प्रकाशको डेरा
बेल्जियम आएपछि हाम्रो हेडक्वाटर एन्थ्य्रुपेनको प्रकाशको डेरा बनेको छ । किन हामी त्यहाँ बस्ने गरेका छौं ? किन त्यो डेरा हाम्रोलागि प्यारो छ ? दिनभरी जहाँ गए पनि राती किन हामी जताबाट पनि त्यहाँ नै आइपुगिन्छ ? प्रश्न थुप्रै हुनसक्छन् तर त्यसको जवाफ एउटै छ त्यहाँ बस्न सहज र सजिलो छ । बजारको वीचमा छ । रेलवे स्टेशन र सडक नजिक छ । नेपाली आवश्यकता र मानसिकता अनुकुल छ ।
मानिसले सजिलो खोज्छ । पाएसम्म राम्रो, सजिलो र सहज ढंगले बिताउन मन पराउँछ । सहजताभित्रको सरतत्व भावना, मनोविज्ञान र आत्मियता पनि हो । मानव चेतनाको स्तर र हैसियतको आधारमा सहजता र असहजता अभिव्यक्ति हुन्छ । मानिस आदतको दास हो । आदत बदल्न मानिसलाई निकै कठिन पर्छ । आदत लामो अभ्यास अनुभव र व्यवहारको बलियो छाप हो । त्यसैलाई संस्कार पनि भनिन्छ क्यारे । संस्कार र संस्कृतिको विकास पनि सभ्यताको सापेक्षतामा उन्नत र विकसित हुँदै जान्छ । के यो सत्य र सही होइन ? समाजको प्रतिबिम्ब मानवचेतनामा उतार्न लामो समय लाग्छ । व्यवहारमा अभ्यास हुन त झन बढी समय लाग्न सक्छ । त्यो पनि मानिसको ग्रहण गर्ने क्षमता र चेतनामा भर पर्छ ।
प्रकाश पश्चिम नेपालको पर्वत जिल्लास्थित कार्कीनेटा निवासी रहेछन् भन्ने पछि मात्रै थाहा भयो । पश्चिमेली स्वभाव सहज र सरल हुने कुरा स्वीकार्नु पर्छ भन्ने लाग्छ । सडक छेउको सबभन्दा माथिल्लो तलामा प्रकाशको डेरा छ । आफ्नो डेरामा प्रकाश स्वतन्त्र छ । घरवेटी अलि टाढै भएकोले उसको दवाव र अंकुश कमै रहेछ ।
यूरोपको जिम्मा पाएर काम गर्न यूरोप छिरेको मेरो साथीको डेरा लामो समयदेखि प्रकाश सितै परेछ । नेपालबाट पार्टीको कामा खटेर आएको नेतालाई कोठामा राख्न पाउँदा प्रकाश पनि दंग परेका छन् । फराकिलो ठाउँ आवश्यक सुविधा, एक्लो प्रकाश कसैको घच घुरो नभए पछि रविनलाई किन अन्यत्र जानु पर्यो । कोठामा आवश्यक फर्निचर इन्टरनेट इमेल सहित कम्युटरको व्यवस्था छ । तातो चिसो पानीको पौछल्तै सुबिधा छ । बाथरुम, किचन सहित हिटिङ्को राम्रै सुविधा बेल्जियमको सामान्य डेराका बिशेषतानैभए । पि|mज, आइरन, वासिङ् मेसिन पनि नहुने प्रश्नै भएन । कोठालाई राम्ररी सजाउने हो भने राम्रै छ । नेपाली आवश्यकता र उपभोगको आधारमा कोठामा नपुगे जस्तो केही लागेन ।
पार्टीको बैठक बस्न पनि पुग्ने, साँझको सानो सानो रमाइलो पार्टी गरौं भने पनि फरक नपर्ने, भाइचाराहरूसँग भेटघाट गर्न पनि सुहाउने, दुईचार जना पाहुनै परे पनि फरक नपर्ने, जहान परिवारको कचकच सुन्न पनि नपर्ने व्यस्त चोकको एकान्त कोठा, नेपालीका लागि उपयुक्त छ । प्रकाश बिहान चारै बजे आफ्नो काममा जान्छन् । बिहानको निद्रा खल्वलाई दिने किचाभुँडीको नामै छैन । सुते पनि हुने, उठे पनि हुने, घरमै मनग्य खाना पकाएर खाए पनि हुने, बाहिरबाट ल्याए पनि हुने, नल्याए पनि हुने, नजिकै बजारको सुविधा प्रकाशको डेरा । मजदूरदेखि मध्यमवर्गलाई सुहाउने प्रकाशको डेराले हामीलाई पनि १५ दिनदेखि आश्रय दिएर गुन लगाउँदै र आकर्षण गर्दैछ । नेपाली मानसिकताका लागि त्यो कोठा उपयुक्त भन्दा फरक पर्दैन ।
मानिसले सुविधा र सहुलियतको खोजि गर्छ तर आवश्यकता भन्दा बढी उसका लागि भारी हुन्छ । वर्ग चेतना, सामाजिक तथा पारिवारिक अभ्यस्तता भन्दा मानिस माथिउठेर धेरै पर पुग्न सक्दैन । एकपटक मैले मेरो धेरै नजिकको कामी साईंंलालाई पार्टीको कार्यकर्ता बनाएर काठमाडौं लगे । उनको बाउबाजे कोही पनि नपुगेको ठाउँ काठमाडौं उनकालागि नौलो र आश्चर्यजनक हुनु स्वाभाविकै थियो । उनलाई दलित जातिबाट राम्रो वैचारिक राजनैतिक व्यवहारिक तालिम गराएर ठूलो मान्छे बनाउने मनसाय थियो । दलित समुदायबाट अब्बल दर्जाको नेता निकाल्न पाए त्यसले हाम्रो समाजको दलितवस्तीलाई राम्रै प्रभावित गर्नेछ भन्ने पनि लागेको थियो । त्यसैले गाउँबाट टपक्क उठाएर काठमाडौं पुर्याए ।
म ब्रा≈मण उनी दलित कामी । हाम्रो बीचमा जातिय भेदभाव नहोस् भनेर भान्छामा दुबैजना मिलिजुली खाना बनाउने खाने सँगै बस्ने सँगै हिँड्ने बानीका लागि प्रयास भयो । लेख्न पढ्न प्रेरित पनि गरें । गाउँमा उनले सानैदेखि डकर्मीको काम सिकेका थिए । उनले राजनीतिक काम भन्दा पनि फर्निचरमा कामको माग गरे । एउटा साथीको कारखानामा काममा लगाई पनि दिए ।
मैले काठमाडौंमा राँगाको मासु खाने गर्थे । कामी साईंलाले राँगा नखाने, हाम्रो बेमेल भान्छाबाट सुरु भयो । उनलाई भित्रभित्रै बाहुनको छोरोलाई म दलितले पकाएर खुवाउँदा मलाई पाप लागेको छ भन्ने उसलाई पीडाबोध भएको रहेछ । तर जे भए पनि उनले जसै एक डेढ महिना बिताए अनि घर जान्छु भन्न थाले । त्यो बेलासम्म उसको बिहे भएको थिएन । १७, १८ वर्षको मात्रै थिए होला ।
एकदिन मैले उनको विगत दिनलाई ब्यूझाँइदिएँ । आरनमा विस्टका आँसी, बञ्चरो, कोदालो बनाउने घन पिट्ने, गोल काट्ने कामको बारे सोधे । कुन विस्ट असल, कुन विस्टिनीले मीठो खान दिन्थिन आदि गन्थन रातभरी भए । त्यो कुराले उसको घर आँगन र विस्टको बाहिर पिंढीमा बसरेर खाएको झलझली सम्झेछन । काठमाडौंमा मसँग बस्दा कुनै कुराको कमी थिएन । त्यसमा पनि उनको मन नकुँढियोस्, सीप पनि सिकियोस्, दुईचार पैसा जम्मा गरेर थपथपाई गरी घर पठायो भने घरका मान्छे पनि दंग परुन भनेर जागिर लगाई दिएको थिए । उसले घर जान्छु भनेर अत्याउन थाले । दशपन्ध्र दिनमा नै आउँछु भन्न थाले । केही दिन रोकेर उनको मनोविज्ञान अध्ययन गरें । उसलाई काठमाडौं बसाई पटक्कै मन परेको थिएन । घर फर्किन किन त्यति विधि आत्तिए होलान् ? मानव स्वभाव अनौठौ छ । उनको सामाजिक समबन्ध मिलेन, खानपान बसाई उठाई मिलेन । उनको चेतनाले समाजलाई बुझ्न सकेन, विश्वलाई बुझ्न सकेन । आफूलाई बदल्ने भन्दा पनि उनलाई पछि र्फकन हजार गुना बढी सजिलो भयो । आखिर घर नगै छोडेनन् । दशपन्ध्र दिनमा र्फकने कवुल गर्दै गएको साईंला कहिले फर्केनन् ।
लामो समय पछि यसपटकको दशैंमा घर गए । उनका बा आमा दुबै खसेछन् । दाजु छुट्टएिछन् । दशैंको बेला श्रीमती बेरामी भएर सुतेकी, चारपाँच वटा केटाकेटी भन्ट्याङ् भुन्टुङ् रहेछन् । खरको सानो झुप्रो, पाल्ीमा भैंसी बाँधेको छ, चारैतिर फोहोर अभाव र अस्तव्यस्त । विचरा साईंलाले केही याचना गरे जस्तो छ । आफ्नै विस्ट आएको केही जडाउरी पाइन्छ कि वा अरु केही मिल्ला कि भन्ने आशका अभिव्यक्ति आँखा र अनुहार बाट झल्किन्थ्यो । विचरालाई संझिदा अहिले पनि टिठ लाग्छ ।
प्रकाशको डेरा नेपाली मानसिकता, नेपाली चेतना र आवश्यकता अनुकुल थियो । वर्ग चेतना सापेक्ष थियो, मध्यम वर्गका आवश्यकता पुरा गर्ने खालको थियो, त्यसैले हाम्रो बास पनि त्यतै परेको थियो । बेल्जियम जानेदिन त्यहाँ छिरें र अहिले फर्किने दिन त्यहाँबाटै बिदा भए । यो मेरो संयोग हो वा के मैले भन्न सक्दिन ।
यसपटक भनौं वा पहिलो पटक यूरोपका छ सात देश घुम्ने चाँजोपाँजो मिलाएर कृतज्ञ बनाउने रविन र साथीहरू प्रति आभार व्यक्त गर्नुपर्छ । मेरो चेतनाको भाँडो जत्रो थियो मैले त्यति नै अनुभवसगलेर ल्याए । रूपलाई आँखाले देखियो । सारतत्वका लागि भित्री आँखाको आवश्यकता हुँदोरहेछ । कामी साईंलाको आँखाले काठमाडौंको रमझम देख्यो होला तर उसले त्यसलाई आत्मसात गर्न सकेन ।
यूरोपको विभिन्न देशमा नेपाली पुगेका छन् । श्रम बेचेर संचित लाखौं यूरो नेपाल भित्रीउको छ र अहिले देशको अर्थिक मेरुदण्डको महत्त्वपूर्ण आधार रेमिटेन्स भएको छ । यूरोपको होटल, दुकान वा र्फमहाउसहरूमा नेपाली युवकले बगाएको रगत परिनाले राज्य चलेको छ । घण्टाको ८।९ यूरोका लागि रातदिन मेहनत गर्ने नेपाली देशको राजनीतिक भविष्य के हुने भन्नेबारे चिन्तित छन् । माओवादी पीडितका नाममा शरणार्थीको लागि दरखास्त हालेका तर घोषणा हुन बाँकीलाई कतै देशमा शान्ति कायम भएर देश र्फकन नपाउने हो कि भन्ने चिन्ता छ । उता अर्को थरीलाई वार्ता बिथोलिएर घर र्फकन नपाइने हो कि भन्ने चिन्ता छ ।
मैले एकदिन प्रशिक्षणको क्रममा भनेको थिए -‘साथी हो ! आजभन्दा तीन चार सय वर्ष पहिले यूरोपका मानिस एशिया, अपि|mका, ल्याटिन अमेरिकी देशमा व्यापरका नाममा त्यता छिरेर शासक बने मालिक बने तर आज हामी उनको देशमा सस्तो दाममा श्रम बेच्न आएका छौं । प्रथम र दोश्रो विश्वयुद्धमा फिरंगीको लागि वर्मा, मलाया, जापान र संसारभिर युद्ध लडेका नेपालीका सन्तानहरू आज रोजगारीका लागि विश्वको कुनाकुनामा भौतारिन परेको छ । के हामी नेपाली सस्तो श्रमको व्यापारी मात्र हुने वा शक्ति, सामथ्र्य र चेतनाले विश्वसर्वहारा वर्गको मालिक बन्ने ? सोच्नुपर्ने बेला आएको छ ।’
मानिस ठूलो वा सानो, सम्पन्न वा विपन्न, सभ्य वा असभ्य उसको चिन्तन प्रणाली र चेतनाले निर्धारण गर्दछ । त्यसलाई उत्पादन सम्बन्धले सबभन्दा बढी असर गर्दछ । आँसी, वञ्चरो, फलाँसी, करुवा, ताप्के बनाएर जीवन यापन गर्ने कामी साईंलाको उत्पादन सम्बन्धले उसलाई त्यतै तान्यो, त्यतै आकषिर्त गर्यो ।
सुगौली सन्धि र सन् १९५० को सन्धि पछि विदेशी पल्टनमा गएर युद्धको रगतले लतपतिएको जर्सीको जडाउरी लगाउन अभ्यस्त नेपालीको विदेश पलायन राष्ट्रिय चिन्ताको विषय बन्नगएपनि सामन्ती साशकहरूको पछिडिएको चेतना र चिन्तन प्रणलीको स्वभाविक परिणति हो ।
मानिसका लागि सभ्य शहर पनि असहज लाग्न सक्छ । जंगलमा बसिरहेको राउटे वा चेपाङ्लाई तारे होटलमा हुलिदिए कतिबेर बस्न सक्लान् ? सुविधा सम्पन्न व्यवस्थापन पनि मानिसलाई निकै कठीन र असजिलो हुन्छ । किन राउटे वा चेपाङ्को कुरा गाउँबाट भर्खरै शहर पसेको माथ्लो जातकै मानिसलाई सम्भ्रान्त परिवारभित्र छिराइदिनुस् त उसलाई कति गाह्रो पर्छ ।
प्रकाशको परिवारसित मेरो पहिले देखि नै जानपहिचान रहेको छ । प्रकाशको दाजु बाबुराम पहिले देखि नै कम्युनिस्ट थिए । कार्कीनेटा बजारदेखि अलि माथि डाँडामा खरले छाएको घुमाउने घरमा बस्दै आएका -बाटुले घर पनि भनिन्छ) निम्न वर्गका मानिस हुन बाबुराम । उनैका सहोदर भाई प्रकाश पैसा कमाउन बेल्जीयम पुगेका रहेछन् । सहज स्वभाव, सहयोगी व्यवहार, मिहिनेती आदत, राती जति बेला आए पनि तातो गास खान दिने, जति साथी आए पनि नझिजिने, अराए खटाएको काम गरिहाल्ने, वियर खाउ भने पनि हुने पिय पनि हुने, रम र जीन ठोके पनि हुने प्रकाशको डेरामा सबैकुरा छुट र लोकतन्त्र छ । त्यसैले पनि सबैको आकर्षणको केन्द्र छ प्रकाशको डेरा । करिव डेण हप्ता पछि म प्रकाश सित बिदा भएर फर्के तर उनको डेराले मलाई मोहनी लगाइरहेको छ । मैले त्यो बसाई कहिले भुल्ने छैन ।
Comment Here