परिवार, वैवाहिक सम्बन्ध र नैतिकताको प्रश्न


विगत केही वर्षयता कम्युनिस्ट नैतिकताको विषयमा निकै विवाद चल्दै आएको छ । नैतिकताको प्रश्नलाई विभिन्न सामाजिक मान्यता, धर्म, संस्कृति र परम्पराको आधार बनाई हेर्न र त्यसैको आधारमा के सही के गलत भनी पत्ता लगाउने प्रयत्न गर्ने हो भने विषयवस्तुको पत्तो लाग्ने छैन । सामन्तवादी पुँजीवादी आर्थिक ढाँचा भएको हाम्रो देशमा सामाजिक मान्यता, कानून र परम्परा सामन्तवर्गको हितलाई बलपुग्ने किसिमको हुनु स्वाभाविकै हो । यसै पृष्ठभूमिमा प्रतिक्रियावादी दृष्टिकोण र परम्परागत धारणाबाट अभिप्रेरित व्यक्तिहरूले यौनलाई हेर्ने दृष्टिकोण र नैतिकताको प्रश्नमा ठूलो हल्ला मच्चाइ केही गलत दृष्टिकोण पेश गर्ने गर्दछन् । यसले सर्वहारा क्रान्तिकारी आन्दोलनलाई गम्भीर क्षति पुर्‍याउनुको साथै प्रतिक्रियावादी दक्षिणपन्थी अवसरवादीहरूलाई फाइदा पुर्‍याउँछ । सच्चा माक्र्सवादी सर्वहारा दृष्टिकोण राख्न नसक्नुको कारण विवाह, प्रेम, यौन नैतिकता सम्बन्धमा लामो समयदेखि स्पष्ट दृष्टिकोण आउन सकेन र अझैसम्म पनि यस विषयमा कतिपय भ्रम र विवादहरू रहिरहेका छन् ।

हाम्रो सामाजिक मान्यता र परम्परा कुन वर्गको स्वार्थ संरक्षणमा खडा भएको छ ? हाम्रो विवाह पद्धतिको मूल स्वरूप के हो ? विवाह, प्रेम, यौन यी तीनै कुराको सामाजिक एवं कानूनी मान्यता र हाम्रो दृष्टिकोण के हो ? प्रष्ट गर्नु आवश्यक छ । त्यसको लागि सबै पक्षको समाज विकासको ऐतिहासिक पृष्ठभूमिमा बेग्लाबेग्लै चरणलाई विस्तृत अध्ययनको आवश्यकता हुन्छ तर यहाँ केही पक्षमा संक्षेपमा विचार गरिन्छ ।

नेपाल भौगोलिक विविधताको देश हो । यहाँ विविध जाति, जनजाति, भाषा, संस्कृति, रीतिस्थिति, परम्परामा पनि विविधता मौजुद छ । धर्म, संस्कृति र संस्कार सबै जातिको आ-आफ्नै भए पनि नेपालको राजनैतिक सत्तामा केही शताब्दीयता हिन्दू जाति रहिआएकोले नेपाली नियम कानूनहरू पनि यही जातिको परम्परा, प्रथा, संस्कार, संस्कृति र धार्मिक नियमबाट प्रभावित र प्रतिपादित हुँदै आएको छ । नेपालका अल्पसंख्यक आदिवासी जनजातिहरू माथि हिन्दू जातिको अतिक्रमणले भाषा, संस्कृति, साहित्य आदि सबै क्षेत्रमा शोषण गरेको छ र ती उत्पीडित जातिका सबै भाषा, संस्कृति, संस्कार प्रायः लोप हुँदै गएका छन् । हिन्दू कानूनको आधारमा प्रतिपादित विवाह पद्धतिले केवल सम्पन्न हिन्दू धर्मावलम्बीको हित र स्वार्थलाई मात्र संरक्षण गरेको छ । यसबाट एकातिर आम महिला वर्ग र अर्काेतिर हिन्दू समाजको विपन्नवर्ग अत्यन्तै पीडित छ ।

मातृसत्तात्मक समाजको अन्त गरेपछि आफ्नो सत्ता अनन्त कायम गर्न वंशमा पुरुष पक्षको उत्तराधिकारी सुनिश्चित गरी यसरी सम्पूर्ण पैतृक सम्पत्ति जिम्मा लगाउन एकनिष्ट विवाह पद्धतिको विकास भएको हो । उत्पादन साधनहरूमाथि पुरुषहरूले अधिकार जमाइसकेपछि महिलावर्गलाई सम्पूर्ण अधिकारबाट बञ्चित गरी आफ्नो शोषणलाई टिकाइराख्न पुरुषहरूले विभिन्न नियम, उपनियम, कानून, धार्मिक ग्रन्थ, टीका आदिको प्रतिपादन गरी त्यसलाई संस्कारगत रूपमा अगाडि बढाए । एकनिष्ट विवाह पद्धतिको सूत्रपात प्रारम्भिक कालबाटै भएको मानिएको छ । यसै प्रसंगमा एंगेल्स भन्नु हुन्छ- “यसरी मोटामोटी रूपमा मानवविकासको तीन मुख्य युगअनुसार विवाहका पनि तीन मुख्य रूप पाइन्छन्- जंगलयुगमा युथ विवाह, बर्बर युगमा युग्म विवाह र सभ्ययुगमा एकनिष्ठ विवाह, त्यसका साथसाथै रहेको व्यभिचार तथा वेश्यावृत्ति”१

सामन्ती पुँजीवादी समाजमा एकनिष्ट विवाहको साथसाथै त्यसको विकृतिरूप व्यभिचार र वेश्यावृत्ति रहँदै आएकोले त्यस परिवारबाट उत्पन्न वंशगत उत्तराधिकारीलाई एकनिष्ट मान्न सकिदैन । अर्काेतिर हिन्दू कानूनले पुरुषका लागि युथ तथा युग्म विवाहको अख्तियार गरेकोले यसको विकृतरूप मात्र समाजमा रहिआएको छ । पुरुषले जे गरे पनि छुट र महिलालाई कठोर नियम प्रतिपादन हुँदै आएका छन् । यसै प्रसंगमा एंगेल्स अगाडि भन्नुहुन्छ- “पुरुषहरूको लागि वास्तवमा आज पनि युथ विवाह प्रचलित छ । नारीहरूको लागि जुन कुरा ठूलो अपराध मानिन्छ र जसको सामाजिक एवं कानूनी परिणाम भयानक हुन्छ, त्यही पुरुषको सम्मानप्रद कुरा या बढीभन्दा बढी भए केवल मामुली नैतिक धब्बा मात्र सम्भिmइन्छ ।”२ यसबाट सामन्ती पुँजीवादी समाजमा यौन विकृति, यौन अपराध र सामाजिक असन्तुलन पैदा हुँदै गएको छ भन्ने कुरा प्रस्ट हुन्छ । पुरुष खुलेर परस्त्री गमनतिर उद्दत हुन्छ, बहुपत्नी बनाउछ तर सामाजिक सम्मानमा कुनै आँच आउँदैन । तर महिला अर्काे लोग्नेसँग गइन भने तिरस्कार गरिन्छ । यही सामाजिक परिवेश र परम्परागत मान्यतालाई आधार बनाई यौन नैतिकताको निक्र्याैल गर्ने प्रयत्न गर्नु वर्गीय दृष्टिकोणको दरिद्रता सिवाय अरु केही हुन सक्ने छैन ।

हाम्रो परम्परामा प्रेमलाईभन्दा विवाहको औपचारिकतालाई बढी जोड दिइएको छ । र प्रेमको अर्थ केवल यौन प्रेमसम्म सीमित गरिन्छ । अभिभावकले आफ्ना जवान छोरालाई एक उपयुक्त पत्नी खोजी विवाह गरिदिन्छन् । विवाहपछि मात्र प्रेम शुरु हुन्छ । यौनप्रेम क्षणिक र वासनायुक्त भएको हुनाले उनीहरूबीच सच्चा प्रेम हुन सक्दैन । उनीहरूको व्यवहार र दृष्टिकोणमा अन्तर पर्न जान्छ अनि दुवै गलत बाटो अवलम्बन गर्न थाल्दछन् । यसै प्रसंगमा एंगेल्स भन्नुहुन्छ- “आमाबाबु आफ्ना युवा पुँजीवादी छोराको लागि एक उपयुक्त पत्नी खोजिदिन्छन् । त्यसको स्वाभाविक परिणाम एकनिष्ट विवाहमा निहित अन्तर्विरोधहरू पूर्णरूपमा देखा पर्छन्- पति जमेर परस्त्रीगमन गर्छ पत्नी जमेर व्यभिचार ।”३ यस किसिमको स्वेच्छाचारितालाई बलपुग्ने विवाहपद्धति नै हाम्रो समाजमा प्रचलित छ । पौराणिककालदेखि यौन स्वच्छन्दता र भ्रष्टताका उदाहरणहरू प्रसस्तै पाइन्छन् । हामीले यस सामाजिक परिप्रेक्ष्यमा जुन कुरालाई नैतिक सम्झेका छौं र देखेका छौं त्यो सबभन्दा अनुशासन हीन र भ्रष्ट हुनसक्छ ।

विवाह र प्रेम दुवै अभिन्न अनुभूतिहरू सामानान्तर रूपमा रहनुपर्छ । विवाहका साथ प्रेम छैन र प्रेमपूर्ण विवाह हुँदैन भने दाम्पत्य जीवन कष्टप्रद र बोझ हुन्छ । प्रेमपूर्ण विवाहको लागि वर्गस्वार्थ, वर्गहीन र वर्गदृष्टिकोण मिल्नुपर्छ । उत्पीडित समाजका बहुसंख्यक श्रमजीवी जनताले अंगिकार गरेको नैतिक मान्यतालाई नै सर्वमान्य पद्धतिको रूपमा विकसित गराउनु पर्छ । कम्युनिस्टहरू वर्गगत सामाजिक मान्यता र नैतिकतालाई मान्दैनन् । पुरुषले महिलामाथि शोषण गर्न र पुँजीपतिहरूले सम्पूर्ण श्रमिक सर्वहारामाथि शोषण गर्न जुन नियम-कानून सामाजिक मान्यता र नैतिकताको दुहाइ दिएका छन् त्यो उत्पीडित जनताको नैतिकताभित्र पर्दैन र त्यसको उल्लंघन भएकोमा ठूलो अपराध भएको ठान्नु पुँजीवादी व्यवस्थालाई नै कायम राख्नुपर्छ भन्नु हो ।

वर्गगत नैतिकताको विषयमा लेनिन भन्नुहुन्छ- “शोषणको वर्गगत नैतिकतालाई कम्युनिस्ट मान्दैनन् । पुरानो संसारको विकृत स्वार्थपूर्ण विचारहरू तथा आचरणको विरुद्ध कम्युनिस्ट नैतिकतालाई उन्नत बनाउँछन्- त्यो नैतिकता सबभन्दा उदात्त र सबभन्दा बढी न्यायसंगत नैतिकता हो किनभने त्यसले सम्पूर्ण श्रमिक मानवताको हित र आदर्शको प्रतिनिधित्व गर्दछ ।”४ हाम्रो समाजको निम्नवर्गमा यौन नैतिकतामा जति इमानदारी, शुद्धता र व्यापक दृष्टिकोण छ त्यति माथिल्ला वर्गमा पाइदैन । श्रमजीवी वर्ग श्रमको पुजारी हो, श्रमप्रति निष्ठा राख्छ, त्यसमा नै समर्पित छ र त्यसैको कदर गर्छ । भोगविलास, वासना र बेइमानी गर्ने उनीहरूलाई फुर्सद हुँदैन । खेतवारी, उकालीओराली, कलकारखानामा जहाँ भए पनि कठोर श्रम गर्दछन् । जीविकोपार्जनको लागि स्त्री र पुरुष दुवैको श्रम लागेको हुन्छ । दुवै एक आपसमा संवेदनशील हुन्छन्, हार्दिक प्रेम हुन्छ र चोखो माया पि्रति । उनीहरूलाई बेइमानी गर्ने फुर्सद हुँदैन । यदाकदा लोग्नेस्वास्नीको दृष्टिकोण, व्यवहार र स्वार्थमा फरक परे सजिलैसँग सम्बन्ध विच्छेद गर्दछन् र मनपर्ने रोज्दछन् । त्यसपछिको उनीहरूको जीवन दुःखसुखमा समान सहभागी भएर रहेको हुन्छ । त्यहाँ न विश्वासको संकट पर्छ न आपसी शंका नै । ती परिवारमा महिला उत्पादन कार्यमा बढी संलग्न भएकोले केही स्वतन्त्र छन् र जे छ त्यसैमा सन्तुष्ट छन् । त्यसैले त्यहाँ अनैतिकताको गुञ्जाइस रहँदैन । नैतिकताको विकास उत्पादनमा समान सहभागिता र समान उपभोगबाट हुन्छ । विश्वको हालको भौतिक विकासको स्वरूप कायम गर्ने श्रमजीवी वर्गको नैतिकता नै सच्चा नैतिकता हो । लेनिन भन्नुहुन्छ- “मजदुरवर्गको क्रान्तिकारी नैतिकताले समाजको नैतिक उन्नतिको लागि विशेष महत्व राख्दछ ।”५ त्यसैले नैतिक र अनैतिकको अन्तर गर्न पुँजीवादी परिवेशबाट अलग दृष्टिकोणको विकास गर्नु आवश्यक छ ।

महिला एवं पुरुषबीचको शारीरिक सम्बन्ध अनिवार्य आवश्यकता हो । यसको ठीक समयमा हल हुन सकेन भने व्यक्तिमा मनोवैज्ञानिक असर पर्न सक्छ र यौन विकृति पनि देखापर्न सक्छ । यसको हल दुई किसिमले हुन्छ -१) वर्तमान उत्पादन प्रणालीको आधारमा -२) क्रान्तिकारी सर्वहारा दृष्टिकोणको आधारमा । वर्तमान उत्पादन प्रणालीको आधारमा हुने हल व्यभिचार र वेश्यावृत्ति नै हो । लोग्नेस्वास्नीमा एकआपसी दाउपेच हुन्छ । न त्यहाँ सच्चा प्रेम हुन्छ न वैवाहिक मान्यता नै । आन्तरिक रूपमा वैवाहिक सम्बन्ध विघटन भइसकेको हुन्छ तर बाहिर सामाजिक मान्यता र नैतिकताको डरले बनावटी पतित्व र पत्नीत्वको ढोंग प्रदर्शन भएको हुन्छ । क्रान्तिकारी सर्वहारा दृष्टिकोणको आधारमा हुने हल लोग्नेस्वास्नीबीच आपसी असन्तुष्टि रहे एक आपसमा सहर्ष सम्बन्ध विच्छेद गर्दछन् । सच्चा प्रेम दिन र लिन सक्नेको छनोट समान लक्ष र उद्देश्यबाट अभिप्रेरित कार्यक्षेत्रमा मात्र हुनसक्छ । उनीहरूबीच हुने सिद्धान्तनिष्ट वैवाहिक सम्बन्धमा मात्र एकनिष्ठता अडेको हुन्छ र उनीहरू कट्टर आत्मानुशासनको पालन गरी उच्च नैतिकता कायम गर्न सक्छन् । विचार, व्यवहार, दृष्टिकोण र उद्देश्य समान मिल्न नसक्ने लोग्नेस्वास्नी बीच एकनिष्ठता र नैतिकताको गलत आधार बनाई जबर्जस्ती सँगै बस्नुपर्छ भन्नु विवाह र यौनलाई हेर्ने अत्यन्तै रूढिवादी प्रतिक्रियावादी दृष्टिकोण वासना तृप्तिको लागि मात्र प्रत्येक पेटीकोटको पछि लाग्नु पनि अत्यन्तै प्रतिक्रियावादी पुँजीवादी छाडा व्यवहार हो । क्रान्तिको रक्षाको लागि सम्बन्ध विच्छेद अत्यन्त अनिवार्य र ठीक हो भने वासनाको लागि अत्यन्त ठूलो अपराध । त्यसैले जुन हदसम्म प्रत्येक पेटीकोटको पछि लाग्ने लोग्ने मानिसको अविचलतामाथि विश्वास रहँदैन त्यत्तिकै प्रत्येक लोग्नेको क्रान्तिकारी मार्गमा अवरोध खडा गर्ने महिलाप्रति पनि विश्वास रहँदैन ।

‘समाज’ महिला र पुरुषको समान सहभागिता संरचना हो । क्रान्ति र परिवर्तनको लागि उनीहरूको समान सहभागिताको आवश्यकता छ । लेनिन भन्नुहुन्छ- “महिलाहरूको सहभागितामा क्रान्तिको सफलता भरपर्ने कुरा सबैजसो मुक्तिआन्दोलनको अनुभवले प्रमाणित गरेको छ ।”६ उनीहरूप्रति शुद्ध र व्यापक दृष्टिकोण राख्न नसक्नु उनीहरूप्रति सधैं अविश्वास, संकुचित संकास्पद दृष्टिकोण राख्नु, उनीहरूलाई दास बनाइराख्नु र क्रान्तिकारी काममा समान सहभागि नबनाई अलग गर्न खोज्नु प्रतिक्रियावादी दृष्टिकोण हो । आम रूपमा महिलाहरू प्रतिक्रियावादीहरूबाट मात्र लुटिएका र ठगिएका हुन्नन् । उनीहरू लोग्ने जातिप्रति सधैं सशंकित र सतर्क छन् । र विश्वासको संकट छ । त्यसैले उनहिरूको आत्मा जीति क्रान्तिकारी कार्यमा समान सहभागी बनाउन निरन्तर प्रयत्न हुनुपर्छ । लेनिन अगाडि भन्नुहुन्छ- “महिलाहरूलाई सामाजिक क्रियाकलाप, सैनिक शक्ति र राजनैतिक जीवनको लागि प्रोत्साहित गरिदैन र उनीहरूलाई घरायशी कामकाजको मृतक वातावरणबाट छुटकारा दिइदैन भने समाजवादको कुरा पर छाडौं केवल नारी प्रजातन्त्र र प्रजातन्त्रको कुरा समेत असम्भव हुने छ ।”७

क्रान्तिमा महिला सहभागिताको कुरा हामोजस्तो पिछडिएका उत्पादनप्रणाली र जनचेतना भएको देशमा त्यति सजिलो छैन । त्यसमा पनि महिलाहरूको चेतना र स्थिति अत्यन्तै नाजुक छ । स्वयं वामपन्थी आन्दोलनमा सहभागी मित्रहरूको परिवार राजनीतिक रूपले सचेत र मुक्त हुन सकेको छैन । प्रत्येक मित्रहरू आफ्नो परिवारसँग सम्झौता गरी घरको मृतक वातावरणमा छोडि आएका छन् र उनीहरूलाई क्रान्तिको निम्ति सचेत, सरिक र सहभागी बनाउने कुरा अत्यन्तै उपेक्षा भएको छ । परिवार र वामपन्थी मित्रबीचको अन्तर्विरोध घरायसी मामलामा घुन पुत्लो नलाग्ने दिनसम्म मित्रतापूर्ण रहन्छ तर त्यसमा फरक परे यो परिवारबाट अलग हुनुपर्छ या क्रान्तिकारी लाइन छोड्नु पर्छ । हिजो कैयौं व्यक्तिहरूले पलायनको बाटो लिइ आफ्नो कुटो कोदालो पक्डन पुगी वामपन्थी आन्दोलनलाई कमजोर पारे भने अर्काेतिर यही सम्झौतापरस्त प्रवृत्तिको हतियारले क्रान्तिकारीमाथि आक्रमण भएको छ । यो अत्यन्त खतरनाक प्रवृत्ति हो र यसबाट मुक्त हुन नितान्त आवश्यक छ । मानव समाजमा विवाहका धेरै प्रणाली भए पनि व्यवहारमा मुख्यतः तीन वता देखा पर्दछन् । प्रथम प्रेम विवाह, द्वितीय व्यवस्थापन विवाह, तृतीय जवर्जस्ती विवाह । प्रेम विवाह सबभन्दा उन्नत विकसित र सफल विवाह हो । नेपाली समाजमा मुख्य स्थान व्यवस्थापन विवाह अर्थात बाबुआमा वा इस्टमित्रले केटाकेटी जुराइ दिएर गर्ने विवाह बढी प्रचलनमा छ । हिन्दु परम्पराको जगमा खडा भएको यो प्रणाली बनेको पारिवारिक संरचना नै हाम्रो समाज हो । जवर्जस्ती विवाहको परम्परा भारतको आदिवासी जनजाति र नेपालको पछिडिएको समाजमा अवशेषको रुपमा कतै कतै भए पनि त्यो लोपहुँदै गएको छ । विवाह प्रममा आधारित हुनुपर्छ र प्रेम विवाह नै उन्नत र विकसित विवाह हो ।

पूँजीवादी समाजमा प्रेमको परिभाषालाई यौन प्रेममा केन्दि्रत गरिएको छ र यौन तुष्टिका लागि लोग्नेले पात फेरेझैं श्रीमती फर्ने र स्वास्नीले लोग्ने रोज्दै हिँड्ने घृणित हिप्पी संस्कृतिको विकास भएको छ र पारिवारिक संरचना विघटन हुँदै गएको छ । महिलालाई गर्भपतन र सम्बन्ध विच्छेदको अधिकार सुरक्षित हुनुपर्द । सम्बन्ध विच्छेद र गर्भपतनको अधिकासको अर्थ साम्राज्यवादी समाजमा जस्तो भ्रष्ट, पतित र अराजक होइन । यौन स्छन्दता, नग्नता र भ्रष्टता पूँजीवादी संस्कुतिको पतनको पराकाष्टा हो । आत्मसम्मान, आत्मानुशासन र इमान्दारी सर्वहारा वर्गको उच्च आदर्श, मुल्य र मान्यता हो । त्यो मान्यताको विकास प्रेम विवाह र वर्गीय प्रेम र आदर्शको जगमा उभेको हुन्छ ।

नेपालको वामपन्थी आन्दोलनमा अन्तरजातिय विवाहबारे प्रश्न खडा हुने गरेको छ । समान सक्त सम्बन्धको बीच जन्मिने वच्चा उन्नत विकसित र सक्षम हुने भएकोले नै हिन्दु परम्परा अनुसार सगोत्रिय विवाह वर्जित गरिएको हुनुपर्छ । भिन्न रक्त सम्बन्ध वा नस्लबाट जन्मेको वच्चा उन्नत र विकसित हुने कुरा जीव विज्ञानले पुष्टि गरी सकेको छ । अन्तरजातिय ववाह त्यो आधारमा पनि उन्नत सही र विकसित छ । त्यसबाट जाति, वंशको विनास वा भ्रष्टिकरण हुने तर्क पनि आउन सक्छ । जाति वा जनजातिको विकासको ऐतिहासिक भौतिकवादी नियमको आधारमा राज्यसत्ताको विकासको साथसाथै भएको हो । विकासक्रममा वर्तमान सामाजिक संरचना सबै विकसित हुनेछ अर्थात वर्तमान संरचनालाई ऐतिहासिक भौतिकवादी विकासको नियमले ध्वंस र धरासायी बनाएको छ । हामीले वर्तमान सामाजिक संरचनामा विकास गर्न सक्छौं तर यसलाई जस्ताको तस्तै राख्न सक्दैनौं, त्योे आग्रह गर्नु मूर्खता हुनेछ ।

विवाह प्रेममा आधारित हुनु हुन्छ । प्रेम सार्वभौम हुन्छ । यसलाई जाति वा जनजातिको बीच सीमित गर्नु संकिर्णता हुने छ । प्रेमलाई जातिय वा राष्ट्रिय सीमा भित्र कैद गर्न सकिदैन । अन्तरजातिय विवाहलाई सर्वहारावर्गले अस्वीकार वा विरोध गर्न सक्दैन र मिल्दैन । तर त्यो प्रेममा आधारित हुनुपर्छ ।

वर्तमान समाज पुरुष प्रधान समाज हो । पुरुष सम्पत्ती र सत्ताको उत्तराधीकारी पनि हो । आफ्नो उत्तराधिकारी सुनिश्चित गर्न पुरुष जातिले आफ्नो स्वार्थ अनुकुलको नियम कानुन परम्परा संस्कार संस्कृति र सामाजिक संरचना बनायो । एकनिष्ठ विवाह र त्यसै अनुसारको पारिवारिक सम्बन्ध र सामाजिक संरचना बन्यो । वर्तमान पारिवारिक तथा सामाजिक संरचना त्यसैकारण महिला माथिको शोषण र उत्पीडनको जगमा खडा छ र त्यसलाई ध्वंस गर्नु जरुरी छ ।

वच्चालाई आमाले दश महिना गर्भमा राखेर जन्म दिन्छिन् । त्यसैले आमा र छोराछारीको अत्यन्तै नजिकको सम्बन्ध छ । बाबुको छोरा छोरी सितको सम्बन्ध औपचारिक मात्रै हो । बाबुको ठेगान आमाले मात्र लगाउन सक्छिन् । वर्तमान प्रतिक्रियावादी समाजमा लाखौं वच्चाका असली बाबुहरू गुमनाम छन् र नक्कली बाबुका सन्तान हामीहरू हाऔं । यसो भन्नुको अर्थ हामीले बाबुलाई अनास्था, अपमान र अन्याय गर्न खोजेको होइन र यो कुनै व्यक्ति विशेषको पाप पनि होइन । यो समग्र प्रतिक्रियावादी पारिवारिक संरचना र स्वयं पुरुष प्रधान समाजले पैदा गरेको स्थिति हो ।

नेपाली समाजमा नागरिकताको लागि बाबुको नाता प्रमाणित हुनुपर्छ । जन्म दिने आमालाई छोराछोरीको नाता प्रमाणित गर्ने अधिकारबाट वन्चित गरिएको छ । वर्तमान विश्वमा प्रत्यक्ष रुपमा जो सँग रगतको सम्बन्ध गाँसिएको छ र जुन आमाले वच्चाको जन्म दिन्छिन् नाता प्रमाणित गर्ने र बाबुको ठेगान लगाउने अधिकार उनैलाई हुनुपर्छ र त्यसका लागि सामाजिक वातावरण र कानुनी व्यवस्था गर्नु आवश्यक छ । समाजमा त्यो स्थिति कायम भैसके पछि वर्तमान परिवारिक संरचना र सामाजिक सम्बन्ध ध्वंस हुनेछ ।

माक्र्सवादले एकनिष्ठतामा विश्वास गर्छ । चीनिया समाजमा सर्वहारा साँस्कृतिक क्रान्तिकालमा भएका प्रेम विवाह अत्यन्तै सफल भएको र त्यो बेला सम्बन्धविच्छेदको केश नितान्त थोरै आएको कुरा सन् १९७३कोे एउटा तथ्याङ्कमा देखाएको छ । प्रेम र एकनिष्ठताका बीच अभिन्न सम्बन्ध छ । एकनिष्ठताको अर्थ यान्त्रिक र रुढिवादी शुद्धता होइन वर्गीय प्रेम र भावनात्मक सचेत अभिव्यक्ति हो ।

नेपालको वामपन्थी आन्दोलनको इतिहासमा विवाहसम्बन्ध विच्छेद जस्ता अत्यन्तै सामान्य व्यवहारिक प्रश्न आउँदा कतिपय व्यक्तिहरू अत्यन्तै आतंकित हुन पुगेको पाइन्छ । न यसलाई माक्र्सवादी ढंगले हल गर्ने प्रयत्न नै भएको देखिन्छ न स्पष्ट नीति र दृष्टिकोण अगाडि आउन सकेको देखिन्छ । विगतका यस विषयमा भएका केही निर्णयहरू परम्परागत रुढिवादी दृष्टिकोण र पुँजीवादी सम्झौतापरस्त प्रकृतिमा आधारित देखिन्छ भने केही प्रतिशोधात्मक प्रवृत्तिमा आधारित । पहिलोले क्रान्तिकारी दृष्टिकोणलाई विखण्डित गरी कम्युनिष्ट नैतिकतालाई गोलमटोल बनाई दक्षिणपन्थी अवसरवादीलाई फाइदा पुर्‍याएको पाइन्छ भने दोस्रोले सम्झौताको लागि मध्यस्थता गरी वामपन्थी आन्दोलनलाई विघटनको स्थितिमा पुर्‍याएको सुनिन्छ ।

विवाह, पारिवारिक सम्बन्ध, यौन नैतिकता, कम्युनिस्ट नैतिकता आदि सबै पक्षको माक्र्सवादी विश्लेषण, सच्चा सर्वहारा दृष्टिकोण र क्रान्तिकार व्ियवहारबाट मात्र सबै कुराको टुंगो लाग्न सक्ने भएकोले हाम्रा क्रान्तिकारी युवकहरूलाई कार्यक्षेत्रमा आफ्नो वैवाहिक सैद्धान्तिक सम्बन्ध गाँसी उच्च सामाजिक मान्यता आदर्शको प्रतिस्थापनाको लागि सबै किसिमका गलत निर्णय, विश्लेषण र धारणाबाट मुक्त पार्नु आवश्यक छ । यसले विगतका गल्तीलाई रोकी वर्तमान उत्पादन प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउन निणर्ायक भूमिका निर्वाह गर्नेछ, किनभने आखिर “यो कुरा स्वतः स्पष्ट छ कि उत्पादनको तरिका अब खतम हुनेछ, त्यसबाट उत्पन्न महिलाहरूको पञ्चायती पत्नीत्वको स्थिति पनि मेटिने छ”८ र सम्पूर्ण शोषणको अन्त हुनेछ ।

(झिल्को, वर्ष-७, अंक-१, २०४३ असोज-मंसिर)

फुट नोटः

१ परिवार व्यक्तिगत सम्पत्ति र राज्यसत्ताको उत्पत्ति, पृष्ठ ९९

२ ऐ.ऐ, पुष्ठ १००

३ ऐ.ऐ. पृष्ठ ९३

४ कम्युनिस्ट नैतिकता

५ परिवार, व्यक्तिगत सम्पत्ति र राज्यसत्ताको उत्पत्ति, पृष्ठ ९३

६ सम्पूर्ण सोभियत कामदार महिलाहरूको पहिलो महाधिवेशनमा भाषण-१९ नोवेम्वर, १९१८, ओमेन एण्ड कम्युनिज्म, पृष्ठ ४९

७ अराफबाट पत्रहरू, पत्र १११, ओमेन एण्ड कम्युनिज्म, पृण्ठ ४७

८ कम्युनिस्ट नैतिकता पृष्ठ १९