एमाले परित्याग गरी एमाओवादीमा प्रवेश


काठमाडौं, ४ भाद्र/ एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य किरणले देशको राजनीतिक राष्ट्रपतिय शासनतिर जाने संकेत बढिरहेको बताउनुभएको छ ।

एमाले परित्याग गरि माओवादीमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै उपाध्यक्ष किरणले नेपाली राजनीतिमा देखिएका षड्यन्त्र र धोकाहरुले राष्ट्रपतिय शासनको संकेत गरेको तर्क गर्नुभयो । उहाँले राष्ट्रिय सहमतिका लागि माओवादी प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन तयार भएपनि काँग्रेस सहमतिका लागि बाधक बनेको जिकिर गर्नुभयो ।

माओवादी उपाध्यक्ष किरणले विगतका आन्दोलनको प्रतिफल बन्न लागेको नयाँ संविधान प्राप्त गर्न सकिनेमा अन्यौलता बढेको धारणा राख्नुभयो । एमालेका जिल्ला स्तरका नेताहरुलाई पार्टी प्रवेशमा स्वागत गर्दै उहाँले नाममा कम्युनिष्ट र काममा यथास्थीतिवादी प्रवृत्ति हावी भएकै कारण कम्युनिष्टहरुबीच फाटो आएको बताउनुभयो ।

एकीकृत माओवादीमा एमालेका जिल्लास्तरका ११ जना नेताहरु प्रवेश गरेका हुन् । माओवादीमा प्रवेश गर्नेहरुमा गण्डकी अञ्चल समन्वय कमिटीका पूर्व सचिब रामराज रेग्मी, संविधानसभा उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर १ का एमाले उम्मेदवार शालिग्राम पौडेल, अखिल नेपाल किसान महासंघका राष्ट्रिय समिति सदस्य ध्रुव ढकाल लगायत एमालेका जिल्लास्थित क्षेत्रीय सदस्यहरु दुर्गालाल चौधरी, रामकेवल माझी, नारायण बस्नेत, सुमित्रा माझी हुनुहुन्छ । त्यस्तै संगठित सदस्यहरु राजु ढकाल, तनुजा ढकाल, मणि ढकाल र रामबहाुर बिश्वकर्मा एमाले परित्याग गरि एमाओवादीमा प्रवेश गर्नुभएको छ । उनीहरुले एमाले गलत दिशामा लागेको र एमाले गलत धारबाट सुधि्रन नसकेकाले बिद्रोह गरि माओवादीमा प्रवेश गरेको जनाएका छन् । नवप्रवेशीहरुलाई स्वागत गर्दै माओवादी प्रवक्ता दीनानाथ शर्माले यो पार्टी प्रवेशले क्रान्तिकारीहरुमा एकताको सन्देश पुगेको बताउनुभयो ।