क. माओका योगदानहरू अमर रहून्


क. माओका योगदानहरू अमर रहून्

अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान् नेता तथा विचारक क. माओ त्से तुङको ११७ औं जन्मोत्सवको अवसरमा एकीकृत नेकपा (माओवादी) संसारभरका क्रान्तिकारीहरू र उत्पीडित जनसमुदायमा जुझारु अभिवादन टक्रयाउँछ ।

छिमेकी चीनको हुनान प्रान्तको शाओसानमा आजैका तिथि अर्थात् सन् १८९३ दिसेम्बर २६ मा माओ त्से तुङको जन्म भएको थियो । मध्यम किसान परिवारमा जन्मनुभएका माओ चिनिया कम्युनिस्ट पार्टीका संस्थापकमध्ये एक हुनुहुन्थ्यो । उहाँ चीनको बहुचर्चित लामो अभियान, जापानविरोधी युद्ध (१९३७-४५) र मुक्ति युद्ध (सन् १९४६-४९) का नेता एवम् नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक हुनुहुन्थ्यो । उहाँ क्रान्तिपछि चीनलाई समाजवादी बाटोमा लैजाने वा पुँजीवादी बाटोमा भन्ने प्रश्न टड्कारो बनिरहेको बेला सुरु भएको महान् सर्वहारा सँस्कृतिक क्रान्तिको वास्तविक नेता पनि हुनुहुन्थ्यो । कमरेड माओले माक्र्सवादका तीनवटै संघटक अङ्ग- दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा गर्नुभएको गुणात्मक विकासले माक्र्सवादलाई तेस्रो, नयाँ र उन्नत माओवादको चरणमा पुर्‍यायो ।

विपरितहरूबीचको एकता, संघर्ष र रुपान्तरणको नियमलाई द्वन्द्वात्मक भौतिकवादको मूल नियमको रूपमा स्थापना, सही विचार ‘महापुरुष’को दिमागबाट होइन वर्गसङ्घर्ष, उत्पादनका लागि सङ्घर्ष एवं वैज्ञानिक प्रयोगबाट आउनेमा जोड दिँदै इन्दि्रयग्राह्य ज्ञानबाट बुद्धिसङ्गत ज्ञानमा पुग्ने दुई-छलाङको ज्ञानसिद्धान्तको विकास र दर्शनलाई दार्शनिकहरूको अध्ययनकोठाबाट निकालेर आम जनसमुदायमा पुर्‍र्याई अजेय शक्तिमा परिणत गर्नुपर्ने आवश्यकता र त्यसको विधिबारेको अनुसन्धान दर्शनशास्त्रमा क. माओले गर्नुभएका गुणात्मक योगदान हुन् ।

सामन्तवाद र दलाल पुँजीवादको ठिमाहा सन्तानको रूपमा नोकरशाही पुँजीवादको अन्वेषण, नयाँ जनवादी अर्थनीतिको सूत्रीकरण, सोभियत अर्थशास्त्रको आलोचनात्मक अध्ययन सहित ‘दुई-खुट्टे’ अर्थनीतिमा जोड, नोकरशाही आदेशद्वारा होइन जनताबीच सही अर्थनीतिको व्यापक प्रचारद्वारा जनताकै सहभागिता र पहलमा आर्थिक विकास गरिनुपर्नेमा जोड, ‘क्रान्तिलाई पकड, उत्पादन बढाऊ’, ‘लाल र निपुर्ण’ लगायतका नाराको विकास राजनीतिक अर्थशास्त्रको क्षेत्रमा क. माओले गर्नुभएका गुणात्मक योगदान हुन् ।

अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक मुलुकहरूमा सम्पन्न हुने नयाँ जनवादी क्रान्तिको समग्र अवधारणा, गाउँबाट सहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धको सैन्य सिद्धान्त, सत्ता र साधनस्रोत दुरुपयोग गर्दै पार्टीभित्रैबाट पैदा भएको नोकरशाहीतन्त्रको बुर्जुवा मुख्यालयमा बमवषर्ाको आह्वानसहित महान् सर्वहारा सँस्कृतिक क्रान्तिको उद्घोष, त्यसको नेतृत्व र सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रन्तिसम्बन्धी मान्यताको विकास, स्टालिनका ७० प्रतिशत सकारात्मक योगदान र ३० प्रतिशत कमजोरी रहेको मूल्याङ्कन गर्दै पार्टीसम्बन्धी एकमानावादी मान्यताको खारेजी र द्वन्द्ववादी मान्यताको विकास, उच्च केन्द्रीयताका लागि उच्च जनवादको मजबुत जग निर्माणमा जोड दिँदै ‘सयौं फूलहरू फुल्न देऊ’ भन्ने आह्वान र जनताबाट लिएर जनतालाई दिने जननीतिको विकास क. माओले वैज्ञानिक समाजवादका क्षेत्रमा गर्नुभएका गुणात्मक योगदान हुन् ।

साम्राज्यवाद राणनीतिक रूपमा कागजी बाघ र कार्यनीतिक रूपमा साँच्चिकै बाघ होÙ आउँदा ५० र १०० वर्ष उथलपुथलका वर्ष हुनेछन् र कि त विश्वयुद्धले क्रान्ति जन्माउँछ कि त क्रान्तिले विश्वयुद्ध रोक्छ तर अहिलेको विश्वको मूल प्रवृत्ति क्रान्ति हो भनी क. माओले गर्नुभएको विश्लेषणले आज एक्काइसौं शताब्दीका माओवादी क्रान्तिकारीहरूलाई पनि क्रान्तिका रणनीति र कार्यनीति तय गर्न दिशानिर्देश गरिरहेको छ ।

रुसी क्रान्तिको अन्धानुकरण गर्न खोज्ने जडसूत्रीय प्रवृत्तिसँगको निरन्तर संघर्षको क्रममा क. माओले माक्र्सवादलाई चिनिया सन्दर्भमा मौलिक ढंगले लागू गर्नुपर्ने र व्यवहारबाट त्यसलाई अझ विकसित गर्नुपर्नेमा निरन्तर जोड लगाउनुभयो । यदि माओले त्यसो नगरेको भए माक्र्सवाद-लेनिनवादको माओवादमा विकास हुन सम्भव हुन्थेन । आजको एक्काइशौं शताब्दीको नेपाली क्रान्तिको सन्दर्भमा पनि मालेमाको रक्षा, प्रयोग र विकास खासगरी विकासको प्रश्न विशेष पेचिलो बन्न गएकोतर्फ सम्पूर्ण क्रान्तिकारीहरूको ध्यानाकर्षण गराउनु यहाँनिर वाञ्छनीय नै हुनजान्छ ।

अन्त्यमा, हामी माओ जयन्तीको अवसरमा संसारभरिका क्रान्तिकारीहरूलाई माओका विचार र उच्च आदर्शको सच्चा अनुयायी बन्दै विश्व सर्वहारा क्रान्तिको झण्डालाई अझ माथि उठाउन आह्वान गर्दछौं । नेपाली क्रान्ति एकसाथ निकै सम्भावनायुक्त र चुनौतीपूर्ण घडीमा आइपुगको आजको सन्दर्भमा मालेमावादको झण्डामुनि गोलबद्ध भएर क्रान्तिका संभावनालाई साकार रूप दिन सम्पूर्ण नेपाली कम्युनिस्ट क्रान्तिकारीहरूलाई आह्वान गर्नु हामी आफ्नो ऐतिहासिक कर्तव्य ठान्दछौं । सामन्तवादी, साम्राज्यवादी र प्रतिक्रियावादीको हार र उत्पीडित वर्ग, जाति, क्षेत्र एवम् लिङ्गका जनसमुदायको जित सुनिश्चित छ । माक्र्सवाद-लेनिनवाद-माओवाद/विचार जिन्दावाद

११ पुस, २०६७

दिनानाथ शर्मा