पालुङटार, मंसिर २/आइतबारदेखि गोरखाको पालुङटारमा हुने एकीकृत नेकपा माओवादीको छैठौं विस्तारित बैठकको व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको छ ।
बिस्तारित बैठक व्यवस्थापनको जिम्मेवारी पाएको तमुवान राज्य समितिले सबै नेता तथा कार्यकर्ताहरु सहभागी हुने बैठकस्थलको तयारी अन्तिम चरणमा पुगेको बताएको हो । बैठकमा एकसय ४६ जना केन्द्रीय सदस्यका अलवा देशभर र प्रवासका सबै राज्य समिति र विभागीय राज्य समितिका सदस्य गरी झन्डै पाँच हजार नेता तथा कार्यकर्ताको सहभागीता रहनेछ । त्यसबाहेक सरकारी सुरक्षाकर्मी, आन्तरिक सुरक्षाकर्मी र वाइसीएलका स्वयमसेवक दस्ता गरी करिब दुई हजार थप शक्ति परिचालन गरिनेछ । पालुङटारको वडा नम्बर ७, ८ र ९ का घरहरुमा केन्द्रीय नेताहरु सहित सबै राज्यसमिति सदस्यहरुलाई राख्ने व्यवस्था गरिएको छ । बैठकस्थलमा समूहगत छलफलका लागि ७० बटा टहरा निर्माण भैसकेको छ । ती टहराको नम्बरिङ गर्ने काम पनि सकिएको छ । एक नम्वर टहरामा केन्द्रीय समितिको महत्वपूर्ण बैठक बस्नेछ । यस्तै शिशु स्याहार केन्द्र, दुईवटा स्वास्थ्यकेन्द्र ८८ हजार लिटर अट्ने तीनवटा पानी ट्यांकी र खानाको लागि किचन तथा डायनिङ हल, महिला तथा पुरुष शौचालय बनाउने काम पनि सकिएको छ । बैठकहल बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ । बैठकको बारेमा जानकारी दिनको लागि सहिद कृष्णसेन इच्छुक सूचना केन्द्र स्थापना गरिएको छ । केन्द्रमा इमेल इन्टरनेटको व्यवस्थ्ाा समेत गरिएको छ । बैठकस्थलसम्म पुग्नको लागि सडक विस्तार, तीन फेजको बिजुलीको लाइन विस्तार र खानेपानी लगायतको तयारी पुरा भैसकेको छ ।
फोटोः १ नं. टहरा, जहाँ केन्द्रीय समितिको बैठक बस्नेछ
Comment Here