सदको समयमा वालुवा चालेर सून निकाल्छन् । त्यसलाई माझीरुवा भनिन्छ । दिनभरि निकालेको माझीरुवा स्थानिय दोकानमा लगेर दिन्छन् र आँफूलाई बिहान बेलुका चाहिने समान किनेर लैजान्छन् ।
कालीगण्डकीको दाहिने किनारमा महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक स्थल, आश्रम कुटीहरू रहेका छन् । देवघाट, रानीघाट, रुरुक्षेत्र पूर्तिघाट, ज्यामिरघाट, निरय, लगेश्वर महत्वपूर्ण स्थानहरू छन भने सवभन्दामाथि मुक्तिनाथ छ । पौराणिक कालदेखि नै हाम्रा ऋषिमुनिहरूले काली गण्डकीको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई राम्रोसित बुझेका थिए । कालीनदी कै आसपास म्यग्दीको पुलाचौरमा पुलहस्त ऋषिले तपस्या गरेका थिए । त्यस्तै सत्यदेवीको गला खसेको ठाउँ गलेश्वरकहादेवको पवित्र मन्दिर पनि काली नदीकै किनारमा छ । धार्मीक दृष्टिले मात्रै होईन पौराणिक र ऐतिहासिक दृष्टिले पनि यी स्थानहरुको अत्यन्तै ठूलो महत्व छ । तर यी ऐतिहासिक धरोहरहरू लोप हुंदै र महत्वहिन बन्दै छन् । हामीले हाम्रो त्यो पूंजीलाई सुरक्षित गर्न सके पौराणिक तथा धार्मीक पर्यटनमा पनि ठूलो सहयोग पुग्ने निश्चित छ । यस्ता ऐतिहासिक धरोहरहरूलाई केवल धार्मीक आस्थाको आधारमा मात्र प्रचार गरिँदा समयक्रममा ओझेलमा पर्ने गरेका छन्, त्यसैले यिनीहरूको सांस्कृतिक, पौराणिक र ऐतिहासिक महत्त्वबारे प्रचारप्रसार गर्नसके लोप हुनबाट जोगिनसक्थे ।
जैमिनि ऋषिको आश्रमस्थल ज्यामिरघाट पुगेर योगी नरहरिनाथले केही वर्ष पहिले धान्याञ्चल महापर्व लगाएका थिए । सो पर्वबाट उठेको रकम र भारतको मद्रासमा काम गर्ने नेपालीहरूको बीचमा अमलाचौर-७ निवासी चक्रपाणि शर्माको सक्रियतामा जम्मा भएको रकमबाट शिवजीको मन्दिर बनेको छ । त्यसैबेला त्यसै ठाउंमा वेदशाला पनि खोलिएको थियो । तर त्यस ऐतिहासिक भूमिमा खेलेको वेद वेदाङ्ग विद्यालयलाई केही स्वार्थी व्यक्तिहरूले दमेक गाविसमा सारे । तर पनि चक्रपाणि भने ज्यामिरघाटको धार्मिक महत्व बचाउन भने अझै पनि सक्रिय छन् ।
योगी नरहरिनाथले जैमिनिसूत्रको बारमेा केही लेखेका छन् भनेर सुनेको छु । एकदुई वटा पुस्तक पसल र एकदुईवटा पुस्तकालयमा जैमिनिबारे सामाग्री पनि खोजें तर केही भेटिन । जैमिनिबारे अध्ययन सामाग्रीको सूचना दिनेप्रति आभारी हुने थिए । जे भए पनि जैमिनिघाट इतिहासमा ओझेलमा पर्दै गएको ऐतिहासिक धरोहर हो । जैमिनघाटमा ऐतिहासिक संास्कृतिक महत्वका जीर्ण मठमन्दिर र वास्तुकलाहरू लोप हुंदैछन् । जैमिनिघाटकै छेवैको ठेउलेखेलाको किनारमा निर्मित पुराना सत्तल पाटीपौवाको इतिहास धरासायी हुंदैछ । यसप्रकारका धरोहरको उत्खनन् र संरक्षणको आवश्यकता छ ।
जैमिनिघाट किन जैमिनि ऋषिको पावन तपोभूमि बन्यो ? यो महत्वपूर्ण प्रश्न हो । करिब एक्काइससय वर्षदेखि देवशिला र शंखशिलाको अविच्छिन्न उस्तै स्थितिमा छ । कालीको किनारमा वषर्ाको भेल र वर्षौको बहावले अन्यत्र ठूलो परिवर्तन ल्याएको हुन्छ । म करिब आठदश वर्षको उमेरमा मलाम जाँदा त्यो ठाउंलाई जस्तो देखेकेा थिए करिब ६ दशकसम्म शंखेढुंगा वरिपरि कुनै परिवर्तन छैन । वर्षको ठूलो भेलले दुवै शिलालाई उस्तै पर्दा डुवाउंछ तर आखिर नदीको पानी घटेपछि वर पर न वालुवाको थुप्रो रहन्छ न ढुंगा र गेगर नै । यो ऐतिहासिकस्थलको आफनै चरित्र छ । सधै सुरक्षित रहने स्थान छानेर जैमिनिले तपस्या गरेको हुनुपर्छ ।
भारतीयहरू नक्कली लुम्बिनीको बेइमानीपूर्ण प्रचारबाजी गरेर बुद्ध भारतीय थिए भन्ने पाखण्डी प्रचार गर्दै आÏ्नो बनाउन प्रयत्नशिलछन् । तर हामी भने हाम्रा धरोहर लोप हुंदै गएको हेरिरहेका छौं । यसप्रकारका स्थानलाई विकास गरेर धार्मिक, ऐतिहासिक र पौराणिक पर्यटकीय क्षेत्रको विकास गर्न सक्ने बलियो संभावना छ ।
लोमाङ्थाङदेखि नारायणघाटसम्मको लागि कालीगण्डकी कोरिडोरको लक्ष्य छ । सरकारको घोषित लक्ष्यमा फेरवदल भएन र कालिको दायाँ किनारबाट त्यो निर्माण भयो भने दर्जनौं त्यसप्रकारका पर्यटकीय स्थलको विकास हुनेछ ।
काली किनार सुसाइ रहेको छ । कालीको सुसाइ संगै हाम्रा बैदिक, पौराणिक र ऐतिहासिक धरोहरहरू लोपहुंदै छन् । जैमिनि जस्ता महान् दार्शनिक विद्वानको योगसाधनाको आश्रयस्थलको ऐतिहासिक महत्व गुम्दै छ । जैमिनि त्यो बेलाको सापेक्षतामा धेरै टाढाबाट ज्ञान साधनाको लागि आएका थिएनन् होला । उनी वास्तवमै नेपाली थिए । म्याग्दीको पुलामा पुलहस्थ ऋषिले ज्ञानसाधना गरको ऐतिहासिक र पौराणिक तथ्य फेला परेको छ । यस प्रकारको प्रमाणित तथ्यलाई स्थापित गरेर र गौरव गर्न नसक्नु दुःखको कुरा हो । यसप्रकारका गौरब र शानलाई संरक्षण गरेर देशको शीर उचा राख्न सकिदैन र ?
माघ १५, २०६६
Comment Here