हाइ ! हाई !! लोकतन्त्र


हाइ ! हाई !! लोकतन्त्र

लोकतन्त्र, कति लोकपि्रय शब्द । अहिले लोकतन्त्रको बजार मालामाल छ । बजारमा, सडक छेउमा, चियापसल वा स्टारहोटलमा गाउँघर वा खेतवारीको डिलमा, अफिसमा वा दोकानमा, लेक वा वेसीमा उकालीमा वा भञ्याङ्को चौतारीमा यत्रतत्र सर्वत्र लोकतन्त्रको मारामार छ ।

बडे विद्वान वा पटमूर्ख, शिक्षक वा विद्यार्थी, बालक वा वृद्ध, राजनेता वा कार्यकर्ता, किसान वा मजदूर, कर्मचारी होस् वा ब्रहम्चारी, कुटनीतिज्ञ होस् वा फूटनीतिज्ञ, सदाचारी होस् वा भ्रष्टचारी, कालाबजारी होस् वा सेतो बजारी, वक्ता होस् वा श्रोता सबैको मुखमा लोकतन्त्रको थैलो नै झुण्डिएको छ । रेडियो होस् वा टी.भी., एफ.एम होस् वा पत्रिका, गोष्ठि होस् वा परीसम्वाद्, बहस होस् वा खुला इजलास चारैतिर लोकतन्त्रै लोकतन्त्रको मारामार छ । देश भित्र होस् वा विदेशमा, साँझ होस् वा बिहान, आकाशमा होस् वा पातालमा सबैतिर लोकतन्त्रै लोकतन्त्र ।

गगन थापादेखि कमल थापासम्म, प्रदिप गिरिदेखि तुलसी गिरिसम्म, बुद्धिमानदेखि सितारामसम्म, गिरिजादेखि पशुपतिसम्म, प्रचण्डदेखि एम.वी.सिंहसम्म, गोविन्दराजदेखि चिरञ्जिवी र खुमबहादुरसम्म हाई ! हाई !! लोकतन्त्र, यत्रतत्र सवर्त लोकतन्त्रै लोकतन्त्र ।

चियाको चुस्कीमा होस् वा भातको गाससँग होस्, ममको स्वादमा होस् वा चाउमिनको चमेनामा होस्, वियरको वोतलमा होस् वा पानीको गिलासमा होस्, सिस्नो र सिन्कीको सितनसित होस् वा स्टार होटलको चौरासी व्यञ्जनसित होस् लोकतन्त्रको सितन विना घाँटीमै अड्केको प्रतित हुन्छ । वाह ! लोकतन्त्र, धन्य लोकतन्त्र । लोकतन्त्रको महिमा अपरम्पार छ ।

ज्ञानेन्द्र र पारसलाई लोकतन्त्र, रुक्मागत र सूर्यबहादुरलाई लोकतन्त्र । सहिदहरूलाई लोकतन्त्र । सहिद बनाउनेलाई झन ठूलो लोकतन्त्र, हाई ! हाई !! लोकतन्त्र ।

सात सालतिर एकपटक प्रजातन्त्रको हावा लागेको थियो रे । प्रजातन्त्रको महिमामण्डित गर्दा गर्दै नेपाली कांगे्रस प्रजातन्त्रवादी नै भएछ । त्रिभुवनदेखि वी.पी.सम्म, चन्द्रसमसेरदेखि सुवर्ण समसेरसम्म, महेन्द्रदेखि तुलसी गिरि र रायमाझीसम्म सातसाले प्रजातन्त्रमा सबै अटाएका थिए । सबैले स्वागत गरेको प्रजातन्त्र हाई ! हाई !! प्रजातन्त्रलाई चिनीया काजीको वली चढाएर प्रजातन्त्रको स्वागत अभिवादन गरे । राजादेखि रैतीसम्म, गरीबदेखि अमिरसम्म, पूँजीवाद देखि समाजवाद र साम्यवादसम्म सबै अटाउने प्रजातन्त्र हाई ! हाई !! । सात साले प्रजातन्त्र। व्ाह ! वाह !! प्रजातन्त्र । त्यो बेलाको प्रजातन्त्रको महिमा मण्डित गर्ने महापण्डितको मुखार विन्दुबाट प्रवचनका पवित्र वाणि सुन्न पाउँदा त्यो बेलाको मेरो बालसुलभ दिल प्रजातन्त्रप्रति हुरुक्कै हुन्थ्यो ।

प्रजातन्त्र, जनतन्त्र, जनवाद, लोकतन्त्र सबैको अर्थ एउटै भए पनि युग सापेक्ष शब्दको महिमा मण्डित हुने गरेको छ । दिल्ली सम्झौता पछि नयाँ दिल्लीबाट आयात गरिएको सातसाले प्रजातन्त्रको महिमा अपरम्पार थियो । राजाले जहाज चढाएर ल्याएको प्रजातन्त्र रैतीको हुने कुरै थिएन । त्यो बेला रैती विनसित्ती रमाए । रैतीको कित्ताका सहिदको थाप्लोमाथि श्रीपेचधारी सहिदगेटमा सजाएर प्रत्येक हिँउदको सात गते प्रजातन्त्रको श्राद्ध गरेर भोजभतेरमा रमाए ।

सातसाले बालक प्रजातन्त्र भर्खर दश वर्ष के पुगेको थियो, पुरेतहरूले पञ्चायती प्रजातन्त्रको नामाकरण गरे र नयाँ जामा पहिराइदिए । सातसाले प्रजातन्त्रको पालनपोषणको जिम्मा दरवारले लियो । तुलसी गिरिदेखि रायमाझीसम्म पालनपोषणमा खटिए । विचरा प्रजातन्त्र ! नारायणहिटीको चारदिवार भित्रको कैदी बन्यो । प्रजातन्त्रवादी बेरोजगार भए । जनवाद र प्रजातन्त्र दुबै शब्दले जुँगाको लँडाई त्यसैबेला लडे । बिरालोको झगडा ढेडुको लुट भन्ने उखान चरितार्थ भै हाल्यो । प्रजातन्त्रले जनवादलाई धारेहात लगायो, जनवादले प्रजातन्त्रलाई सराप्यो । बस, हाई ! हाई !! सत्रसाले पञ्चायती प्रजातन्त्र !! सूर्यबहादुरदेखि लोकेन्द्रसम्म, कीर्तिनिधिदेखि मरिचमानसम्म, महेन्द्रदेखि विरेन्द्रसम्म प्रजातन्त्रका प्रवर्तक र मसिहाबने । जनता जिल्ल परे ।

पञ्चायती प्रजातन्त्र मसिहा बन्यो । जनताको प्रजातन्त्र थला पर्‍यो । वी.पी.ले दरबार मोह त्याग्न सकेनन् र एकपटक फेरि राजसँग घाँटी जोडे । दरबार पसेर पञ्चायती प्रजातन्त्रलाई सुम्सुम्याए । जनतालाई आफ्नो प्रजातन्त्र कैदमा थलापरेको देखेर भित्रभित्रै झोक चलेछ र छत्तिस सालतिर एकपटक नारायणहिटीको बार भत्काएर भित्र छिर्ने प्रयत्न गरे । तर दरबार छिरेको वी.पी.को प्रजातन्त्र । सात सालमा श्री तीनमा दुई श्री थपेर श्री ५को हातमा प्रजातन्त्रको रखबारीको जिम्मा सुम्पेको दिल्ली सम्झौताको अमिलो स्वाद चाखेका जनताले छत्तिस सालको कथित जनमत संग्रहले जनतालाई तीन बल्र्याङ् पल्टाइ दियो । प्रजातन्त्र फेरि नारायणहिटी भित्रै कैदी बन्यो । प्रजातन्त्रवादी जिल्ल परे ।

‘मानिसले भूल एकपटक गर्छ तर प्रजातन्त्रवादीहरूले भूल किन दोहर्‍याउँछन् ?’ एकजना किसानले सोधेका थिए । सातसातदेखि प्रजातन्त्रवादी भन्ने शब्दमा ने.का.को एकाधिकार वा प्रयायवाची भैसकेको थियो । म स्वयं एउटा स्वघोषित नेता भए पनि त्यसको जवाफ दिन नौ नाडी गले । के भनौं के भनौं भयो । आखिर बलबुताले भ्याएसम्मको जवाफ दिए तर ती किसानको चित्त बुझेको थिएन भन्ने कुरा मुखाकृति र मनोविज्ञानले प्रस्टैबताएको थियो । छयालिस सालमा जनताले ठूलै विद्रोह गरे प्रजातन्त्र दरबारबाट निकाल्न । जनता सार्वभौम भएभनेर प्रजातन्त्र र जनवादको व्यख्याताहरूले डंक पिटे पछि सोधिएको प्रश्न थियो त्यो । किसानको सरल र सोझो ब्रहृज्ञाननले अझै जनतको प्रजनतन्त्र दरबार भित्रै कैद छ, छयालिस साले प्रजातन्त्र पनि डमी प्रजातन्त्र हो भन्ने सास्वत सत्य बकिरहेको थियो । तर प्रजातन्त्र र जनवादका मसिहा मलामीहरू झूटो बोलेर जनतालाई झुक्याई रहेका थिए । हाई ! हाई !! डमी प्रजातन्त्र !!!

सत्ता र सत्यको बीच कति ठूलो खाडल । सत्तामा पुगेपछि सत्यको सर्वनासै हुने रहेछ । सत्ता स्वार्थबाट रतन्धो भएको व्यक्ति वा पार्टीले सत्यको छेउटुप्पोको भेउ पाउनै सक्दैन । फेरि एकपटक सत्ताको स्वाद चाखेकाको त दुबै आँखा फूटी सकेको हुन्छ । साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देखेझै एकपटक सामन्ती दरबारभित्र छिरेकाहरू पटकपटक उतै छिर्न बल गर्दा रहेछन् । उसको प्रजातन्त्र सत्ता हो । सत्ता बाहिर हुँदा प्रजातन्त्र सत्तामा पुगे पछि निरंकुशतन्त्र । तन्त्रको मन्त्र जपेर सत्तामा बस्नेले रूपमा रुपान्तरण गरेर ब्रहम्मलुट गर्न निकै सिपालु भएका छन् । अहिले दुनियाँमा सबभन्दा चर्को स्वरमा बुसको प्रजातन्त्र, मानवअधिकार र मानव सभ्यता चरमोत्कर्षमा पुगेको छ । अफगानिस्तानमा गर्भवती आमा, अबोध बालबालिका र निर्दोष जनताको हत्या गर्ने प्रजातन्त्र । इराकमा लाखौं जनताको हत्या गरेर सभ्यता र मानव अधिकारको रक्षा गर्ने बुसको प्रजातन्त्र । छिः कति घिनलाग्दो, डुङ्डुङ्ती गन्हाउने फिरंगी प्रजातन्त्र । नेपाली जनतालाई फिरंगी प्रजातन्त्रको आवश्यकता छैन, अमेरिकी प्रजातन्त्र हामीलाई चाहिँदैन । हामीलाई नेपाली लोकतन्त्र चाहिएको छ । सच्चा लोकतन्त्र चाहिएको छ । मौलिक र विल्कुलै नयाँ लोकतन्त्र चाहिएको छ । सत्तामा पुगेर सताउने लोकतन्त्र होइन सत्तामा पुगेर बदल्ने र बदलिने लोकतन्त्र चाहिएको छ ।

प्रजातन्त्रका पर्यायवाची शब्द खोजेर फूलबुट्टा सिंगारे झैं प्रयोग गर्ने परम्पराले पनि जनतालाई हैरान पारेको छ । सत्तामै भएको बेला स्टालिनको पालामा साथीहरूमाथि आन्तरिक जनवाद प्रयोग भयो । सत्ताकै दुरुपयोगको सन्दर्भमा आलोक र महाआलोक प्रवृत्तिहरू पनि देखिए । आन्तरिक जनवादको हत्या भयो । धन्य जनवाद ! २१औं शताब्दीको जनवादको झण्डै प्राणै खुस्केको !!!

नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास नै सामन्ती दरबारसित सम्झौता गरेर सत्तामा साझेदारी गर्ने परम्पराबाट सुरु भएको छ । वी.पींको समाजवादी प्रजातन्त्रले राजाको घाँटीमा घाँटी जोड्न पुग्यो । सामन्ती राजा एकपटक प्रजातन्त्रको प्रयाय बने । रजौटाहरू प्रजातन्त्रका अनुयायी रक्षक र पालनकर्ता । प्रजातन्त्र खाए पनि हुने, लगाए पनि हुने, सजाए पनि हुने । धन्य प्रजातन्त्र ! धन्य जनतन्त्र !!

माओेको जनवाद र लेनिनको समाजवाद सत्ताबाटै म्यूजियममा सजाइयो । बुसको प्रजातन्त्र अफगानिस्तान र इराकमा मौलाएको नरवली र रगतले सिंचेको प्रजातन्त्रको महिमामण्डन गरेर मानव वधशालाको निर्माण हुँदैछ । धन्य प्रजातन्त्र ! धन्य मानवअधिकार ! वर्तमान विश्वमा मानवअधिकार, प्रजातन्त्र र आधुनिक सभ्यताको एक मात्र असल मसिहा अमेरिका मात्रै हो ।

नेपालमा प्रजातन्त्रको जग खन्न मोरियार्टी र उसका उत्तराधिकारी खटिएका छन् । भारतमा निकै पहिले फिरंगीहरू वेलायती प्रजातन्त्र बोकेरै आएका थिए । एशिया, अपि|mका, ल्याटिन अमेरिकी देशहरूमा फिरंगीहरू सयौं वर्षदेखि प्रजातन्त्र र सभ्यताको बीऊ छर्दै कहाँ पुगेनन् । हाल नेपालको द्वन्द्व व्यवस्थापनका लागि पनि उतैबाट खटिएका छन् रे प्रजातन्त्रको उन्नत बीऊ पनि अन्तैबाट आयात हुँदै छ रे । अमेरिकी शक्ति र सभ्यातामा हुरुक्कै हुने दास मनोदशाले मुलुकलाई कता लैजाने हो कुन्नी । इराकी जनताको लाशबाट निस्केको कुहिगन्धे बुश प्रजातन्त्र पैठारी गर्न तम्सेका अनुचरहरू र्‍याल काढेर बसेकै छन् ।

हावा, पानी, माटो सुहाउँदो लोकतन्त्रको बीऊ छर्न हामी नेपाली आफै सक्षम छौं । नेपालीहरू आफ्नै प्रकारको लोकतन्त्रको बीऊ विकास गर्न हामी पारंगत बनिसकेका छौं भन्दै र प्रयत्न गर्दै आएका छन् । नेपाली लोकतन्त्रमा फिरंगी ठिमाहको प्रदुषित बीऊ मिसिने पो हो कि भन्ने डरमर्दो भएको छ । अहिले नेपालमा फिरंगीहरू सिनोमा गिद्ध रमाए झैं रमाएको देखेर सच्चा लोकतन्त्रवादीहरू टोलाएर ओठ टोक्न थालेका छन्, गम्न थालेका छन् ।

अहिले नेपालमा लोकतन्त्र शब्द सबैको कर्णपि्रय बन्दै गएको छ । हिँजो लोकतन्त्रको उच्चारणसम्म गर्नेहरूलाई तथानाम गालिगलौज गरिन्थ्यो । विधिको विधान भनौं वा प्रकृतिको नियम अनौठौ छ दुश्मन मित्रमा रुपान्तरण हुने र मित्र दुश्मन बन्ने । आलोकहरू लोकतन्त्रका दुश्मन सिद्ध भए । उनीहरूको आन्तरिक जनवादले लोकतन्त्रवादीको एकपटक दोहोलो काढ्यो । आलोक्रहरूको अनुपस्थितिमा पनि अझै त्यो प्रवृत्तिले नयाँ रूपमा लोकतन्त्रवादीको हुर्मत लिन हुरुक्कै हुँदैछ । आलोकले आलोकको आदेशबाट बाँच्न सफल भएकाहरूले रवीन्द्रको उदयमा पनि दशहण्डर खाँदै कतिपयले जीवन गुमाए । कतिपयले बाँच्ने अवसर पाए ।

बिचरा लोकतन्त्र ! विचरा जनवाद ! प्रजातन्त्र वा जनतन्त्र । यी शब्दहरूले दुःख पाए । असली सारतत्वलाई आर्यघाटको चितामा जताएर राजा महाराजा वा साम्राज्यवादीहरूले दुनियाँका अगाडि प्रजातन्त्रको डंक पिटेर प्रहसन र पाखण्डको प्रदर्शन गरे र गर्दै आएका छन् ।

देश लोकतन्त्रमय भएको छ, गणतन्त्रमय भएको छ । संविधानसभा मार्फट लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने भनेर तिनै हिँजोका तुलसी गिरि, रायमाझी र मोरियार्टीहरू जनताको अग्रभागमा उभेर लोकतान्त्रिक गणतन्त्रको चर्को बखान गरेका छन् । गणतन्त्रको पक्षमा रगतको वली चढाई सकेका सहित परिवारको सामुन्ने उभेर लाजै नमानी आफुलाई सच्चा गणतन्त्रवादी भएको पाखण्डको भद्दा प्रहसन गर्न तम्सेका छन् । छिः छेपारोले रंग फेरेझै आफूलाई बदल्न कति जानेको । सिपालु भएर नै होला तीनै कालमा जनताको बोलीमा लोली मिलाएर झोली भर्न सफल भएको ।

जनता अब पुरानो धरातलमा होइन नयाँ यथार्थको खोजीमा छन् । नयाँ यथार्थबाट धेरै टाढा पुर्‍याएर माखेदाउ छोप्नेहरूको इतिहास बिर्सने भुल भयो भने फेरि पनि समयले सराप्ने छ । सात साले हाई ! हाई !! प्रजातन्त्र । फेरि पनि हाई ! हाई !! लोकतान्त्रिक गणतन्त्र नहोस् ।

युग बदलियो प्रवृत्ति बदलिएन, संसार बदलियो नेपाल बदलिएन, जनता बदलियो नेता बदलिएन, कुर्चि बदलियो व्यक्ति बदलिएन, बोतल बदलियो रक्सी बदलिउन, कानून बदलियो प्रयोगकर्ता बदलिएन, सत्ता बदलियो कर्मचारीतन्त्र बदलिएन, आवरण र आझूषण बदलियो दिल बदलिएन, रूप फेरियो सारतत्व फेरिएन । यही इतिहासको बिडम्बना बोकेको नेपाली समाजमा सात सालमा प्रजातन्त्र जहाज चढेर आयो । प्रजातन्त्रको प्रसस्ती गाइयो । तर प्रजातन्त्रको आवरण आएछ, रूप दिल्ली तिरै छुटेछ । लामो कारावास पछि भारत छिरेका वी.पी.ले विचरा नेहरूसँग सायद मागेर प्रजातन्त्र ल्याउने प्रयत्न गरे, नेपाली जलसम्पदा सित साटेरै भए पनि ल्याउने प्रयत्न गर्दा गर्दै प्राण त्याग गरे । दिल्ली दरबार भित्र कैद भएको प्रजातन्त्रको डमी मात्रै दरबार छिरेको रहेछ । हाई हाई प्रजातन्त्र । बादशाह नागै रहेछ । यो इतिहास हो । इतिहासको तितो सत्य यही हो ।

अहिले लोकतन्त्रको महिमामण्डन गर्नेहरू लोकतान्त्रिक गणतन्त्रको बखान गरेर नेताहरूले जनताको असली लोकतन्त्र, जनतन्त्र, जनवाद वा प्रजातन्त्र फेरि पनि दरबारभित्रै कैद गर्दैनन् भनेर कसरी विश्वास गर्ने ? बैशाख एघार गते राती नारायणहिटी भित्र भएको गोप्य मन्त्रणा भित्र इतिहासको पुनरावृत्ति हुँदैन भनेर विश्वास गर्ने आधार के हो ? श्रपिेज लगाउने राजा गए पनि फेरि श्रपिेज नलगाएको राजाले समस्या पर्नेत होइन ? यो अनजान नेपालीको भित्री आवाज हो ।

१७ मंसीर २०६३