सरकार गठनको पहल गर्ने निर्णय


काठमाडौं, १७ असार/ एकीकृत नेकपा माओवादीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि नयाँ सरकारबारे छलफल गर्न बिहिबार बसेको पार्टीको स्थायी समिति बैठकले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि पहल अघि बढाउने निर्णय गरेको हो । संविधानसभाको सबैभन्दा ठूलो दलको हैसियतले आगामी सरकारको नेतृत्व आफ्नो दलले गर्न पाउनुपर्ने माओवादी प्रस्ताव छ । माओवादीले सहमतीय सरकार गठनका लागि पहल गर्न अध्यक्ष प्रचण्डको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति समेत गठन गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले राष्ट्रिय सरकारले मात्र शान्ति र संविधान सुनिश्चित गर्न सक्ने भन्दै नयाँ सरकार गठनका लागि वार्ता र छलफल तीब्र बनाइने बताउनुभयो ।

वर्तमान गठबन्धन असफल भैसकेको भन्दै माओवादीले नयाँ सरकार निर्माणको लागि राष्ट्रपतिले प्रमुख प्रतिपक्षी माओवादीलाई आह्वान गर्नुपर्ने बताएको छ । बैठकले प्रधानमन्त्रीको राजीनामाले राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गरेको भन्दै राजीनामालाई सकारात्मक कदमको रुपमा लिएको छ । जेठ १४ गते भएको तीन बुँदे सहमतिको १ नम्बर बुँदा बृहत शान्तिसम्झौता अन्तर्गत पर्ने भएकाले अब बन्ने सरकारले नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्नुपर्ने प्रस्ताव पनि माओवादीले गरेको छ ।