शान्तिप्रक्रियाबारे तयार पारिएको कार्यतालिका शनिबार सार्वजनिक गरिने


काठमाडौं, असार २५/ एकीकृत नेकपा माओवादीले शान्तिप्रक्रियाबारेको कार्यतालिकासहितको प्रस्ताव शनिबार सार्वजनिक गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसको एकीकृत माओवादी पदाधिकारी बैठकले शान्तिप्रक्रियाबारेको कार्यतालिका शनिवार सार्वजनिक गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले शान्तिप्रक्रिया, सेना समायोजनलगायतका विषयको कार्यान्वयनका लागि तयार पारिएको प्रस्ताव सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उपाध्यक्ष प्रकाशले कार्यतालिकामा ‘अन्यायपूर्वक’ कब्जा गरिएको घरजग्गा फिर्ता, वाईसीएलको अर्धसैन्य संरचनाको अन्त्य लगायतका विषयसँगै द्वन्द्वकालमा राज्यका तर्फबाट कब्जा गरिएका घरजग्गाका विषय पनि समावेश गरिने बताउनुभयो । पदाधिकारी बैठकमा राष्ट्रिय सरकार निर्माणका लागि अन्य दलहरुसंँग भइरहेको सहमतिको प्रयासबारे पनि छलफल भएको थियो । राजीनामा दिनुअगाडि प्रधानमन्त्री माधवकुमार नेपालसँग अध्यक्ष प्रचण्डले गरेको भेटवार्तामा गोप्य सहमति भएको भन्दै प्रकाशित भएका समाचारको बैठकले खण्डन गरेको छ । बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नेपालसँगको भेटमा त्यस्तो केही सहमति नभएको जानकारी दिनुभएको थियो ।