काठमाडौं भाद्र १६/एकीकृत नेकपा माओवादीले हतियार रहेका कन्टेनरका चाबी बुझाउने निर्णय फिर्ता नहुने स्पष्ट पारेको छ ।
पार्टी मुख्यालय पेरिसडांडामा आज बिहान बसेको स्थायी समितिको अनौपचारिक बैठकले साँचो हस्तान्तरणको निर्णय फिर्ता नगर्ने निर्णय गरेको हो । बैठकले पार्टीको पूर्व निर्णय अनुसार नै हतियारको साँचो बुझाउने कार्य भएको भन्दै शान्ति र संविधानप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । उपाध्यक्ष मोहन वैद्य पक्षको आन्दोलन उत्तेजना फैलाउनु मात्रै भएको भन्दै बैठकले भ्रम नफैलाउन समेत आग्रह गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।
स्थायी समितिको अनौपचारिक बैठक लगत्तै विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले असार १० गतेदेखि साउन ९ सम्म बसेको केन्द्रीय समिति र भदौ ८ गतेको स्थायी समितिको निर्णय अनुरुप नै लडाकूका हतियार र कन्टेनर विशेष समितिलाई हस्तान्तरण गरिएको बताउनुभएको छ । भदौ ८ गतेको स्थायी समिति बैठकले आफ्नो नेतृत्वमा सरकार बने लगत्तै लडाकू हतियार र कन्टेनर मूर्त रुपमा विशेष समितिलाई हस्तान्तरण गर्ने सर्वसम्मत निर्णय गरेको उल्लेख गर्दै प्रचण्डले साँचो हस्तान्तरण गर्ने निर्णय पार्टी विपरीत नभएको बताउनुभएको छ । उपाध्यक्ष बैद्यले पार्टी निर्णय विपरीत विज्ञप्ति प्रकाशित गरी विरोध गर्नु पार्टी पद्दति र निर्णय विपरीत भएको प्रचण्डले जनाउनुभएको छ । अध्यक्ष प्रचण्डले उत्तेजित नभई धैर्य र दृढतापूर्वक आधिकारिक निर्णयका पक्षमा रहन पार्टी कार्यकर्ता जनमुक्ति सेना र जनतालाई आग्रह समेत गर्नुभएको छ ।
प्रकाशित मिति : २०६८ भाद्र १६ दिउँसो १ बजे
Comment Here