सहमतीय सरकारको नेतृत्व आफ्नै दलको नेतृत्वमा


काठमाडौं, माघ २/ एकीकृत नेकपा माओवादीले आÏनै नेतृत्वमा सहमतीय सरकार निर्माणका लागि पहल थाल्ने भएको छ ।

आज बसेको माओवादी स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्ने निर्णय गरेको हो । बैठकपछि माओवादी प्रवक्ता दीनानाथ शर्माले संविधानसभाको सबैभन्दा ठूलो दल भएकाले माओवादी नेतृत्वमा सहमतिको सरकार बन्नुपर्ने बताउनुभयो ।

बैठकले सेना समायोजन सम्वन्धि निर्णय गर्ने अधिकार पार्टी पदाधिकारीलाई दिएको छ । सरकार र माओवादीबीच भएको सहमति अनुसार एक साताभित्र जनमुक्ति सेनालाई विशेष समिति मातहतमा ल्याउने बिषयमा निर्णय लिने अधिकार पदाधिकारीकारीलाई दिइएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । बैठकले मंगलबार (माघ ३ गते)देखि देशब्यापी रुपमा प्रशिक्षण चलाउने निर्णयसमेत गरेको छ । बैठकले महोत्तरीमा पार्टी कार्यकर्ता रामचन्द्र यादवको गएराति अपहरणपछि हत्या भएकोमा निन्दा गर्दै समवेदना समेत ब्यक्त गरेको छ । बैठकले हत्यामा संलग्नमाथि कार्वाहीको माग गरेको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाबाट विद्रोह गरी एकीकृत माओवादीमा प्रवेश गर्ने घोषणा गरेका डिलाराम आचार्य नेतृत्वको समुहसँग पार्टी एकताबारे मंगलबार नै छलफल गर्ने निर्णय समेत गरेको छ ।