स्थायी समिति बैठक सम्पन्न/पार्टी फुटको हल्ला खारेज


सिन्धुपाल्चोक, चैत्र २०/ एकीकृत नेकपा माओवादीले पार्टी फुटको हल्लालाई खारेज गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजाने निर्णय गरेको छ ।

सिन्धुपाल्चोकको सिकुटेमा हिजोदेखि बसेको बैठकले पार्टीलाई एकतावद्ध बनाई केन्द्रीय समितिले पारित गरेको नीति र कार्ययोजनालाई एक ढिक्का भएर कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकले पार्टीका नीति कार्यक्रम र योजनालाई कार्यान्वयन गर्न पार्टीका सबै नेता, कार्यकर्ता र आम जनतामा अपील गरेको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टीमा फुटको हल्ला प्रतिक्रियावादीहरुले गरेको अतिरञ्जित प्रजारबाजीमात्र भएको टिप्पणी गर्नुभयो । स्थायी समिति बैठकमा सबै नेताले खुलेर विहंगम छलफल र बहस गरेकाले अब केन्द्रीय समितिले पारित गरेका योजनालाई दृढतापूर्वक कार्यान्वयन हुने प्रचण्डले दावी गर्नुभयो । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सोधिएको प्रश्नमा प्रचण्डले प्रधानमन्त्रीसंग गृहमन्त्रालयका विषयमा एकपटक फेरि छलफल गर्नुपर्ने बताउनुभयो । आफ्नो पार्टीले गृह पाउने निश्चित भएपनि फेरि त्यसका बारेमा विवाद निकाल्न खोजिएकाले र फोरम नेपालसंग पनि छलफल गर्नुपर्ने भएकाले मात्र मन्त्रिपरिष्द विस्तारमा केही ढिलाई भएको उहांको तर्क थियो । कांग्रेसले ७ बुंदे सहमति खारेज गर्न माग गरेपनि त्यो संभव नभएको भन्दै अध्यक्ष प्रचण्डले सात बुंदेमा अड्को नथापी सरकारमा सहभागी हुन कांग्रेसलाई आग्रह गर्नुभयो । उहांले संविधान बनाउनका लागि सबै पार्टीको प्रतिवद्धता भए निर्धारित समयमा नै संविधान बन्ने जिकिर गर्नुभयो । पत्रकार सम्मेलनमा उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले पार्टीभित्रका मतभेद र अन्तसंघर्षलाई स्वस्थ्य वैचारिक बहसबाट अन्त्य गर्दै पार्टीको नीति तथा कार्यक्रमलाई सफल बनाउने दृढता व्यक्त गर्नुभयो । पार्टीको नीति कार्यान्वयन गर्नु पार्टीका सबै नेता, कार्यकर्ता र सदस्यको धर्म भएको उहांले बताउनुभयो । स्थायी समिति बैठकले पार्टीको तर्फबाट मन्त्रिपरिषद्मा पठाउने सदस्यहरुको टुंगो लगाउने जिम्मा केन्द्रीय कार्यालयलाई दिएको छ । यसैगरी चैत्र २४ गते देशका विभिन्न ठाउंमा जनआन्दोलन दिवस मनाउने निर्णय पनि गरिएको छ ।

प्रकाशित मिति २०६७ चैत्र २० गते साँझ ७ बजे